गल्याङले दियाे १ लिटर दूधमा १५ रुपैयाँ अनुदान

समाधान संवाददाता २०७७ भदौ १७ गते ७:२४


सुशील सुवेदी
वालिङ

हाेमस्टेका नाममा रकम बाँड्दा हाेस या वाँदर नियन्त्रणमा गल्याङ नगरपालिकाकाे नाम विवादमा पर्दै आएकाे छ । यहि नगरपालिकाले अहिले उत्पादनमा आधारित अनुदान कार्यक्रम सुरु गरेको छ ।

दूधैदूधको सेतो सहर बनाउने अभियान बोकेको गल्याङ नगरपालिकाले एक लिटर दूधको १५ रुपैयाँ अनुदान पाउने भएपछि पशुपालन गर्नेको संख्या वृद्धि हुन थालेको छ । यसले कत्तिकाे निरन्तरता पाउने हाे त्याे भने हेर्न बाँकी नै छ ।

Advertisement

उत्पादनमा आधारित अनुदान, कृषि कर्जामा ४ प्रतिशत ब्याज अनुदान लागु भएसँगै युवा पुस्तामा पशुपालको आकर्षण बढेको छ । पालिकाले कृषकको दूध संकलन गर्न १६ वटा दूध संकलन केन्द्र स्थापना गरिएको छ । कृषकले नजिकको संकलन केन्द्रमा दूध बेच्न सक्ने व्यवस्था मिलाइएको छ ।

संकलन केन्द्र मार्फत दूध बेच्ने ६२७ किसानलाई हालसम्म ४७ लाख अनुदान प्रदान गरिएको नगरप्रमुख भूपराज अधिकारीले बताए । उनले भने, ‘किसानले जति सक्छन्, गाईभैंसी पाल्नुपर्छ । बजारको ग्यारेन्टी हामी लिन्छौँ । निःशुल्क बिमादेखि औषधी, घाँस र सवारीसाधनमा समेत अनुदान प्याकेज ल्याएका छौँ ।’

Advertisement

संघीय सरकारको ७५ प्रतिशत र गल्याङ नगरपालिकाको २५ प्रतिशत अनुदानमा कृषकले निःशुल्क पशु बिमासमेत गर्न सक्ने कृषि प्राविधिक सुशील अर्याल बताउँछन् । उनी भन्छन्, ‘अनुदानमात्र होइन, गाउँगाउँमा निःशुल्क परामर्श र उन्नत जातका घाँस पनि वितरण गरेका छौं ।’

कृषि मैत्री अभियानले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको समेत यो पेशामा आकर्षण बढेको अर्याल बताउँछन् । गल्याङ २ बटुवाका विनोद गुरुङ विदेशबाट फर्किएसँगै पशुपालनमा लागे । गुरुङ साँझ बिहान गाईभैंसीको स्याहार सुसारमा व्यस्त हुन्छन् ।

१५ लाख रुपैयाँ लगानी गरी पशुपालनमा लागेका गुरुङले ८ महिनामा करिब ६ लाख रुपैयाँको दूध बिक्री गरेका छन् । संकलन केन्द्रमा दूध बिक्री गरेबापत गुरुङले नगरपालिकाबाट १ लाख ६७ हजार रुपैयाँ अनुदान बुझिसकेका छन् ।

६२७ कृषकले उत्पादनको आधारमा अनुदान प्राप्त गरेका छन् । कृषक गुरुङ भन्छन्, ‘नगरको अनुदानले उर्जा थपेको छ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने धारणा हट्दैछ ।’ यस्तो अनुदान मासुजन्य पशुमा पनि लागु गर्ने नगरको लक्ष्य छ । स्थानीय तहको यो प्रयासले युवा पुस्तालाई कृषि क्षेत्रतर्फ आकर्षित गरेको छ ।

तपाईको प्रतिक्रिया