गण्डकीमा आज ५२ संक्रमित थपिए, २ को मृत्यु

समाधान संवाददाता २०७७ भदौ ३० गते २२:४१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा मंगलबार ५२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ७ जिल्लाका ५२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नवलपुरका २०, स्याङ्जाका १३, तनहुँका ९, कास्कीका ५, गोरखाका ३, लमजुङ र मनाङका १/१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । सोमबार ९३ जनामा कोरोना पुष्टि भएको थियो ।

Advertisement

गण्डकीमा कोरोना संक्रमितको संख्या ३१ सय १६ पुगेको छ । तीमध्ये १८ सय ९९ जना निको भएका छन् । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ११ सय ४० छ । सबैभन्दा धेरै कास्कीमा ४ सय ३ सक्रिय संक्रमित छन् । सबैभन्दा कम म्याग्दीमा १ जना छन् ।

मुस्ताङ गण्डकी प्रदेशको एकमात्रै कोरोनामुक्त जिल्ला हो । मुस्ताङका एकमात्रै संक्रमित ९ दिनको आइसोलेसन बसाइपछि १५ असारमा घरफर्किएका थिए । गण्डकी प्रदेशमा मंगलबारसम्म ५९ हजार ५९ वटा स्वाब परीक्षण भएको छ ।

Advertisement

२ संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । गोरखा र कास्कीका १/१ संक्रमितको मंगलबार प्रदेश स्वास्थ्य निर्देशनालयले मृत्यु पुष्टि गरेसँगै मृतकको संख्या ३१ पुगेको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका ९ का ७० वर्षे पुरुष र गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ की ६३ वर्षीया महिला छन् ।

पोखराका मृतकको मनिपाल शिक्षण अस्पताल र गोरखाकी महिलाको काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो । २५ भदौमा अस्पताल भर्ना भएका पोखराका ती वृद्धमा २८ भदौमा कोरोना पुष्टि भएको थियो । उनी क्यान्सरका बिरामी थिए ।

अहिलेसम्म कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका ८ बाहेक बाँकी २ जना अन्नपूर्ण र मादी गाउँपालिकाका हुन् ।

२५ भदौमा कोरोना पुष्टि भएकी गोरखाकी महिलाको २८ भदौमा मृत्यु भएको हो । उनी गोरखाकी छैटौं मृतक हुन् । मंगलबार मृत्यु पुष्टि भएका २ सहित प्रदेशभर मृत्यु हुनेमा कास्कीका १०, गोरखाका ६, नवलपुरका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया