मुस्ताङ जिल्ला अस्पताल २५ शय्यामा स्तरोन्नति हुने

समाधान संवाददाता २०७७ भदौ ३१ गते ९:४३

एसके थकाली, जोमसोम

मुस्ताङ जिल्ला अस्पतालको स्तरोन्नति हुने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको बजेटबाट अस्पतालको भौतिक संरचना निर्माण हुने भएको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले मुस्ताङ जिल्ला अस्पतालको क्रमागत बहुवर्षीय पूर्वाधारका लागि २१ करोड बजेट स्टिमेट गरेको छ । जसका लागि पहिलो वर्षमा ३ करोड बजेट विनियोजन भएको अस्पतालका निमित्त मेसु शिव भण्डारीले जानकारी दिए ।

Advertisement

‘अब छिट्टै बहुवर्षीय भवनको गुरुयोजना मन्त्रालयले पारित गर्दैछ,’ भण्डारीले भने, ‘मन्त्रालयले पूर्वाधार निर्माणको बजेट सुनिश्चिता गरेपछि टेन्डर प्रक्रियामा जानेछौं ।’ उनले दसैंअघि नै पूर्वाधार निर्माणका लागि कामअघि बढ्ने जनाए ।

मुस्ताङ जिल्ला अस्पताल भवनको पूर्वाधार निर्माणका लागि गत वर्ष नै ३ करोड बजेट विनियोजन भएको थियो । तर, उक्त बजेट ढिलो गरी विनियोजन भएकाले खर्च हुन सकेन । अब नयाँ भवन बनाएर अस्पताल २५ शय्याको पु-याइने भएको छ ।

Advertisement

मुस्ताङ जिल्ला अस्पताल भवनको पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । जोमसोममा अब बन्ने २५ शय्याको अस्पताल भवनको पूर्वाधारको डिपिआर काठमाडौंस्थित नेपाल हेल्थ सेक्टर सपोर्ट प्रोग्रामले तयार गरेको हो ।

हालको ११ रोपनी जग्गाको अस्पताल क्षेत्रको कच्ची संरचनालाई मासेर नयाँ र सुविधा सम्पन्न अस्पताल भवन निर्माण गर्ने मेसु भण्डारीले जनाए । नयाँ बन्ने अस्पताल पूर्वाधारभित्र सवारी पार्किङसहितको साढे २ तले हुनेछ । जसमा कार्यालय सञ्चालन कक्ष, इमरजेन्सी सेवा, ओपिडी सेवा, प्रसूति कक्ष, विश्राम कक्ष, ल्याब कक्ष, औषधी कक्ष, आर्थिक कक्ष र आवास कक्ष लगायत कोठाहरु रहने मेसु भण्डारीको भनाइ छ ।

प्रदेश अन्तर्गतका जिल्ला अस्पताललाई कम्तीमा २५ शय्याको अस्पतालको रुपमा रुपान्तरण गरी सेवाग्राहीको स्वास्थ्य सुविधालाई फराकिलो र सेवामैत्री तुल्याउने उद्देश्यले प्रदेश सरकारले जोमसोम अस्पताल १५ शड्ढयाबाट २५ शड्ढयामा स्तरोन्नति गर्न लागेको हो ।

जोमसोम अस्पताल संघीयता अघि जिल्ला स्वास्थ्य कार्यालय भवनको सेवासँगै सञ्चालनमा थियो । अस्पतालको ओपिडी सेवा, ल्याब, प्रशासन, आर्थिक शाखा लगायत कक्ष स्वास्थ्य कार्यालय भवनबाटै सेवा प्रवाह हुँदै आएको थियो । हाल अस्पतालको सेवा २०५३ सालमा बनेको स्वास्थ्य कार्यालय भवनमा छ । पछिल्लो समय स्वास्थ्य कार्यालय अर्को नयाँ भवन बनेपछि अस्पताललाई सेवा प्रवाहमा केही सहज भएको छ ।

मुस्ताङ अस्पतालका लागि हाल १८ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । अस्पतालका लागि नवौं तहको एक जना डक्टरसहित २ जनाको स्थायी दरबन्दी छ । तर, अस्पताल सञ्चालनमा आएको दशकौं हुँदासम्म एमडी उत्तीर्ण नवौं तहको डाक्टर अभाव छ । मुस्ताङमा नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त अन्य ४ जना करारका डक्टर समेत कार्यरत छन् ।

अस्पतालमा अहिले १८ जनाको दरबन्दी नवौं तहको मेसु र अहेब १ र अनमी २ जना स्थायी जनशक्ति अझै रिक्त छ । अस्पतालमा ६ जना स्थायी कार्यालय सहयोगी मध्ये ४ जना करारका छन् । मुस्ताङ अस्पतालमा अहिले सामान्य मेडिकल उपकरणबाट एक्सरे, भिडियो एक्सरे र ल्याबको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया