ठेकेदारकी श्रीमतीलाई माइती पुर्याइदिँदा ……

समाधान सवाददाता
पोखरा महानगरपालिका वडा नम्बर २३ का माधव सापकोटा ५ दिनसम्म बेपत्ता पारिए। न आफ्ना मान्छे भेट्न पाए, न बोल्न र आफ्नो बारेमा जानकारी दिन । उनी थुनामा थिए ।
तर उनलाई नेपालको कानुन वा प्रहरी प्रशासनले थुनेको होइन । आफ्नै जनप्रतिनिधिले थुने । आफैले चिनेका ठेकेदार र उनका साथीहरुले ५–५ दिन बन्धक बनाए । केरकार गरे, पिटपाट पारे ।
उनी माथि आरोप थियो–ठेक्का पट्टाको काम गर्ने व्यवसायी वसन्त लामाकी श्रीमतीलाई किन माइत पुर्याएको ?
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार सापकोटाले केही दिन अघि ठेकेदार बसन्त लामाकी श्रीमतीलाई उनको माइतीमा पुर्याइदिएका रहेछन् । त्यसैकारण उनलाई नियन्त्रणमा लिएर थुनिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले बताए ।
उनलाई ठेकेदार लामाकै घरमा थुनेर राखिएको अवस्थामा बिहीबार उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले बताए ।
प्रहरीले अपहरणको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा सदस्य भरतराज भण्डारी, ठेकेदार लामा र स्थानीय रामु भण्डारी छन् ।
उनीहरुलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद थप भइसकेको डिएसपी ढकालले जानकारी दिए ।
५ दिन देखि बेपत्ता माधव सापकोटाको सुराकी उनकै भाउजूले पाएकी थिइन् । डिएसपी ढकालका अनुसार ठेकेदारको घर नजिकै घर भएकी भाउजूले देवरलाई बन्धक बनाएको थाहा पाएर जिल्ला प्रहरी कार्यालयका जानकारी गराए लगत्तै खटिएको प्रहरीले उनको उद्दार गरेको थियो ।
सापकोटाले खान पनि नदिएर राखेको बयान दिएका छन् । उनैले प्रहरीमा जाहेरी समेत दिएका छन् । अनुसन्धान जारी छ–डिएसपी ढकालले भने ।
तपाईको प्रतिक्रिया