फोहोरमुक्त आर्बा बनाउने प्रतिबद्धता

समाधान संवाददाता २०७७ असोज ५ गते ९:१६

समाधान संवाददाता, पोखरा

फोहोरमुक्त आर्बा बनाउन आर्बालीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा १३ आर्बामा शनिबार आयोजना गरिएको कार्यक्रमा स्थानीयले सामूहिक रुपमा उक्त प्रतिबद्धता गरेका हुन् ।

७ वटा टोल विकास संस्थाले प्रतिवद्धता व्यक्त गरेका थिए । पोखरा महानगरपालिका वडानं १३का अध्यक्ष दर्शन लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ती टोल विकास संस्थाभित्र कहीं कतै जथाभावी फोहोर फाल्न सख्त मनाहीको घोषणा गरियो ।

Advertisement

फोहोरबाट मोहोर कमाउने योजना वडा कार्यालयले ल्याएको छ । सहभागी सबै टोलका प्रतिनिधिले यो योजनालाई साकार पार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष लामाले सुरुबाटै पोखरा महानगर पालिकाको योजना नै सफा पोखरा बनाउने रहेको र सबै वडा फोहोरमुक्त नभएसम्म त्यो सम्भव नभयको बताए ।

उनले पोखरा महानगरपालिकाले महानगर फोहोरमुक्त बनाउन फोहोरको वर्गीकरण गरी घरबाटै अभियान थाल्न आह्वान गरे ।

Advertisement

फोहोरबाट मोहोर कमाउन सकिन्छ भन्दै उनले फोहोरको वर्गीकरण गरेर बिक्री गर्न सकिने अवधारणा पेस गरेका थिए ।कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सकिने र नुहाउने प्लास्टिक जन्य फोहोरबाट नगद कमाउन सकिने प्रक्रियाकाबारे सहभागी लाई जानकारी गराए ।

कार्यक्रममा फोहोर मैलाका क्षेत्रमा विशेष अनुभव संगालेका प्रशिक्षक छवि गौडेलले सहभागीलाई फोहोरमैला सम्बन्धी प्रशिक्षण दिएका थिए । फोहोर व्यवस्थापन तथा सरसफाइको स्तरोन्नतिकरणबाट आर्थिक विकास शीर्षकमा उनले तालिम दिएका थिए ।

कार्यक्रममा आर्बाका मोहरपानी आदर्श टोल विकास संस्था, लक्ष्मी नारायण टोल विकास संस्था,अर्धनारेश्वर टोल विकास संस्था, नवदुर्गा टोल विकाश संस्था, गाईपानी उपल्लागाउँ टोल विकास संस्था, थापाको चौतारा टोल विकास संस्था र अमलाचौर चापडाडा टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा कृषि विषयमा अध्ययनरत विद्यार्थी रोशन बरालले फोहोरबाट प्रांगारिक मल बनाउने प्रक्रियाबारे जानकारी गराएका थिए ।

कार्यक्रमको अध्यक्षता टोल विकास समितिका अध्यक्षहरु मध्येबाट ज्येष्ठ सदस्य टीकाराम बराल र कार्यक्रमको सञ्चालन मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले गरेका थिए ।

तपाईको प्रतिक्रिया