अपांगता भएका र एकल महिलाकाे सामाजिक सुरक्षा भत्ता नरोक्न आग्रह

समाधान संवाददाता २०७७ असोज १५ गते ७:२२

पोखरा, १४ असोज

अति असक्त अपांगता भएका र ६० वर्ष उमेर नपुगेका एकल महिला (विधवा) ले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरेको प्रति सर्वत्र विरोध भएको छ ।

सरकारले सामाजिक सुरक्षा ऐन नै नयाँ ल्याएर उक्त भत्ता कटौती गरे पनि प्रधानमन्त्रीको निर्देशामा केही पनि उपलब्ध गराइएको थियो । तर उक्त ऐन कार्यान्वयन गर्न बनेको नियमावलीमा समेत ऐनकै प्रावधानले निरन्तरता पाएपछि देशव्यापी रुपमा विरोध भएको हो ।

Advertisement

गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा विशेष समय लिएर नेकपा सांसद मीना गुरुङले कोरोना कहरका बेला मानसिक दबाबमा परेकै बेला भत्ता कटौतीले अपांगता भएका र एकल महिलाहरु थप पीडामा परेको बताइन् ।

उनले भनिन्, ‘कोरोनाको प्रभावका बेला महिलाहरु थप समस्यामा परेका छन् । यसमा सरकारको ध्यान जान जरुरी छ ।’ यतिबेला अति नै पीडामा परेका नेपाली बालबालिका र महिला दिदी बहिनी बचाउन प्रदेश सरकारले नीति निर्माण गर्न उनले सुझाव दिइन् ।

Advertisement

कांग्रेस सांसद प्रकाशचन्द्र दवाडीले अविरल वर्षाका कारण धेरै ठाउँमा विचल्ली भए पनि प्रदेश सरकारले चासो नदेखाएको बताए । उनले भने, ‘बस्ने ठाउँ नभएर मानिसहरु दुख पाएका छन्, गोरखाका धेरै ठाउँमा पहिरोको समस्या छ ।’

गोरखाको १२ किलो वारपाक सडक असाध्यै जीर्ण भएको सातदोबाटो–पालुङटार सडकमा पनि गाडी चल्न नसकेको उनले बताए । सत्तामा बस्नेहरुले मिठो कुरा गरेर मात्र नहुने भन्दै जनताले अनुभूति गर्ने गरी काम हुनुपर्ने भनाइ राखे । उनले भने, ‘कुर्सी जोगाउने मात्र नभएर जनताका मर्का बुझ्नु जरुरी छ ।’

नेकपा सांसद मनबहादुर गुरुङले चाडपर्वमा गाउँ जानुपर्ने भएकाले कोरोनाको जोखिम बढ्ने बताए । उनले यसका लागि कसरी व्यवस्थापन गर्ने हो सरकारले चासो दिन आग्रह गरे ।

कांग्रेस सांसद मनकुमारी गुरुङले कोरोनाको महामारीसँगै बाढीपहिरोले धेरै नागरिकलाई आक्रान्त पारेको बताइन् । बाढी पहिरोले गोरर्खाका धेरै बस्ती जोखिममा परेको बाटोघाटो पनि छियाछिया परेकाले भूगर्भविदलाई खटाएर अध्ययन गर्न आग्रह गरिन् ।

दसैं तिहार नजिकिएकाले छिटो बाटो मर्मत गरी सहज पार्न उनले सरकारको ध्यानाकर्षण गराइन् ।

प्रदेश मातहत गरेका योजना विगतमा जस्तो अलपत्र नपर्ने गरी यो वर्ष तत्काल प्रक्रिया सुरु गर्न, सडक पिच गर्ने जनशक्ति भारतबाट ल्याउनुपर्ने भएकाले प्रक्रिया पु¥याएर ल्याउन उनले सुझाव दिइन् ।

बुढीगण्डकी जलासय निर्माण गर्दा गोरखा र धादिङका ६० वटा सामुदायिक वन डुबानमा पर्ने भन्दै उनले त्यहाँका बासिन्दा मर्कामा परेकाले तत्काल वैकल्पिक व्यवस्था गर्न आग्रह गरिन् ।

जनमोर्चाका सांसद कृष्ण थापाले प्रदेश र संघको योजना सपन्न गर्न आन्तरिक संयोजन कसरी भइरहेको छ भनेर प्रश्न गरे । कालिगण्डकी करिडोरको मालढुंगा पूर्तिघाट राम्दी निर्माणमा ख्याल पु¥याउन पोहोर नै माग गरे पनि त्यसको पालना नहुँदा अहिले ठूलो क्षति पुगेको उनले बताए ।

बागलुङको जैमिनीमा पुल निर्माण सुरु भएको ४ वर्षसम्म पनि पूरा नभएको र असाध्यै महत्वको त्यो पुलमा ठेकेदारको लापरबाही भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया