चितवनका सङ्क्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी

समाधान संवाददाता २०७७ भदौ १७ गते १८:५०

चितवन ।

जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा मानेको छ । सङ्क्रमित स्वास्थ्यकर्मीहरु चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता र अस्पताल प्रशासन हेर्ने छन् ।

Advertisement

कूल सङ्क्रमितमध्ये २४ प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मी रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार सात चिकित्सक, ३३ नर्स, एक पारामेडीक्स र पाँच एटेण्डर ९सहयोगी० गरी ४६ सङक्रमित भएकामा दुई जना निको भएका छन् ।

Advertisement

दोस्रो धेरै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४३ सङ्क्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार चिकित्सक तीन, नर्स १९, पारामेडीक्स एक , प्रशासनका दुई र १८ सहयोगी सङ्क्रमित भएका छन् ।

पुरानो मेडिकल कलेजमा ३६ सङ्क्रमित भएका छन् । कलेजका डा प्रिया पाठकका अनुसार १० चिकित्सक, २० नर्स, तीन पारामेडीक्स र तीन सहयोगी सङ्क्रमित भएका छन् ।

भरतपुर अस्पतालमा ३० सङ्क्रमित भएको सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सक सात, नर्स नौ, पारामेडीक्स चार, प्रशासनका दुई र सहयोगी आठ सङ्क्रमित भएका छन् ।

एनपिआई नारायणी सामुदायिक हस्पिटलका ६ मध्ये चिकित्सक एक, नर्स दुई, प्यारामेडीक्स एक, प्रशासनका एक र सहयोगी एक रहेको अध्यक्ष डा भक्तमान श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी सेन्ट्रल अस्पतालमा तीन नर्स र दुई सहयोगी, मौलाकालिका अस्पतालमा दुई नर्स र दुई सहयोगी, आशा अस्पतालमा दुई नर्स र एक पारामेडीक्स, रत्ननगर बकुलहर अस्पतालमा एक चिकित्सक र एक नर्स, मनकामना अस्पतालमा एक नर्स, पुष्पाञ्जली हस्पिटलमा दुई प्यारामेडीक्स र एक सहयोगी सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार निजी मेडिकलका तीन, नेपाल रेडक्रस सोसाइटीका एक प्राविधिक र एक एम्बुलेन्स चालक सङ्क्रमित भएका छन् ।

जिल्लाका सात पालिकामध्ये भरतपुर क्षेत्रमा काम गर्ने चार, खैरहनीमा दुई र राप्तीमा एक स्वास्थ्यकर्मी सङ्क्रमित भएको उहाँले जानकारी दिनुभयो ।

अन्य दुई एम्बुलेन्स चालक पनि सङ्क्रमित भएका छन् । उपचारमा अहोरात्र खटिनेहरु नै सङ्क्रमित भएपछि अस्पतालको सेवा सञ्चालनमा कठिन भइरहेको निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कँुवरले बताउनुभयो ।

जिल्लाका स्वास्थ्य संस्था सबैले नियमित तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयमा अद्यावधिक नगरेको हुँदा सङ्ख्या अझ थप हुन सक्ने अनुमान गरिएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै गर्दा अन्यले पालो मिलाएर रातदिन उपचार गरेको बताउनुहुन्छ । स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा अस्पताल नियमित सञ्चालनमा निकै असजिलो हुने गरेको उहाँको भनाइ थियो ।

स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ्मा उनीहरुसँग काम गर्ने अन्य स्वास्थ्यकर्मी पनि पर्ने हुँदा अस्पताल बढी प्रभावित भएका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र रत्ननगर बकुलहर अस्पतालका प्रमुख डा विश्ववन्धु बगालेसमेत सङ्क्रमित भएपछि दुई अस्पताल निमित्तका भरमा चलिरहेका छन् । रासस ।

तपाईको प्रतिक्रिया