स्याङ्जा एम्बुलेन्स दुर्घटनाः माजकोटको घुम्तीले खोस्यो श्रीमान् र गर्भको बच्चा

समाधान संवाददाता २०७७ भदौ १५ गते १२:१३

‘सुतिरहेकी थिएँ । घुम्तीबाट तल खस्न लागेको थाहा पाएपछि आबुई भनेँ । त्यसपछि होस नै पाइनँ’

अनुप आत्रेय, पोखरा

भर्खर रेस्टुरेन्ट सुरु गरेका थिए । १ महिना नहुँदै लकडाउन सुरु भयो । स्याङ्जा चापाकोटका भानुभक्त गैरे (कृष्ण) ले काठमाडौं सामाखुसीमा खोलेको रेस्टुरेन्ट बन्द गर्नुपर्‍यो ।

Advertisement

कोरोनाको महामारी सकिने र फेरि व्यवसाय सुरु गरौंला भन्ने थियो । बीचमा केही समय लकडाउन त खुल्यो तर फेरि काठमाडौंमा निषेधाज्ञा सुरु भयो ।

त्यसपछि काठमाडौंमा कोठामै बसिराख्नुभन्दा उनले घरमै केही समय बिताएर फर्किने निधो गरे । गाउँकै एम्बुलेन्स शनिबार बिरामी लिएर काठमाडौं गयो । त्यसैमा ७ महिनाकी गर्भवती श्रीमती पवित्रा पोखरेलसँगै उनी फर्किए । जिल्ला फर्किए तर घर पुग्नै पाएनन् । घरभन्दा ४ किलोमिटर वरै एम्बुलेन्स दुर्घटनामा परेर उनको मृत्यु भयो ।

Advertisement

गैरेसहित ४ जना सवार एम्बुलेन्स आइतबार बिहान साढे ४ बजे वालिङ नगरपालिका ५ माजकोटमा दुर्घटनामा पर्‍यो । दुर्घटनामा चापाकोट १० का २५ वर्षे श्याम पंगेनीको पनि ज्यान गएको छ ।

चालक चापाकोट नगरपालिका वडा नम्बर ९ का ३१ वर्षे सुरेन्द्र भण्डारी र गर्भवती २८ वर्षीया पवित्रा पोखरेल घाइते भए । सुरेन्द्रको खुट्टामा र पवित्राको टाउकोमा चोट लागेको छ ।

उक्त एम्बुलेन्स चापाकोट नगरपालिकाको हो । पोखराको गण्डकी मेडिकल कलेजमा उपचारपछि चालक भण्डारीलाई स्याङ्जा नै लगिएको छ।

पवित्रा पोखरामै उपचाररत छिन् । उनको गर्भको बच्चा खेर गएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट टुमाया घलेले जानकारी दिइन् ।

दुर्घटनामा घाइते भएकालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि पोखरा रेफर गरिएको थियो ।

घाइते पवित्राको पेटको मृत बच्चा आज निकालिने उनले बताइन् । एम्बुलेन्स दुर्घटनामा पर्दा निद्रामै थिइन् । ‘सुतिरहेकी थिएँ । घुम्तीबाट तल खस्न लागेको थाहा पाएपछि आबुइ भनेँ । त्यसपछि होस नै पाइनँ,’ सुक्सुकाउँदै पवित्राले भनिन् ।

एम्बुलेन्स खसेपछि उनी अस्पताल आइपुग्दासम्म अर्धचेत थिइन् । ‘के भयो थाहै पाइनँ । इमर्जेन्सी गाडीमा ल्याउँदा उठाएको थाहा पाउँथे । पुरै चेतमा आएकी थिइनँ,’ पवित्राले भनिन् ।

पवित्राका भिनाजु माधवप्रसाद बरालका अनुसार उनकाश्रीमान भानुभक्त राम्रा कुक थिए । ‘दुबईमा कुक थिए । २ वर्ष जति घरमै बसेपछि ७/८ महिना पहिले आफूसँग भएको सिप लिएर काठमाडौं गएका हुन्,’ बरालले भने । पवित्रा र भानुभक्तका ५ वर्षका छोरा पनि छन् । उनी मामाघर (रामपुर, पाल्पा) मा रहेको बरालले जानकारी दिए ।

घटनास्थल पुगेका वालिङ ५ का वडाध्यक्ष ढाकाराम पंगेनीका अनुसार ड्राइभरले गुहार मागेपछिमात्रै गाउँलेले थाहा पाएका थिए ।

‘अरु ३ जना गाडीसँगै तल गए पनि ड्राइभरमाथि नै अडिएछन् । त्यसपछि बाटोमा निस्किएर गुहार मागेपछि अरुले थाहा पाए,’ उनले भने, ‘दुर्घटना भएको ठाउँनजिकै खोल्सा छ । त्यसको पारि बस्ती छ । गाउँमा बिहानै मान्छे उठिसकेका थिए ।’

दुर्घटनामा घाइते भएका चालकको अवस्था केही सामान्य भएपछि घटनाबारेसोधपुछ गरिने स्याङ्जा प्रहरीका प्रवक्ता एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

‘चालकले घुम्ती परेको ठाउँ भएकाले नियन्त्रण गर्न सकिन भनेर भनेका छन् । काठमाडौंबाट आउँदा लामो बाटो भएकाले त्यसले पनि असर पारेको हुनसक्छ,’ डिएसपी अधिकारीले भने ।

तपाईको प्रतिक्रिया