धौवादी फलामखानी : आत्मनिर्भरताको सिँढी

समाधान संवाददाता २०७७ भदौ १० गते ५:४०

नेपालमा ठूला उद्योग, कलकाराखानाको सम्भावना सारै थोरै छ । यसको मुख्य कारण हो कच्चा पदार्थको अभाव । खाद्यान्नदेखि निर्माण सामग्रीसम्मका उद्योग सञ्चालनका लागि विदेशी कच्चा पदार्थकै भर पर्नुपर्ने अवस्था छ । अझ पहाडी भेगमा त ढुवानीकै कारण यस्ता उद्योग खुल्न कठिनप्राय छ । मझौला र सानाखालका उद्योग अहिले पहाडी भेगमा सञ्चालनमा छन् । नेपालका मुस्ताङ लगायतका जिल्लामा युरेनियमको खानी छ भन्ने पत्ता लागेको धेरै भइक्यो ।


नवलपुरकाे हुप्सेकोटमा रहेको फलाम खानी पनि अब सञ्चालनको मुखमा छ । यो खानी सञ्चालनमा आएपछि नेपाल फलाममा पनि आत्मनिर्भर हुने निश्चित छ ।

पहाडी भेगमा सुनखानी रहेको पनि वैज्ञानिकहरु बताउँदै आएका छन् । हिमाली भागमा बिरे नुन र सिधे नुन त पहिलेदेखि नै पाइँदै आएको हो । प्राकृतिक ग्यासको पनि यहाँ प्रशस्त सम्भावना छ । सिमेन्टका लागि त अब नेपाल विस्तारै आत्मनिर्भरताको बाटोमा लम्केको छ । गुणस्तरीय सिमेन्टका लागि अब हामी भारतीय उत्पादनको बाटो कुनै पर्ने छैन । नेपालकै पहाडी भेगबाट निकालिएका कच्चा पदार्थबाट अहिले धमाधम सिमेन्ट उत्पादन हुँदै आएको छ । क्लिंकरमा भने अझै आयातकै भर छ । चिनियाँ लगानीमा नेपालकै ठूलो सिमेन्ट उद्योग गण्डकी प्रदेशकै नवलपुर जिल्लामा सञ्चालित छ । नवलपुरको विनय त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योग अहिले प्रदेशकै गौरव बनेको छ । नवलपुरकै हुप्सेकोटमा रहेको फलाम खानी पनि अब सञ्चालनको मुखमा छ । यो खानी सञ्चालनमा आएपछि नेपाल फलाममा पनि आत्मनिर्भर हुने निश्चित छ ।

Advertisement

नवलपुरको हुप्सेकोटस्थित धौवादी फलामखानीमा प्रयोग गर्न सकिने फलामको परिणाम पत्ता लगाउन संघीय सरकारले यसैसाताबाट प्रक्रिया थाल्दैछ । गण्डकी प्रदेश सरकारको समेत प्राथमिकतामा परेको यो परियोजना शीघ्र सञ्चालनमा आउने भएपछि प्रदेशवासी पनि हौसिएका छन् । चिनियाँ प्रयोगशालाले धौवादीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको पुष्टि गरेसँगै खानी तथा भूगर्भ विभागले प्रक्रिया अघि बढाउन लागेको छ । खानीबाट फलाम र स्टिल निकाल्न सकिने चिनियाँ प्रयोगशालाले प्रमाणित गरेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा उक्त परियोजनालाई प्राथमिकतामै राखेर बजेट विनियोजन गरेको छ । साढे २ वर्षभित्र त्यहाँबाट फलाम उत्पादन हुने गरी सरकारले काम गरिरहेको छ । संघीय सरकार मातहत सञ्चालन हुन लागेको नवलपुरको धौवादी फलाम खानी कम्पनीमा गण्डकी प्रदेश सरकारले ३ प्रतिशत सेयर पाइसकेको छ । ४ अर्ब लगानीमा चल्ने खानीमा प्रदेश सरकारले आफ्नो १५ प्रतिशत सेयर हिस्सा रहनुपर्ने दाबी गर्दै आएको छ । पछिल्लो चरणमा त सर्वसाधारका लागि समेत सेयर जारी गर्नु माग पनि उठेको छ ।

अघिल्लो आािर्थक वर्षको तथ्यांक हेर्ने हो भने नेपालले १ वर्षमा १२ खर्ब ४५ अर्बको सामान आयात गर्छ । त्यसमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । दोस्रो हिस्सा फलाम तथा स्टिलले लिएको छ । पेट्रोलियम पदार्थमा पौने २ खर्ब खर्च हुँदा फलाम र स्टिल आयातका लागि नेपालले १ खर्ब ४० अर्ब रुपैयाँ खर्च गरेको छ । पछिल्ला अध्ययनहरुका अनुसार नेपालमा ५० वर्षका लागि पुग्ने फलाम धौवादीको खानीमा छ । यो खानी सञ्चालन गर्न हुँदैन भनेर विरोध गर्नेहरुको आवाज पनि कताकति सुनिएको छ । स्वदेशमा भएका सम्भावनाको खोजी गर्दा चर्को विरोध गर्ने अनि मुलुकलाई परनिर्भरतामा धकेल्ने यस्ता तत्वलाई बेलैमा ठेगान लगाएर सरकार अगाडि बढ्नुपर्छ । धौवादीमा मात्र होइन गण्डकीकै पर्वत जिल्लामा पनि बन्द छ । सम्भावनालाई साकार पार्न ३ वटै तहका सरकारले सहकारी र सहलगानी गरी मुलुकलाई आत्मनिर्भरतामा लैजानु नै संघीय लोकतान्त्रिक पद्धतिको सर्वोत्तम फल हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया