मृतकको कथाः लमजुङबाट उपचारलाई पोखरा आए, आइसोलेसनको ढोकामै ढले

समाधान संवाददाता २०७७ भदौ १२ गते १४:५६

अनुप आत्रेय, पोखरा

पोखरामा शुक्रबार मृत्यु भएका पुरुष उपचारलाई लमजुङबाट पोखरा आएको खुलेको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि पोखरा महानगरपालिका १६ बस्ने आफन्तले पोखरा बोलाएका थिए ।

मृतक पुरुषको घर लमजुङको मध्यनेपाल नगरपालिका ७ करापुटार हो। उनलाई पोखरा बोलएका ६८ वर्षे सम्धीमा पनि आजै कोरोना पोजेटिभ देखिएको छ । दुवै जना सुरुमा पोखराको फिस्टेल हस्पिटल पुगेका थिए ।

Advertisement

‘उहाँहरु सुरुमा फिस्टेल हस्पिटल जानुभएको थियो । निमोनिया देखिएपछि फिस्टेलले क्षेत्रीय अस्पताल पठायो,’ पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने, ‘कोरोना परीक्षणमा आज रिपोर्ट पोजेटिभ आयो ।’

मृत्यु भएका पुरुषमा कोभिडसँगै उच्च रक्तचाप र मधुमेह थियो । दुवैलाई लिन एम्बुलेन्स पुग्यो । त्यहाँबाट अस्पतालको उपचार केन्द्रमा ल्याउँदै गर्दा उनी ढोकामै ढले ।

Advertisement

‘आइसोलेसनमा छिर्न नपाउँदै ढोकामै ढल्नुभयो । भित्र लगेपछि मृत्यु भएको थाहा भयो,’ क्षेत्रीय अस्पताल स्रोतले समाधानसँग भन्यो ।

योसँगै पोखरामा मृत्यु हुने संक्रमितको संख्या ४ पुगेको छ । यसअघि बिहीबारमात्रै क्षेत्रीय अस्पतालमै पोखरा १२ बस्ने ३२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । क्षेत्रीय अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । पोखराका चारबाहेक अरु दुई मृतक स्याङ्जाका हुन् ।

पोखरामा कोरोना संक्रमितको संख्या ३ सय पुगेको छ । तीमध्ये १ सय ७४ संक्रमित निको भएका छन् । पोखरामा आजमात्रै १६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेशभर संक्रमितको संख्या २ हजार ३६ पुगेको छ । संक्रमितमध्ये १६ सय ७२ जना निको भएका छन् भने १० संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ४, स्याङ्जाका २, म्याग्दी, गोरखा, बागलुङ र तनहुँका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया