साइअर्चना, मणिपाल, सेवा हुँदै सरकारी अस्पताल पुगेकी थिइन् पोखराकी मृतक

समाधान संवाददाता २०७७ भदौ ११ गते ११:०१

समाधान संवाददाता, पोखरा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार कक्षमा विहीबार विहान मृत्यु हुने महिलाले लामो उपचार पछि ज्यान गुमाएको खुलेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले वडा नम्बर ११ की बासिन्दा भने पनि उनी वडा नम्बर १२ की हुन् । ती महिलालाई भदौ ६ गते कोरोना पुष्टि भएको थियो । तर त्यसअघि उनले लामो समय उपचारमा बिताएकी छन् ।

Advertisement

उनी साउनको अन्तिम हप्ता गम्भीर अवस्थामा सेवा हस्पिटलको आइसियुमा भर्ना हुन आएकी थिइन् । सेवा हस्पिटलका निर्देशक डा.पदम खड्काका अनुसार ती महिलालाई मणिपाल शिक्षण अस्पतालले आइसियुमा भर्ना गर्न रिफर गरेको थियो ।

मणिपाल अस्पताल जानु अघि उनी पोखरा कै रानीपौवास्थित साई अर्चना अस्पतालमा ४ दिन भर्ना भएरै उपचार गराएकी थिइन् । ‘४ दिन त्यहाँ उपचार गराएर घर गए पनि फेरि गारो भएपछि साईअर्चनामै भर्ना भएको मेडिकल हिस्ट्री छ,’ डा. खड्काले समाधानसंग भने, ‘त्यहाँ फेरि एक दिन बसेपछि मणिपाल शिक्षण अस्पतालमा गएको देखिन्छ ।’

Advertisement

मणिपाल शिक्षण अस्पताले आइसियुमा राखेर उपचार गर्नु पर्ने अवस्था रहेको र मणिपालमा आइसियु खाली नभएको भन्दै सेवामा पठाएको डा. खड्काले जानकारी दिए । ‘उनीमा निमोनियाको लक्षण थियो र श्वासप्रश्वासमा गम्भीर समस्या थियो,’ डा. खड्काले भने, ‘पहिले आइसियु र पछि भेन्टिलेटर मै राखेर उपचार गरेका थियौं ।’

ती महिला र यसअघि सेवा हस्पिटलमा कोरोना भाइरसबाटै भदौ १ गते ज्यान गुमाउने तनहुँकी बृद्ध एउटै वार्डमा उपचाररत थिए । मृत्यु हुने तनहुँकी महिला भन्दा आज मृत्यु हुने महिला पहिले नै सेवा अस्पतालमा भर्ना भएकी थिइन् ।

तनहुँकी महिलाको मृत्यु कोरोना भाइरसबाटै भएको पुष्टी भएपछि सेवाका स्वास्थ्यकर्मी र सोही वार्डमा भर्ना भएका विरामीको स्वाब संकलन गरिएको थियो । उनीहरुको ६ गते रिपोर्ट आउदा सेवा हस्पिटलका एक जना नर्स र आज मृत्यु हुने महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

डाक्टर खड्का अनुसार पहिले सेवा मै भेन्टिलेटरमा राखे उपचार गरिएकी ती महिलाको पछिल्लो समयमा स्वास्थ्यमा सुधार भएको थियो । सेवा हस्पिटलमा भेन्टिलेटरबाट बाहिर निकालिएको र समान्य हिडडुल गर्न थालेकी थिइन् ।

कोरोना भाइरस पुष्टी भएपछि उनलाई ७ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार वार्डमा पठाइएको थियो ।

प्रतिष्ठानका निर्देशक डा. आचार्यका अनुसार दुई दिन अघि एकाएक उनको स्वाप्रश्वासमा गम्भीर समस्या देखिएकाले भेन्टिलेटर मै राखेर उपचार गरिएको थियो । ‘तर आज विहान अन्तिम सास लिनुभयो ।’ डा.आचार्यले समाधानलाई बताए ।

तपाईको प्रतिक्रिया