कोरोनमुक्त म्याग्दी डेंगु केन्द्र

समाधान संवाददाता २०७७ असोज २ गते १०:५५

राकेश शर्मा, म्याग्दी

हिमाली जिल्लामा म्याग्दीले कोरोनालाई जितिरहेको बेला डेंगु र स्क्रब टाईफसका बिरामीले चुनौती दिएको छ । वैशाखयता मात्र करिब सयजना डेंगु र स्क्रब टाइफसका बिरामी भेटिएका छन् । हालसम्म म्याग्दीमा ४९ जना कोरोना संक्रमित भएकोमा सबैले कोरोना जितेका छन् । ४५ दिने संक्रमित बालकको भने असार तेस्रो साता काठमाडौंमा मृत्यु भएको थियो ।

केही दिनयता म्याग्दीमा डेंगुु र स्क्रब टाइफसको संक्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६८ जनामा डेंगुको संक्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ । ३८ जना स्क्रब टाइफसका बिरामी भेटीएका छन् ।

Advertisement

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण हालसम्म रघुगंगा गाउँपालिका ६, बेनी नगरपालिका २९, अन्नपूर्ण गाउँपालिका ४, मंगला गाउँपालिकाका ३०, मालिका गाउँपालिकामा ३ र धवलागिरी गाउँपालिकामा २ जना बिरामीमा पुष्टि भएको हो ।स्क्रब टाइफसका बिरामी क्रमश २, १८, ३, ११, ३, १ जना स्क्रब टाइफसका बिरामी भेटीएका हुन् ।

जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगुको समस्या देखिएपछि बिरामीको नमुना संकलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा डेंगु नै पुष्टि भएपछि जिल्लाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

Advertisement

डेंगुबाट बँच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नभएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए । मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामीको संख्या पनि म्याग्दीमा उच्च गतिमा बढेको छ ।

‘अहिले हामीलाई कोरोना जोखिमसँगै डेंगु र स्क्रब टाइफसको जोखिम बढी देखिएको छ, यसको रोकथाम र नियन्त्रण गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छौँ,’ कटुवालले भने, ‘अहिले हाम्रो अस्पतालमा स्क्रब टाइफस चेक गर्ने किट सकिएको छ, प्रदेशलाई ताकेता गरेका छौँ, तर अहिलेसम्म पठाउन सकेको छैन ।’

अस्पतालका अनुसार प्रदेश सरकारले स्क्रब टाइफसका चेक गर्ने किट पठाउन ढिला गरेकाले बिरामीलाई समस्या भएको छ । अस्पतालबाट पहल गरिए पन १ हस्ता हुँदासम्म कुनै उपलब्ध भएको छैन ।

प्रदेशभर डेढ सय बिरामी

गण्डकी प्रदेशमा कोरोना भाइरससँगै डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।गत वर्ष पुस १६ देखि १ सय ९ डेंगु र ४९ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । बुधबारसम्म प्रदेशका ८ जिल्लामा डेंगु र ४ जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

१९ जेठमा निर्देशनालयले अद्यावधिक गरेको तथ्यांकमा १६ डेंगुका बिरामी र १ जना स्क्रब टाइफसका बिरामी भेटिएको उल्लेख थियो । १९ जेठपछि गण्डकीमा डेंगुका ८९ र स्क्रब टाइफसका ५३ बिरामी भेटिएका छन् । सबैभन्दा धेरै म्याग्दीमा ६८ डेंगु र ३८ स्क्रब टाइफसका बिरामी भेटिएको छ ।

कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा ४, नवलपुरमा ३, बागलुङमा २, पर्वत र गोरखामा १÷१ डेंगुका बिरामी भेटिएका छन् । बागलुङमा ६, नवलपुरमा ३ र कास्कीका २ जनामा स्क्रब टाइफस देखिएको छ ।

तपाईको प्रतिक्रिया