बिपीको विचारलाई अंगाल्न नसकेको कांग्रेस
‘यो न पञ्चायत हो न प्रजातन्त्र हो । यो ‘करप्सन’ र ‘डिक्टेटरसिप’ को अर्को नाम हो । ‘डिक्टेरसिप’ भनौं भने यो राजालाई पनि फाइदा छैन । मैले यो कुरा पनि राजासँग भनें । यो सरकारको निहीत स्वार्थको कुरा हो, यो व्यवस्था राख्ने भन्ने कुरा । सरकारले यसलाई टेवा दिएर अड्याइरहेको छ ।’ ४० वर्ष अघि बेलायत गएका बेला बिपी कोइरालाले बिबिसी नेपाली सेवाका लागि दिएको अन्तर्वार्तामा भनेका थिए ।
जुन अन्तर्वार्ता प्रशारण भने हुन पाएन । कुनै खालको सिद्धान्त अबलम्बन गर्न नसकेको पञ्चायती शासन व्यवस्था ढाल्नका लागि थुप्रै प्रयास भए । बिपीकै पालामा सम्भव नभए पनि प्रजातान्त्र पुनस्र्थापना भइछाड्यो । सार्वभौमसत्ता नेपाली नागरिकमा निहीत हुने गरी संविधान बन्यो ।
त्यसपछि पनि रमुलुकमा धेरैथरि परिवर्तन भए । २ सय ४० वर्ष पुरानो राजतन्त्र पनि ढल्यो । त्यतिमात्र होइन संघीयता कार्यान्वयनमा आइक्यो । तर के बिपीले सोचेको जस्तो समाज अनि मुलुक बन्यो त ? कि उनले त्यतिबेलै ‘यो न पञ्चायत हो न प्रजातन्त्र हो’ भनेजस्तो हामी शासकीय शैलीमा अल्झिएका त छैनौं भन्ने अनुभूति जनस्तरबाट हुन थालेको छ ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बिपी कोइराला २०१५ सालमा भएको आमनिर्वाचनमा २ तिहाई मतका साथ प्रधानमन्त्री बने । राजा महेन्द्रसँगको टकरावका कारण उनी धेरै समय सत्तामा टिक्न सकेनन् । तर बिपीका सिद्धान्त र विचार सर्बकालीन बने । कांग्रेसजनका लागि मात्रै होइन हरेक पार्टीका हरेक तहतप्काका व्यक्ति उनका विचारबाट प्रभावित छन् । राणा परिवारमात्र होइन नेपालको राजाहरुसँगको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन । त्यसमा बिपीको राजनीतिक एकाग्रता बढी जिम्मेवार थियो । जनताका अधिकार स्थापित गर्न उनी कसैसँग सम्झौता गर्न चाहेनन् । जनतालाई साथमै लिएर मुलुकमा समाजवाद स्थापनाका लागि निरन्तर लागिरहे ।
मेलमिलापको नीतिका नाममा राजा महेन्द्रसँग घाँटी जोड्न आएको भनेर उनीमाथि आरोप पनि नलागेको होइन । तर उनको इमान्दारितामाथि शंका गर्ने ठाउँ नै थिएन । नेपाल र नेपालीलाई जुन ठाउँमा पु¥याउने सपना उनले बुनेका थिए, त्यसमा निरन्तर प्रतिबद्ध नै रहे ।
नेपालमा पूर्ण प्रजातन्त्र स्थापना होस् र आर्थिक विकास होस् भन्ने उनको मुख्य चाहना थियो । उनी भन्थे ‘नेपालको गाउँ सुधार होस् ।’ बिपीको जन्मजयन्ती मनाइरहँदा उनले देखेका सपना पूरा गर्न यहाँका राजनीतिक दल कति प्रतिबद्ध रहे भन्ने विषयमाथि घोत्लिनुपर्ने भएको छ । बिपीको नाम जपेर र उनले व्यक्त गरेका विचार सुनाएर परिवर्तन सम्भव छैन ।
बिपीले नै स्थापना गरेको पार्टी नेपाली कांग्रेस नै बिपीको विचारबाट विचलित भएको हो कि भन्ने महसुस भइरहेको छ । पुराना पुस्ताका नेताको भाषण नै बिपीको नाम लिएर सुरु हुन्छ । तर मुलकलाई समाजवादउन्मुख बनाउन रतिभर चासो दिएको पाइँदैन । उही परम्परागत शैलीका कार्यक्रम गरेर बिपी जयन्ती, बिपी स्मृति दिवस र मेलमिलाप दिवस मनाउने गरिएको छ । पार्टीका नेता र कार्यकर्तालाई उनको विचारबाट प्रशिक्षित गराउने अनि लक्ष्य प्राप्तिमा लाग्न प्रेरित गर्नुपर्ने बेला हो यो ।
अहिले कांग्रेस प्रतिपक्षमा छ । यो बेला त सरकारका कमीकमजोरी औंल्याउँदै जनाधार सुदृढ बनाउनुपर्ने बेला हो । तर पार्टी आन्तरिक किचलोमा बेस्सरी मुछिएको छ । यसले पार्टीलाई त धरासायी बनाउँछ नै मुलुकको राजनीतिक स्थायित्वमा पनि असर पार्छ । मुलुकको हितका लागि कांग्रेसजनहरु बिपीले भनेजस्तै १ मुठी माटो हातमा लिएर कसम खाएर अगाडि बढ्नुपर्छ ।
तपाईको प्रतिक्रिया