ढाडस दिऊँ, आत्महत्या रोकौं
आफैले आफ्नो ज्यान लिनु पनि अपराध हो । मान्छेलाई बाँच्ने अधिकार छ तर मर्ने अधिकार छैन । कुनै व्यक्तिको जीवन उसको एक्लो हुँदैन, ऊ परिवारको सदस्य हो, समाजको सदस्य हो र कुनै राज्यको अनि यो विश्वको पनि । एउटा व्यक्तिको अन्त्य ऊसँग जोडिएका व्यक्ति र समुदायका लागि पनि घातक हुन्छ, तसर्थ आत्महत्यालाई अपराध मानिन्छ । अपवादकै रुपमा सही राइट टु डाई अर्थात मर्ने अधिकारका अभियान पनि विश्वमा कताकति छन्, तर आमरुपमा ती अस्वीकार्य छन् र गलत छ ।
जति जति संसार अत्याधुनिक र सुविधा सम्पन्न र समृद्धिको बाटोमा गइरहेको छ, उतिउति मानिसहरुको आत्महत्या पनि बढ्दो छ । मानव सभ्यताका लागि आत्महत्या चुनौती बनेको छ । आफ्नै सास बन्द गराउनेहरु कुनै खास वर्गका मात्रै छैनन्, खास उमेरका मात्रै पनि छैनन् । वृद्धवृद्धा, प्रौढ र युवा वा किशोर समूह सबै नै यो महारोगको सिकार बनेका छन् । आत्महत्या अर्थात जीवनको समाप्ति कुनै समाधान त होइन, तर मानिसहरु किन यो बाटो रोज्छन् भनेर यकीन गर्न सकिएको छैन्, तर सतहमा देखिने कारणचाहिँ केही छन् । जस्तो कि मानसिक समस्या, तनाव, झै झगडा, लागुऔषधको दुव्र्यसन, पारिवारिक र सामाजिक हिंसा आदि आदि ।
विश्वमा हरेक वर्ष ८ लाख जनाले आफैंले आफैंलाई मार्छन् । विष पिउँछन् । झुन्डिन्छन् । हेलिन्छन् । आदिआदि । नेपालमा ८ हजार हाराहारीमा आत्महत्या हुने गरेको वार्षिक तथ्यांक छ । विश्वको गरिबतम् दुखियाहरुको यो मुलुक आत्महत्या हुने १० मुलुकभित्रै पर्छ । पछिल्लो समय नेपालमा आत्महत्याको दर झन्झन् बढ्दैछ । पछिल्लो २५ वर्षमा नेपालमा आत्महत्या ६० प्रतिशतले वृद्धि भएको छ । २९७२ को विनाशकारी भूकम्पपछि आत्महत्या ४१ प्रतिशतले बढेको थियो । कोरोना भाइरसको महामारीले पनि आत्महत्या बढेको आँकलन छ । दैनिक १४ जनाको आत्महत्या हुँदै आएकोमा लकडाउनपछि भने त्यो दर १६ मा पुगेको नेपाल प्रहरीको रेकर्डले देखाउँछ । कारण जेसुकै होस्, बन्दाबन्दी भएपछि मानिसहरु बेरोजगार भए, उद्योग कलकारखाना चल्न सकेनन्, संघसंस्थाका जागिरेको पनि जागिर रहेन । यी र यस्तै कारणले मानिस निरास भएको हुनुपर्छ ।
मानसिक समस्या आत्महत्या सबैभन्दा ठूलो कारणमध्ये पर्छ भनिन्छ । मानसिक समस्या कुनै अपराध होइन, तर नेपाली समाजले यसका रोगीलाई तिरष्कार गर्छ, हेप्छ र अपमान गर्छ । जसलाई माया र दया अनि हौसलाको खाँचो छ, उसैलाई खिसिटिउरी गर्छ, निरुत्साहित पार्छ । समाजमा रहेको यस्ता विकृति न्यूनीकरण गर्न तमाम नागरिकहरुलाई सचेतना जगाउनुपर्छ । आत्मबल उचो बनाउन नागरिकहरुलाई मनोपरामर्श दिनुपर्छ । आत्महत्या रोक्ने भूमिका सर्वसाधारण र सचेत नागरिकको पनि हो, समाजको पनि हो र राज्यको पनि । राज्यले चाहँदा आत्महत्याको संख्या कम हुन्छ भन्ने उदाहरण जापानबाट लिन सकिन्छ ।
जापान अत्यधिक आत्महत्या हुने मुलुकमा थियो । राज्यले आत्महत्या रोक्ने नीति बनाउँदा त्यहाँ सकारात्मक नतिजा निस्कियो । सन् २००३ मा जापानमा ३४ हजार ४ सयले आत्महत्या गरेका थिए, राज्यले नयाँ नीति ल्याएपछि भने त्यो संख्या २१ हजारमा झरेको थियो । यसर्थ मानसिक समस्या हुनेलाई ढाडस दिऊँ, बाँच्न प्रेरित गरौं । हिंसा रोकौं । आत्महत्या रोकथाम हुन्छ । सेप्टेम्बर १० अर्थात आत्महत्या रोकथाम दिवसमा सबैलाई यही प्रेरणा मिलोस् ।
तपाईको प्रतिक्रिया