घुस्याहा इन्जिनियर तराजु चिह्नका उम्मेदवार

समाधान संवाददाता २०७७ साउन ३ गते २०:१३

घुस्याहा इन्जिनियरका ३ रोचक संयोग
—भ्रष्टाचार विरोधी अभियन्ता हुनु र आफैं भ्रष्टाचार गर्नु ।
—जागिर सकिएकै दिन घुस काण्डमा तानिनु ।
—इन्जिनियर दिवसकै पूर्व सन्ध्यामा इन्जिनियरको घुस काण्ड पर्दाफास हुनु ।

ईश्वर देवकोटा, पोखरा

बागलुङ ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी ३१ असारमा पोखराको जिरोकिमीबाट घुस लिँदालिँदै पक्राउ परे । सडक निर्माणको काममा भुक्तानी दिलाइदिए बापत इन्जिनियर अधिकारीलाई १ लाख रुपैयाँ घुस लिँदालिँदै रेस्टुरेन्टबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

Advertisement

ढोरपाटन नगरपालिकाको वडा ३ गुर्जादेखि तमानखोला गाउँपालिका जोड्ने ६ किमी सडकको ट्र्याक खोल्ने काममा उनले मोलमोलाइ गरिरहेका थिए ।

‘गुजा, सिलबुङ, ओखरधारा, खोल सिभान सडक निर्माण’को आयोजनामा ५० लाख रुपैयाँ बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत परेको थियो । आयोजना कार्यान्वयनको जिम्मेवारी नगरपालिकाको पनि थियो । आयोजनाको निर्धारित काम सकिएर बजेटमध्ये ४७ लाख रुपैयाँ सम्बन्धित उपभोक्ता समितिलाई भुक्तानी भइसकेको छ ।

Advertisement

आयोजनाको निरीक्षण जिम्मा अन्य सब–इन्जिनियरसहित इन्जिनियर मिलन अधिकारीले पाएका थिए । आर्थिक वर्षको अन्तिम दिन उनले ‘भुक्तानी दिलाइदिए बापत’ कमिसन लिन गृहनगर पोखरालाई रोजे । तर उनको घुस्याहा प्रवृत्ति छताछुल्ल भयो । इन्जिनियर अधिकारीले उपभोक्ता समितिका प्रतिनिधिबाट १ लाख रुपैयाँ लिइरहेकै अवस्थामा पोखराबाट खटिएको अख्तियारको टोलीले पक्राउ गर्न सफल भयो ।

अचम्म त के भने, पक्राउ पर्ने इन्जिनियर आफैं भ्रष्टाचारको विरोधमा उत्रिएका हुन् एकबेला । ‘लुटतन्त्रविरुद्धको आवाज’ नारा लिएर अधिकारी आफैं प्रतिनिधि सभा २०७४ को निर्वाचनमा होमिए । कास्की क्षेत्र नम्बर ३ मा तराजु चिह्नबाट तत्कालीन विवेकशील साझा पार्टीको उम्मेदवार बने । तर चुनावचाहिँ हारे ।

तत्कालीन एमाले उम्मेदवार जगतबहादुर विश्वकर्मा ३२ हजार ६ सय ९० मतसहित विजयी हुँदा मिलन तेस्रो भएका थिए । कांग्रेस उम्मेदवार शुक्रराज शर्माले २४ हजार ३ सय ४ मत ल्याए । त्यसपछिको मतभार पाउनेमा उनै इन्जिनियर अधिकारी थिए । उनले ८ सय २७ मत पाई तेस्रो स्थान बनाएका थिए ।

उनी आबद्ध विवेकशील साझा पार्टी टुक्रिएर साझा र विवेकशील छुट्टाछुट्टै भइसकेको छ । ०७५ पुस २७ मा उक्त पार्टी फुटेको थियो । त्यसको १६ महिनाअघि एकीकरण भएको रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जवल थापा नेतृत्वको विवेकशील नेपाली दल छुट्टिएका थिए ।

इन्जिनियर अधिकारी साझा पार्टीको साधारण सदस्य समेत नरहेको भन्दै कास्कीका संयोजक अर्जुन खनालले वक्तव्य जारी गरेका छन् । ‘मिलन अधिकारी साझा पार्टीको कुनैपनि पद वा समिति मात्र नभएर पार्टीको साधरण सदस्य समेत नरहेको,’ संयोजक खनालद्वारा जारी वक्तव्यमा भनिएको छ ।

टुक्रिएर बनेकोमध्ये अर्को विवेकशील नेपाली दलले पनि उनी पार्टीमा आबद्ध नरहेको केन्द्रीय कोषाध्यक्ष सुमित्रा गुरुङले जानकारी दिइन् । ‘पार्टी फुटेपछि उहाँसहितका केही साथीहरु पर्ख र हेरको अवस्थामा हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘सदस्यता लिइसक्नु भएको थिएन् ।’

विवेकशीलका अर्का १ नेताका अनुसार इन्जिनियर मिलनसहितका केही कार्यकर्ताहरु जुन पार्टीले राजनैतिक रुपमा अग्रता लिन्छ त्यसैमा गोलबद्ध हुने दाउमा थिए ।

भ्रष्टाचार विरोधी अभियन्ता आफैं घुससहित पक्राउ परेपछि सामाजिक सञ्जाल उनको आलोचना भएको छ । इन्जिनियर दिवसको पूर्वसन्ध्यामा उनी पक्राउ परेको घटनाले पेसा बद्नाम भएको भन्दै उनीविरुद्ध टिकाटिप्पणी भइरहेका छन् । साउन ३ गते नेपालमा इन्जिनियर दिवस मनाइएको छ ।

जागिर सकिएकै दिन घुससहित पक्राउ

इन्जिनियर मिलन अधिकारी ढोरपाटन नगरपालिकामा २ महिनाअघि मात्र करारमा नियुक्त भएका थिए । ४ जेठबाट उनले काम थालेको नगरपालिकाका १ कर्मचारीले बताए ।

नगरपालिकाले विज्ञापन निकाल्दा २ जनाले मात्र आवेदन दिए । १ प्रतिस्पर्धीलाई उछिनेर अधिकारीले नगरपालिकामा जागिर पाए । त्यसअघि उनले पोखरामा ‘टेक्नो भिजन इन्जिनियरिङ प्रालि’ सञ्चालन गरिरहेका थिए ।

प्राविधिक जनशक्तिको अभावमा आयोजना निर्माणमा समस्या देखिँदा ३÷३ महिनाका लागि करारमा लिने निर्णयसहित कर्मचारी लिइएको थियो । उनको करार अवधि असार ३१ गते राति १२ बजे सकिँदै थियो । त्यसको केही घन्टा बाँकी रहँदै उनी घुस काण्डमा समातिए ।

‘असार मसान्तसम्मको करार अवधि थियो,’ नगरपालिकाका १ कर्मचारीले भने, ‘३÷३ महिनामा म्याद थपिन्छ करारमा भर्ना भएकाहरुको । साउन १ गतेबाट आगामी ३ महिनाका लागि थपिन्थ्यो ।’

ती कर्मचारीका अनुसार इन्जिनियर अधिकारीको स्वभाव नगरपालिकाका अन्य कर्मचारीले पनि रुचाउँथे ।

कम बोल्ने, कसैलाई नपिराउने स्वभावका कारण घुससहित पक्राउ परेको खबर सुन्दा सुरुमा पत्याउन नसकिएको उनी बताउँछन् । ‘नबोल्नेको मान्छेको भरै नहुँदो रैछ भन्थे,’ उनले भने ।

तपाईको प्रतिक्रिया