४ महिनादेखि बालिका बलात्कार, पक्राउ पर्ने डरले ३ दिनदेखि फरार थिए रेशबहादुर

समाधान संवाददाता, पोखरा
स्याङ्जा विरुवा गाउँपालिका ७ स्थायी ठेगाना भएका ५५ वर्षीय रेशबहादुर गुरुङ पूर्व भारतीय सैनिक हुन् ।
उनी पछिल्लो समययता पोखरा १० रामबजार मिलनचोकमा घर बनाएर परिवारसहित बसिरहेका थिए ।
गुरुङको घर नजिकै ९ वर्षीया बालिका बस्थिन् । बालिकाका बुवाआमा विदेशमा छन् । उनको संरक्षण फूपुबाट भइरहेको छ ।
बुवाआमा पनि नभएका बालिकालाई हजुरबुवा उमेरका गुरुङले धेरै समयअगाडिबाट कुदृष्टि लगाइरहेका थिए ।
छिमेकी त्यो पनि पाको उमेरको व्यक्तिबाट निच व्यवहार होला भन्ने उनका आफन्तले सोचकै थिएनन् ।
तर अपत्यारिलो घटना बालिकाबाटै बाहिरियो । उनका अभिभावकलाई आफूमाथि भइरहेको हिंसा सुनाइन् ।
गुरुङले आफूलाई ४÷५ महिनाअघिदेखि बलात्कार गरिरहेको जब तिनै बालिकाले अभिभावकसामू भनिन् ।
प्रहरीकाअनुसार बालिकाले अभिभावकलाई घटना बताएपछि भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी पर्यो ।
जाहेरी लगत्तै घटनाका पीडक गुरुङलाई पक्राउ गर्न प्रहरी खटियो । तर, गुरुङले आफू पक्राउ पर्न सक्ने लख पहिल्यै काटिसकेका रहेछन् ।
गुरुङ फरार भइहाले । उनको नालीबेली प्रहरीले खोतल्यो । उनको पुरानो घरको ठेगाना पत्ता लगायो र स्याङ्जा प्रहरीसँग समन्वय गर्यो ।
अन्ततः जाहेरी परेको ३ दिनपछि उनलाई प्रहरीले स्याङ्जाबाटै पक्राउ गरेको छ । विरुवा ८ टोड्केमा लुकीछिपी बसेकाे अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आफन्तबाट जाहेरी लिने क्रममै कास्की प्रहरीले बालिकासँग आवश्यक सोधपुछ गरिसकेको थियो ।
‘जाहेरीपछि हामीले बालिकासँग प्रारम्भिक सोधपुछ गरिसकेका थियौं । बच्चाले झुठो बोल्दैन, घटनाबारे बुझेपछि उसलाई (गुरुङ) पक्राउ गर्न जाँदा थाहा पाएर भागिसकेछ,’ कास्की प्रहरी प्रवक्ता सुवास हमालले भने ।
३ दिनको खोजीपछि भदौ १४ गते राति ७ बजेमात्र उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता हमालले जानकारी दिए ।
‘उनको स्याङ्जा घर छेउबाट राति नियन्त्रणमा लियौं । हिजै राति पोखरा ल्याएका हौं,’ उनले भने, ‘घटनामाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । आज (सोमबार) जबर्जस्तीकरणी मुद्दामा जिल्ला अदालबाट म्याद थप्छौं ।’
गुरुङले बालिकालाई आफूतर्फ आकर्षित गर्न विभिन्न प्रलोभन देखाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
तपाईको प्रतिक्रिया