फर्जी रसिदमा कवाडी निकासी गर्ने जैसवाल महानगरको शरणमा

समाधान संवाददाता २०७७ असोज २ गते ११:३५
sdr

रसिद किर्ते गरी कवाडी निकासी गर्ने स्टोरका सञ्चालक जैसवालले कर छली स्वीकारे

Advertisement

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकालाई कर छलेर कवाडी निवासी गर्ने कवाडी स्टोरका सञ्चालक अन्ततः महानगरकै शरणमा आइपुगेका छन् । रसिद किर्ते गरी कवाडी निकासी गर्ने स्टोरका सञ्चालक पारसप्रसाद जैसवालले कर छली स्वीकारेका हुन् । जैसवालले महानगरलाई पत्र लेख्दै नियमानुसार जरिवाना बुझाउन तयार भएको बताएका छन् । ‘के कति दण्ड जरिवाना लाग्छ । महानगरको नियमानुसार जरिवाना बुझाउन तयार छु । अब आइन्दा यस्तो गल्ती गर्ने छैन,’ उनले पत्रमा उल्लेख गरेका छन् ।

गत भदौ २२ गते ना८ख ८७५५ नम्बरबो ट्रकबाट कवाडी निकासी गर्ने क्रममा पुरानै बिलमा टिपेक्स लगाई फोटोकपी गरेर नयाँ मिति कायम गरेको खुलेको छ । कास्की र तनहुँको सीमामा चेकजाँच गर्दा प्रहरीले शंकास्पद भेटेपछि गाडी नियन्त्रणमा लिई रसिद प्रमाणित गर्न महानगरमा पठाएको थियो । राजस्व शाखाले रसिद भेरीफाइ गर्दा फर्जी भएको प्रमाणित गरिसेकेको छ । जैसवालले उक्त रसिदबाट महानगरलाई २७ हजार २ सय ८० रुपैयाँ राजस्व छलेका छन् ।

घटनामाथि कानुनअनुसार अघि बढ्न राजस्वले कानुन महाशाखासँग पहिलो चरणमै राय माग गरिसकेको छ । महाशाखाले ‘घटनामाथि अनुसन्धान गरी मुद्दा अघि बढाउन मिल्ने’ राय दिइसकेको छ । राजस्व शाखाले भने कवाडी स्टोरले एउटामात्र नभई अन्य रसिदबाट पनि कर छलेको शंकामा छानबिन थालेको छ । राजस्वका १ कर्मचारीका अनुसार स्टोरले अहिलेसम्म प्रयोग गरेका भ्याट बिलको संकलन भइरहेको छ । भ्याट बिल काट्ने तर महानगरको राजस्व नकाटेको भेटिन सक्ने शंकामा अन्य प्रमाण जुटाइरहेको उनको भनाइ छ ।

Advertisement

महानगरको कवाडी निकासी सम्बन्धी ठेक्का गत चैतबाट सकिएपछि पुनः सुरु हुन सकेको छैन । महानगरका तर्फबाट डाँडाकोनाकमा २ जना कर्मचारी खटाएर राजस्व संकलन सुरु गरिएको थियो । चालु आवदेखि कवाडी ठेक्का लगाउने प्रक्रिया थालिए पनि अन्तिममा शुभ जगदम्बा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङसँग सम्झौता हुन नसक्दा अघि बढ्न सकेन ।

सम्झौता नहुँदा आफूलाई आर्थिक क्षति पुगेको भन्दै जगदम्बाले उच्च अदालत पोखरामा रिट हालेको थियो । कवाडी सम्बन्धी थप कुनै पनि प्रक्रिया अघि नबढाउन अदालतको आदेश छ । मुद्दा विचाराधीन भएकै कारण महानगरले कवाडी ठेक्का अघि बढाउन पाएको छैन ।

नक्कली रसिद बनाएर कवाडी निकासी, महानगरलाई लाखौं घाटा

तपाईको प्रतिक्रिया