पर्यटन क्षेत्र खुलाउनुको विकल्प छैन

समाधान संवाददाता २०७७ असोज ११ गते ७:००

पृथ्वीसुब्बा गुरुङ
मुख्यमन्त्री, गण्डकी प्रदेश

Advertisement

आज अंग्रेजी महिना सेप्टेम्बरको २७ तारिख अर्थात विश्व पर्यटन दिवस । यस अवसरमा तमाम पर्यटनकर्मी र पर्यटन क्षेत्रमा आवद्ध सबै श्रमजीवीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्रसंघ र विश्वका सबै देशले टुरिजम एन्ड रुरल डेभलपमेन्ट अर्थात् पर्यटन र ग्रामीण विकास भन्ने नाराका साथ विविध कार्यक्रम गरी पर्यटन दिवस मनाउँदै छन् ।

विगत वर्षमा हामीहरुले पनि हाम्रो प्रदेशमा भ्रमण गर्न आउनु हुने स्वदेशी तथा विदेशी पर्यटकलाई विविध कार्यक्रमको आयोजना गरी आतिथ्यता प्रदान गर्दै आएका थियौं ।

हामीले पहिले झैं यस वर्ष विश्व पर्यटन दिवस मनाउन सकेका छैनौं । पर्यटकलाई फूलको गुच्छा दिएर, खादा र माला लगाएर स्वागत गर्ने मौका हामीसँग छैन । हामी सबैलाई थाहा छ, यतिबेला विश्वभर कोरोना भाइरस रोग कोभिड १९ को महामारी छ र त्यसबाट जोगिन सार्वजनिक कार्यक्रम आयोजना हुन सकेका छैनन् ।

Advertisement

कोभिड १९ को महामारीले गर्दा पर्यटन व्यवसाय एउटा कठिन परिस्थितिमा पुगेको छ । होटेल र रेस्टुरेन्ट व्यवसाय ठप्प प्राय छन् । तर आशा र भरोसा कायम राख्दै सुनौलो भविष्यका लागि कर्म गर्ने गरी आजको यो दिवसको अवसरलाई सदुपयोग गर्नु उपयुक्त हुन्छ भन्ने मेरो विश्वास छ ।

थुप्रै प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइले आफ्नो जागिर गुमाउनुपरेको छ, आम्दानीका स्रोत बन्द भएका छन् । मानव सभ्यतामा अनेकखाले विपत्ति थुप्रैपटक आए र मानव जातिले विपत्तिको डटेर सामान गरेको छ । यसरी नै मानव सभ्यता यहाँसम्म आइपुगेको हो । त्यसैले विपत्तिसँग लड्ने हिम्मत बढाउनै पर्छ ।

विपत्तिका बीच जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै गण्डकी प्रदेश सरकारले आर्थिक गतिविधि चलायमान बनाउन पनि कुनै कसर बाँकी नराखेको सर्वविदित कुरा फेरि यहाँ दोहो¥याउनु बाञ्छनीय ठान्दछु ।

कोभिड १९ ले गर्दा कोमामा पुगेको पर्यटन व्यवसायलाई कसरी बचाउने र पहिलाको भन्दा अझ राम्रो अर्थात बिल्ड ब्याक बेटर टुरिजमको अवस्थामा कसरी पु¥याउने आज हामी सबैका लागि चुनौती छ ।
त्यसमा पनि हामी गण्डकी प्रदेशबासीका लागि यो चुनौती अझ बढी पेचिलो र मर्मस्पर्शी छ ।

यस्तो असजिलो परिस्थितिमा टिममा काम गर्नुपर्ने हुन्छ ।

सरकार, निजी क्षेत्र र नागरिक समाज एक भएर होस्टेमा हैंसेका साथ काम ग¥यौं भने कोभिड १९ लाई पराजित मात्र होइन कि पर्यटन व्यवसायलाई पहिलाको भन्दा अझ राम्रो अवस्थामा सजिलै पु¥याउन सक्दछौं । तर त्यसका लागि हामीहरु बीचमा सहनशीलता, धैर्य, सहकार्य र आत्मानुशासनको जरुरी आवश्यक पर्दछ ।

कोभिड १९ ले पार्न सक्ने सम्भावित असर र प्रभावलाई पूर्वानुमान गरेर नै गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत ‘इन्टरप्राइजेज सर्भाइबल फन्ड’ अर्थात व्यवसाय सुरक्षा कोष व्यवस्था गरेको छ ।

यो कोषलाई राम्रोसँग परिचालन गर्न सक्यौं भने एक हदसम्म पर्यटन, कृषि, यातायात, उद्योग र सेवा व्यवसायीलाई राहत पुग्ने छ भन्ने मलाई पूर्ण विश्वास छ ।

त्यसैगरी प्रदेश सरकारले प्रत्येक स्थानीय तह र जिल्लालाई समेट्ने गरी सांस्कृतिक र प्राकृतिक गन्तव्यस्थलको पहिचान गरी ती गन्तव्य स्थलको ग्रामीण पूर्वाधार विकासका लागि काम थालनी समेत गरिसकेको छ ।

कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई उठाउन स्वदेशी पर्यटनको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन, त्यसका लागि होमस्टेलाई ‘स्टेपिङ स्टोन’को रुपमा विकास व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कोभिड १९ को चुनौतीलाई पर्यटन पूर्वाधार विकास गर्ने अवसरको रुपमा उपयोग गर्न सम्पूर्ण पर्यटन व्यवसायीलाई म हार्दिक अनुरोध गर्दछु । अहिलेको असजिलो समयलाई पूर्वाधारको विकासको अवसरको रुपमा लिन सक्यौं भने हाम्रो पर्यटन व्यवसायलाई आउँदा दिनमा थप उच्चाइमा पु¥याउन सकिन्छ ।

यही भएर नै संयुक्त राष्ट्रसंघले यो वर्षको नारा टुरिजम एन्ड रुरल डेभलपमेन्ट अर्थात् पर्यटन र ग्रामीण विकास राखेको छ र स्वदेशी पर्यटनलाई प्रथामिकता दिएको छ ।

सामुदायिक अर्थात ग्रामीण विकास मार्फत प्रकृतिको संरक्षण गरी दिगो पर्यटन व्यवसायको प्रवर्धनका लागि त्यसै पनि नेपाल अग्रणी मुलुक मानिन्छ र अन्नपूर्ण र मनाश्लु संरक्षण क्षेत्र यसका प्रमाण हुन्, नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई पनि अतुलनीय उदाहरणको रुपमा लिन सक्छौं ।

गण्डकी प्रदेशमा पर्यटनको अथाह सम्भावना छ । त्यसैले गण्डकी सरकारका हरेक नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा पर्यटन नै पर्दै आएको हो । हामी स्वदेशीसँगै दुई छिमेकी मुलुक भारत र चीन पर्यटक लक्षित कार्यक्रममा केन्द्रित हुनुपर्छ । छिमेकीका विशाल जनसंख्या स्रोतलाई सदुपयोग गर्नुपर्छ ।

पर्यटन उद्योगको पुनरुत्थानले नै कोभिडबाट शिथिल अर्थतन्त्रलाई तंग्रिलो बनाउन सक्छ । किनभने पर्यटनका लागि आधारभूत पूर्वाधार र आवश्यकता हामीसँग पहिल्यै छन् । स्वास्थ्य सुरक्षा र सावधानी अपनाउँदै र मापदण्ड पालना गर्दै अघि बढ्न सकिन्छ ।

जसरी पूर्वी एसियाली मुलुकहरुमा स्वास्थ्य मापदण्ड पूरा गर्दै पर्यटन व्यवसायलाई फेरि चालु गरिएको छ, हामीले पनि सतर्कतापूर्वक त्यसो नगरी हुँदैन । पर्यटन क्षेत्र खुलाउनुको विकल्प हामीसँग छैन, तर सतर्कचाहिँ हुनैपर्छ ।

धेरैभन्दा धेरै विदेशीलाई नै डाक्ने लक्ष्य राखेर तत्काललाई चाहिँ स्वदेशी पाहुना लक्षित कार्यक्रम ल्याउनुपर्छ भन्ने म ठान्दछु । स्थानीय पर्यटकबाट सुरु गरी स्वदेशी हुँदै विदेशीसम्मको लक्ष्यमा हामी पुग्नुपर्छ । त्यही नै उत्तम बाटो हुन सक्छ ।

अन्त्यमा, पुनः एकपटक सम्पूर्ण प्रदेशवासी दिदीबहिनी र दाजुभाइहरु, सम्पूर्ण पर्यटन व्यवसायीहरु, एयरलाइन्स, ट्राभल एजेन्सी, बस, ट्याक्सी, होटेल र रेस्टुरेन्ट व्यवसायी तथा मनी चेन्जर, पदयात्री, र पथप्रदर्शक दिदीबहिनी दाजुभाइहरुलाई स्वास्थ्य मन्त्रालयले निर्देशित गरेका मापदण्डलाई पूर्णपालना गर्दै पर्यटन व्यवसायलाई जीवन्त राख्नका लागि हार्दिक अनुरोध गर्दछु र पर्यटन दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

(विश्व पर्यटन दिवसको उपलक्ष्यमा मुख्यमन्त्री गुरुङले दिएको सन्देश)

तपाईको प्रतिक्रिया