पोखरा-जोमसोम उडान सञ्चालन गर्न पहल

समाधान संवाददाता २०७७ असोज १४ गते ११:३९

एसके थकाली, जोमसोम

कोभिड—१९ का कारण ७ महिनादेखि स्थगित पोखरा—जोमसोम हवाई सेवा पुनः सञ्चालन गर्न पहल थालिएको छ ।

मुस्ताङका प्रतिनिधि सभाका सदस्य प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेशसभाका सदस्य ईन्द्रधारा बिष्टसहितको टोलीले हवाई सेवा सुरुआतका लागि तारा एयरलाइन्स र समिट एयरलाइन्सका प्रतिनिधिसँग छलफल गरी प्रस्ताव बुझाएका छन् ।

Advertisement

नेपाल सरकारले असोज १ गतेदेखि देशभर आन्तरिक हवाई उडान तथा लामो दुरीको यातायात सञ्चालन गर्न सक्ने निर्णय गरेता पनि पोखरा—जोमसोम हवाई उडान अझै सञ्चालनमा आउन सकेको छैन ।

प्रतिनिधिसभाका सदस्य तुलाचनले स्थानीय जनताको सुविधाको लागि पोखरा—जोमसोम हवाई सेवा संञ्चालन गर्न आवश्यक भएको बताए ।

Advertisement

हवाई सेवा नहुँदा मुस्ताङका जनताहरु स्वास्थ्य उपचार र अति आवश्यक कामका लागि काठमाडौं पोखरा आवतजावतमा कठिन भएको उल्लेख गर्दै उनले हवाई सेवा खुलेपछि मुक्तिनाथ जाने धार्मिक पर्यटकलाई समेत सहज हुने धारणा राखे ।

उनले दिनको एउटा भएपनि काठमाडाैँ जोमसोम र जोमसोम पोखरा काठमाडौं उडान भर्न निजी वायुसेवा कम्पनीलाई प्रस्ताव बुझाएको उल्लेख गरे ।

गण्डकी प्रदेशसभा सदस्य बिष्टले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर हवाई सेवा सञ्चालन गर्नुको विकल्प नरहेको बताए । अहिलेको अवस्थामा कोरोना कहरसँग लड्दै विस्तार व्यवसाय सञ्चालनमा ल्याउन आवश्यक भएको बताए ।

तारा एयर पोखराका प्रमुख राम लामिछानेले हवाई सञ्चालन गर्ने वा नगर्ने निर्णय कम्पनीको जवाफ आएपछि मात्र भन्न मिल्ने बताए ।

‘मुस्ताङका जनप्रतिनिधिहरु हवाई उडानलाई निरन्तरता दिन प्रस्ताव लिएर आउनु भएको छ,’ उनले भने, ‘हवाई कम्पनीले औपचारिक निर्णय गरे हवाई सेवा सञ्चालन गरिने छ ।’

बाढी पहिरो, नदी कटानका कारण बेनी—जोमसोम सडक अवरुद्ध छ । हवाई सेवासमेत ठप्प हुुँदा मुस्ताङका जनतालाई पोखरा काठमाडांै आवतजावतमा कठिन भएको छ । समिट एयरका पोखरा प्रमुख पोषण त्रिपाठीले हवाई सेवालाई विस्तारै निरन्तरता दिने प्रतिबद्धता जनाए ।

मुस्ताङका होटल खुलेनन्

कोरोना कहरको कारण लामो समयदेखि बन्द मुस्ताङका होटल अझै खुलेका छैनन् । ५ गाउँपालिकाले निर्णय गर्न नसक्दा होटल खोल्न नसकेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए ।

जिल्ला समन्वय समिति मुस्ताङले सबै पालिकालाई होटल खोल्ने र नखोल्ने अवस्थाको निर्णय पठाउन परिपत्र गरेता पनि पालिकाहरुले कुनै निर्णय गरेका छैनन् । दसैँ तिहारको समयमा पर्यटक आउन सक्ने भएकाले आवश्यक तयारी गर्न पालिकाहरुलाई अनुरोघ गरे पनि कुनै पनि निर्णय गर्न नसकेको जिल्ला समन्वय समितिले जनाएको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ का स्थानीयले अहिलेको अवस्थामा होटल खोल्न नहुने सुझाव दिएका छन् । मुक्तिनाथ रानीपौवा गाउँ समाजसहितको टोली पुरै होटल खोल्न नहुने प्रस्ताव लिएर पालिकामा डेलिगेसनसमेत गएको छ ।

कोरोना संक्रमण बढेको र अबको २ महिनापछि अफसिजन सुरु हुने भएकाले क्षणिक समयका लागि होटल खोल्नुको अर्थ नभएको पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए ।

कागबेनी गाँउ समाजले बैठक बसेर आवश्यक सुरक्षा मापदण्ड अपनाएर होटल खोल्न सहमत भएको गाउँपालिकाका सूचना अधिकारी सूर्य तिमिल्सिनाले बताए ।

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा होटल एसोसियसनका अध्यक्ष खगेन्द्र तुलाचनले होटल खोल्ने या नखोल्ने विषयमा व्यवसायीहरुको बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिए ।

कोभिड १९को कारण व्यवसाय संकटमा परेको उल्लेख गर्दै उनले मुस्ताङ आउने पर्यटकलाई ४८ घण्टे पिसिआर रिपोर्टका आधारमा राख्न सकिने बताए ।

तपाईको प्रतिक्रिया