मुक्तिक्षेत्रमा ५ क्विन्टलको शालिग्राम

समाधान संवाददाता २०७७ भदौ १३ गते ६:३३

एसके थकाली
जोमसोम

Advertisement

एउटै शालिग्राम ५ क्विन्टल वजनको हुन्छ भन्ने धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर त्यो अपत्यारिलो शालिग्राम मुस्ताङमा छ । मुक्तिक्षेत्रमा गत वर्ष यस्तै एक अनौठो र आश्चार्य लाग्दो शालिग्राम भेटिएको हो । शालिग्रामको वजन ५ क्विन्टल अनुमान गरिएको छ ।


शालिग्रामलाई झारकोटका स्थानीयले तोरा लेक भन्ने ठाउँमा स्थान्तरण गरेका छन्

कागबेनीदेखि मुक्तिनाथसम्मको १२ किमी कच्चीसडकको स्तरोनति तथा कालोपत्रे विस्तार गर्ने क्रममा वारागुङ मुक्तिक्षेत्र—१ को खिङ्गा र झारकोटबीचमा उक्त शालिग्राम फेला परेको झारकोटका स्थानीय बताउँछन् । उक्त शालिग्राम लामो समयसम्म सडककै किनारामा बेवारिसे थियो । शालिग्राम स्थानीयले उस्तो वास्ता गरेका थिएनन् ।

मुक्तिनाथ दर्शनका लागि आउजाउ गर्ने सडक त्यही बाटो भएकाले २ वर्षअघिको मंसिरमा सडक छेउको शालिग्राममा मुक्तिनाथ दर्शन गर्न आउने कसैको आँखा प¥यो । झारकोटमा एक व्यक्ति घरमा थर्रच्याङ पूजा परेको थियो । गुरुङ समुदायको थर्रच्याङ पूजा भव्य हुने भएकाले गाउँका सबै स्थानीयहरु त्यहाँ भेला भएका थिए । जिल्ला बाहिरबाट आएका केही व्यक्तिले खिङ्गा र झारकोटबीच सडक छेउमा वेवारिसे अवस्थामा रहेको शालिग्राम अवैध चोरी गरी लैजाने योजनाका साथ डोजरको सहायताले शालिग्रामलाई साङ्लाले बाँधेर जिपमा लोड गर्दै गरेको थर्रच्याङबाट फर्किएका स्थानीयले देखेका थिए ।

Advertisement

झारकोटका स्थानीय पाल्गेन गुरुङका अनुसार केही अपरिचत व्यक्तिले शालिग्राम चोरेर लैजाने योजनाका साथ उपकरण लिएर त्यहाँ आएका थिए । शलिग्राम जीपमा लोड गरेको देखेपछि स्थानीयले शालिग्राम लैजान पाईदैन भनी रोके । स्थानीय पाल्गेन भन्छन्, ‘शालिग्राम गाउले संग मागेर लान खोजेको भए बाजागाजासहित बिदा गथ्र्यौ, उनीहरुको नियत राम्रो लागेन त्यसपछि रोक्यौं ।’

अहिले त्यो शालिग्रामलाई झारकोटका स्थानीयले भगवानको प्रतीकको रुपमा गाउँकै तोरा लेक भन्ने ठाउँमा स्थान्तरण गरेको स्थानीय पाल्गेन गुरुङले जानकारी दिए । शालिग्रामलाई कुनै उपकरण बिना सहज रुपमा उचाल्न सकिँदैन । त्यही शालिग्राम अवैध रुपमा चोरी गर्न आएका व्यक्तिकै उपकरणको सहयोगमा सडकबाट तोरा लेकमा स्थान्तरण गरिएको स्थानीयवासी बताउछन् । तर शालिग्राम चोरी हुन लागेको खबर प्रहरीलाई जानकारी गराउदा चोरी गर्नेहरु त्यहाँबाट फरार भएका थिए । अहिले स्थान्तरण भएको शालिग्राम साङ्लाले बाँधिएकै अवस्थामा छ । त्यसमाथि स्थानीयले अरु ससाना शालिग्राम समेत राखेका छन् । स्थानीय पाल्गेन गुरुङले उक्त शालिग्राम रहेको स्थानलाई धार्मिक अवलोकन केन्द्रको रुपमा विस्तार गर्ने जानकारी दिए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिक्षेत्रमा ५ क्विन्टलको शालिग्राम । तस्विर : राम थापा ।

तपाईको प्रतिक्रिया