बिचरा ती चरा !

ठूला चरा करेन्ट लाग्नाले र साना प्रजातिका चरा सिसामा ठोक्किएर, किटनाशकको सेवनले मर्ने गरेका छन् ।
अनिष भट्टराई ,पोखरा
घडीमा ११ बज्दै थियो । पोखरा ५ पस्र्याङकी कञ्चन थापा छोरालाई अनलाइन कक्षा पढाउने सुरसार गर्दै थिइन् ।
३ कक्षामा पढ्ने कान्छा छोरालाई अनलाइन कक्षाका लागि तयार गर्दै गर्दा ठूला छोराको आवाज उनको कानमा प¥यो ।
छोरा ममी ममी भन्दै उनलाई डाक्दै थिए । कञ्चन कोठाबाहिर निस्किइन् । बाहिर निस्किएर हेर्दा घरको बरान्डामा चराहरु ढलेको अवस्थामा थिए ।
उनले ती चराहरुको छेउछाउमा हेर्दा अरु चराहरुपनि सोही अवस्थामा भेटिए ।
‘छोराले बोलाएर म बाहिर निस्किएँ । त्यहाँ १३ वटा चरा ढलिरहेका थिए । तीमध्ये ११ मृत थिए,’ उनले सुनाइन्, ‘यसअघि यस्तो घटना देखेको थिइनँ ।’
११ वटा मृत चरा छरिएका थिए । अरु २ जीवितै देखेपछि कञ्चनले पानी खुवाइन् ।
पानी खाएको १० मिनेटमा चरा उडेर गए । कञ्चन आश्चर्यमा परिन् । उनले तत्कालै ती चराको फोटो खिचिन् । फोटोलाई आफ्नो फेसबुकमा पोस्ट गरिन् । उनलाई ती चराको बारेमा केही जानकारी थिएन ।
कञ्चनको पोस्ट देखेपछि पन्छी संरक्षण संघ, कास्कीका अध्यक्ष मनशान्त घिमिरेले फोन गरे ।
घिमिरेले नै उक्त चराको नाम चित्रकूट रहेको बताइदिए । फोनमा मनशान्तले ती चराको अवस्था, घर छेउछाउका संरचनाबारे आफ्नो जिज्ञासा राखे ।
कञ्चनले केही चराले फिँज निकालेको र घर नजिकैको अर्को घरमा सिसाको झ्याल रहेको जवाफ फर्काइन् ।
‘मैले कञ्चनसँग चराको अवस्था र घरको संरचनाबारे सोधेँ । उनको जवाफ अनुसार चराहरु किटनाशक औषधीको सेवन वा सिसामा ठोक्किएकाले त्यस्तो भएको हुनसक्छ,’ मनशान्तले भने ।
सहरमा उड्ने धेरै चरामध्ये काग, गिद्ध जस्ता ठूला चरा बिजुलीको तारमा करेन्ट लागेर मर्ने तर साना प्रजातिका चरा सिसामा ठोक्किएर, किटनाशकको सेवन गरेर मर्ने गरेको मनशान्तले जानकारी दिए ।
घरमा कालो वा नीलो रङको सिसा प्रयोग गर्न मनशान्त सुझाउँछन् ।
डिभिजन वन कार्यालय, कास्कीका प्रमुख केदार बराल भने चराको एक समूह एकैसाथ उड्दै आउँदा बिजुलीको तारमा ठोकिएर सो घटना भएको हुनसक्ने बताउँछन् ।
चराहरु कार्यालयमा लगेर हेर्दा सबै चराको घाँटीमा केही भाग डडेको देखिएको बरालले जानकारी दिए ।
‘चराहरुलाई हामीले कार्यालयमा ल्याएर हे¥यौँ,’ बरालले भने,‘सबै चराको घाँटीको पछाडिको भागमा डडेको देख्यौँ । करेन्ट लागेर त्यस्तो भएको हुनसक्छ ।’
बाँचेका २ चरा उड्दै आउँदा पुच्छरले तारमा छोएर घाइतेमात्रै भएको बरालको अनुमान छ । अरु चराको अगाडिको भागले छोएको र २ चराको पुच्छरले मात्रै तार छोएकाले बाँचेको उनले लख काटे ।
‘ती २ चराको अगाडिको भाग तारमा नपरेकाले बाँचेको हुनसक्छ । अगाडिको भाग तारमा परेको केही क्षणमै चराको मृत्यु हुन्छ,’ बरालले थपे ।
चित्रकूट हिमाली भेगको रैथाने चरा हो । बरालका अनुसार हिमालमा चिसो बढ्दै गएपछि चित्रकूटको हुल पोखरा आउँछ ।
कास्कीको पञ्चासे, रुपा जस्ता ठाउँ हिमाली भेगबाट बसाइँ सराइ गरेर आउने चराका लागि उपयुक्त हुन्छन् । समूहमा उड्दा अचानक बिजुलीको तारमा परेर चराको मृत्यु भएको बरालले जनाए ।
सिमसार क्षेत्रमा चराको संख्या घट्दै
पन्छी संरक्षण संघ, कास्कीका अध्यक्ष मनशान्त घिमिरेले कास्कीका सिमसार क्षेत्रमा रैथाने चराको संख्या घटिरहेको बताउँछन् ।
सिमसार क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा त्यस्ता ठाउँका चराको संख्या घटिरहेको मनशान्तले जनाए ।
‘सिमसार क्षेत्रका चराको संख्या केही घट्दो छ, त्यस्ता चराको संरक्षण हुनुपर्छ,’ उनले सुनाए ।
समष्टिगत रुपमा कास्कीमा चरा संरक्षणप्रति मानिसहरु सचेत बनेको मनशान्तले बताए ।
विद्यार्थीमा चराप्रतिको मोह बढेको र चराको फोटोग्राफीमा रुचि बढेको उनी बताउँछन् । सामाजिक सञ्जालले गर्दा चरासम्बन्धी मानिसमा चेतना बढेको उनको तर्क छ ।
तपाईको प्रतिक्रिया