बुढेसकालको सहारा वृद्धाश्रम

समाधान संवाददाता २०७५ फागुन २ गते ९:०५

राकेश शर्मा, म्याग्दी

५५ जना वृद्धावृद्धले म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरधामस्थित ज्येष्ठ नागरिक आश्रम रोजेका छन् । उनीहरुको सहारा एकमात्र आश्रम बनेको छ । २०६७ सालदेखि सञ्चलानमा आएको आश्रमले वृद्धवृद्धालाई निशुल्क सेवा दिएको छ ।

उमेरले ५० वर्ष कटेपछि आफ्नो छोराछोरीको सहारामा बाँचिरहेका हुन्छन् बाबुआमा । तर, बुढेसकालमा साहरा पाउने आसमा रहेपनि सन्तानका लागि बोझ बन्ने गरेको छ । छोराछोरीले वास्ता नगरेपछि आश्रमको भरमा जीवन जिउन बाध्य छन् वृद्धवृद्धा ।

Advertisement

घरको आँगनीमा होस् या छतमा आफ्ना छोराछोरीको नातिनातिना खेलाउने रहर सवै वृद्धावृद्धाको हुन्छ तर, नातिनातिना खेलाउने रहर त टाढाको कुरा अव वृद्धाआश्रमलाई आफ्नो सहाराका रुपमा पाएका उनीहरुलाई एउटै कुराले खुशी दिने गरेको छ । विहानबेलुकी आनन्दले खाना र बस्न पाउनु उनीहरुको ठूलो खुशी हो । आश्रमले उनीहरुलाई छोरा छोरी सरहको सहारा दिएको आश्रममा बस्नेहरु बताउँछन् । आश्रमले विभिन्न ठाउँबाट आश्रय लिन आएका आमाबाबालाई स्याहार गर्दै आएको छ । वृद्धवृद्धालाई सवै किसिमको सुविधा दिएको स्थापनादेखि नै आश्रममा बस्दै आएकी यशोदा सरस्वती बताउँछिन् । ‘हामीलाई अहिले आश्रमले सवै किसिमका सेवा सुविधा दिएको छ’ उनले भनिन् । ‘बस्ने, खाने सुत्ने भन्दापनि बेला बेलामा स्वास्थ्य परीक्षण गराएकाले हाम्रो भगवान जस्तै छ आश्रम’ उनले भनिन् ।

आश्रमले वैज्ञानिक ढंगले दिएको सुविधामा वृद्धवृद्धा दंग हुन्छन् । जन्मेदेखि देख्दै नदेखेको र नभोगेको संस्कार र सिस्टममा खुसी भएका ओम कुमारीले भनिन्, ‘ विहान ९ बजे खानाको घण्टी बज्छ, आवाजसँगै थाल र कचौरा बोकेर किचनमा पुग्छौं ।’ उनले भनिन्, ‘यदि १ घण्टासम्म खाना लिन नगए पाइँदैन ।’

Advertisement

उनले गहभरी आँशु पार्दै भनिन्, ‘छोरा छोरीको सहारामा बस्ने उमेरमा यसरी भोक लागेपनि नलागेपनि घण्टीको आवाजमा कुद्नु पर्ने कस्तो नियति ।’ आखाँबाट आँशु झार्दै उनले थपिन, ‘बुढेसकालमा यस्तो अवस्था आउँछ भन्ने थाहा भए कसैले पनी सन्तानको रहर गर्दैनन् ।’ वर्तमान संस्कारको खिल्ली उडाउँदै उनले आश्रमले पूर्ण सहारा दिए पनि छोराछोरीको यादले सताउने सुनाइन् । उनले भनिन्, ‘बुढेसकालमा मुक्तिनाथको काखमा छांै, आश्रमले सवै कुरा दिएको छ, जे होस् यस्तै रहेछ जिन्दगी ।’

आश्रममा मासिक ४ लाख बराबरको खर्च हुने गरेको छ । आश्रममा रहेकालाई स्वास्थ्य उपचारदेखि खाना, कपडा सवै निशुल्क दिने गरेको छ । सरकारी तवरबाट सामान्य सहयोग भए पनि सहयोगदाताको सहयोगबाट नै आश्रम चलेको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव राम वानियाले बताए ।

आश्रममा भौतिक संरचनाको समस्या भएको आश्रममा कार्यवाहक अध्यक्ष वमबहादुर पुनले बताए । पुनले भने, ‘अहिलेसम्म आश्रम सहयोगी दाताबाट नै चलेको छ, सरकारी स्तरबाट जुन सहयोग हुनुपर्ने हो त्यो भएको छैन ।’ उनले आश्रमलाई स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए । म्याग्दी, पर्वत, बागलुङ, मुस्ताङ लगायत जिल्लाबाट वृद्धवृद्धा आश्रममा बस्न आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया