कारागारबाट घरमा पैसा पठाउछन् कैदी

समाधान संवाददाता २०७५ फागुन २ गते ८:४४

कृष्ण न्यौपाने, दमौली

१० वर्षदेखि तनहुँ कारागारमा सजाय काटिरहेका ६७ वर्षीय नरबहादुर चन्दले कारागारभित्रै मुढा बुन्न थालेको साढे २ वर्ष भयो । बिहान उठेदेखि दिनभर नै उनी मुढा बुन्छन् । कारागारमा मूढा बुन्ने कामले मन बहलाउनुका साथै आम्दानीको पनि भएको उनी बताउँछन् ।

उनले भने, ‘कारागारमा यत्तिकै बसिरह्यो भने पागल जस्तो भइन्छ । मुढा बुन्ने कामले चाहिँ दिन काट्ने वातावरण बनेको छ ।’ विगतमा गल्ती गर्दा अहिले कारागारमा त्यसकै सजाय काटिरहेको उल्लेख गर्दै उनले सीप सिकेर समय सदुपयोग गर्न लागेको बताए । यत्तिकै बस्न मन लागेन अनि मूढा बुन्न शुरु गरेँ ।’

Advertisement

एउटा मुढा तयार गर्नका लागि २-३ लाग्छ । एउटा मुढा तयार भएपछि ठीक्क खालको मुढा ४ सयमा बिक्री हुन्छ । उनले श्रम अनुसार मूल्य भने नपाएको गुनासो गरे । यसबाट मासिक ५ देखि ६ हजारसम्म आम्दानी हुने गरेको उनले बताए । उनले भने, ‘मुढा बुनेर भएको आम्दानी घरमा पठाउने गरेको छु ।’

कारागारमा रहनेका अर्का कैदी महेन्द्र गुरुङले सीपले मन बहलाउनुका साथै आम्दानी पनि भएको बताए । उनले पनि मूढा बुनेर भएको आम्दानी घर नै पठाउने गरेका छन् । कारागारमा रहेका कैदीबन्दीले दसंै तिहारमा बढी मात्रामा मुढा बुन्ने गरेका छन् । दसैं तिहारमा मुढाको बढी माग हुने भएकोले चाडपर्वको बेला कैदीबन्दीलाई मुढा बुन्न भ्याईनभ्याई हुने गरेको कारागारका चौकीदार नरबहादुर थापाले जानकारी दिए ।

Advertisement

मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक फरक व्यक्तिले गर्ने गरेका छन् । टायर राखेको १०, मुढा उठाएको १५, बिट मारेको र बुट्टा भरेको ३० रुपैयाँका दरले कैदीबन्दीले पैसा पाउने गर्दछन् । कारागारमा रहेका कैदीबन्दीमध्ये ७० जनाले मुढा बुन्ने सीप सिकेका छन् । उनले भने, ‘कारागारमा आउने नयाँ कैदीबन्दीले समेत मुढा बुन्न चाहेको खण्डमा समावेश गर्ने गरेका छौं ।’

कैदीबन्दीले फर्निचर, पेन्टिङ लगायतका सीपसमेत सिक्न चाहे पनि ठाउँ अभावका कारण ती सीप प्रदान गर्न नसकिएको बताए । कारागारका निमित्त प्रमुख नारायण अधिकारीले कैदीबन्दीकै माग बमोजिम कारागारमा ३ महिने सिलाई कटाइ तालिम सुरु गरिएको जानकारी दिए । उनले भने, ‘कैदीबन्दीलाई सीप सिकाएर आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिने गरेका छौं ।’

तपाईको प्रतिक्रिया