तनहुँ हाइड्रोको प्रसारण लाइन निर्माण सुरु, ८ हजार रूख काट्नुपर्ने

समाधान संवाददाता २०७७ असोज ४ गते १५:११

समाधान संवाददाता
दमौली, ४ असोज

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सुरु भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो ।

प्रसारण लाइन निर्माणका लागि सुरुको टावरको जग खनेर कार्य सुरुआत गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । सो कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।

Advertisement

‘प्रसारण लाइन निर्माणका लागि सुरुको टावरको जग खनेका छाँै, अब कामलाई तीव्रता दिन्छौँ,’ घिमिरेले भने । उनका अनुसार प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनको काम केही अगाडि नै सुरु गर्ने लक्ष्य राखिएको भए पनि कोभिड–१९ को प्रभावका कारण काममा ढिलाइ भएको घिमिरेले जानकारी दिए ।

प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । घिमिरेका अनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक टावरहरु भारतीय सिमानामा आइसकेको छ । हिउँदको समय शुरु भएकाले काम गर्न सहज हुने विश्वास लिइएको घिमिरेले जानकारी दिए ।

Advertisement

प्रसारण लाइन निर्माण गर्दा तनहुँमा मात्रै ७ हजार ९२३ वटा रूख काट्नुपर्ने र चितवनतर्फको भागको पनि अध्ययन भइरहेको घिमिरेले जानकारी दिए । आयोजनाको प्याकेज दुईअन्तर्गतको विद्युत् गृहको पनि काम भइरहेको छ ।

उनका अनुसार ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै पावर हाउसको काम सुरु गरिएको छ । विद्युत् गृह निर्माणका लागि १८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो ।

आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्यांकनको काम भइरहेको आयोजनाले जनाएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एन्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र बर्खायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।

१४० मेगावाट क्षमताको आयोजनाको लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्ने छ ।

तपाईको प्रतिक्रिया