पहिरोले पर्वतका ७ बस्ती जोखिममा, स्थानान्तरण गर्न सिफारिस

पर्वत, रासस
लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका ७ वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न संघ र प्रदेश सरकारमा सिफारिस गरेको छ । ७ वटा बस्तीका झण्डै १ सय घरपरिवार जोखिममा रहेको भन्दै बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए ।
केही दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिकसहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद् व्यवस्थापन समितिको बैठकले बस्ती नै स्थानान्तरण गर्नका लागि सिफारिस गरेको हो ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिका अनुसार वडा नं ४ मुडिकुवाको चुरी, वडा नंं १० कुर्घाको फल्ला, वडा नं २ थापाठानाको दरदरे, वडा नं ३ शङ्करपोखरीकोे पुर्कोट, सोही वडाको रुग्दी र वडा नं ६ देवीस्थानको राहले बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको नगरप्रमुख शर्माले जानकारी दिए ।
अधिकांस बस्ती सडक निर्माणका कारण जोखिममा परेका हुन् । सबैभन्दा बढी कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा छन् । संघ र प्रदेश दुवै सरकारमा सिफारिस गरी पठाइएको र नगरबाट सम्बोधन हुनसक्ने जोखिमयुक्त ठाउँमा भने नगरले नै योजना बनाएर पुनःस्थापनाका कार्य अघि बढाउने शर्माले बताए ।
त्यस्तै बाढीपहिरोका कारण नगरपालिकाभित्र रहेका खानेपानी, विद्युत्, सिँचाइका योजनाहरुमा पनि क्षति पुगेको छ । ती योजनाहरुलाई मर्मत गर्न सम्बन्धित कार्यालयमा माग गरी पठाउने निर्णयसमेत बैठकले गरेको छ ।
अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएर गत सोमबार वडा नं ४ मुडिकुवास्थित शिर्सुवामा स्थानीय नवीन विककी तीन वर्षीया छोरी निकिता विकको ज्यान गएको थियो ।
सोही दिनको वर्षाका कारण नगरका सबैजसो वडामा क्षति पुगेको थियो । वर्षाका कारण अवरुद्ध मुख्यमुख्य ग्रामीण सडकहरुमा निर्माणाधीन भए सम्बन्धित आयोजनालाई र अन्यमा नगरपालिकाको स्काभेटर लगाएर खुलाउने निर्णयसमेत गरेको नगरप्रमुख शर्माले जानकारी दिए ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया