गण्डकी विश्वविद्यालयका भिसी प्राडा देवकोटाले लिए सपथ

समाधान संवाददाता २०७७ असोज १६ गते १७:१४

समाधान संवाददाता, पोखरा

प्राडा नवराज देवकोटाले गण्डकी विश्वविद्यालय (जियु)को उपकुलपति (भिसी) को सपथ लिएका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देवकोटालाई सपथ दिलाएका हुन् । देवकोटाले नियुक्ति पत्रसमेत शुक्रबार बिहान बुझेका छन् ।

मुख्यमन्त्री गुरुङले गण्डकी विश्वविद्यालयमा भिसी प्राज्ञिक प्रमुख हुने र कुलपति (चान्सलर) चाहिँ कार्यकारी हुने व्यवस्था रहेको बताए ।

Advertisement

उनले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनकै लागि आफू कुलपति नबसेको जनाए । उनले गण्डकी विश्वविद्यालयलाई देशकै नमुना बनाउनुपर्ने खाँचो औंल्याए ।

‘पहिलोपटकमात्रै कुलपति र उपकुलपति हामीले नियुक्त गरेका छौं, अब न्यासिक परिषदले नै नियुक्त गर्नेछ,’ उनले भने । न्यासिक परिषदका एक तिहाई सदस्य हरेक २ वर्षमा बदलिने जानकारी उनले दिए ।

Advertisement

विश्वविद्यालय प्राज्ञिक व्यक्तिहरुबाट स्वायक्त रुपमा चल्नुपर्ने धारणा उनले राखे । ‘पहिलापहिला राजा महाराजा कुलपति बन्थे, त्यसपछि चाहिँ अहिले सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति, तर गण्डकी विश्वविद्यालयमा मुख्यमन्त्री कुलपति बन्दैन, यो मुख्यमन्त्री कुलपति हुन विश्वविद्यालय खोल्ने होइन, कुलपति हाम्रै मुलुकको धेरै वर्ष प्राध्यापन गर्नुभएका, कुनै न कुनै विषयमा रिसर्च गर्नुभएका व्यक्ति हुनुपर्छ,’ उनले भने ।

विश्वविद्यालय राजनीतिक भागबन्डाको थलो बनाइँदा योग्य मान्छेहरु अपमानित भएको विचार मुख्यमन्त्रीले व्यक्त गरे ।

‘हाम्रो युनिभर्सिटीहरुलाई राजनीतिबाट त भन्न नसकिएला, किन कि सबै ठाउँमा राजनीति हुन्छ, युनिभर्सिटी चलाउने कुरै राजनीति हो, सरकार गठन गर्ने कुरै राजनीति हो, बाटो बनाउने कुरा राजनीति हो, तर पार्टीकरण हुनुभएन,’ उनले भने, ‘राजनीति गर्ने हो तर राजनीतिकरण गर्ने होइन ।’

मुख्यमन्त्री गुरुङले गण्डकी विश्वविद्यालय योग्य मानव संसाधन उत्पादन गर्ने विश्वविद्यालय हुनुपर्ने खाँचो औल्याए । विश्वविद्यालय अनुसन्धानमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।

‘हाम्रो नेपालको सुन्तलामा के के रोग लाग्यो, लमजुङको सुन्तला सखाप भयो, गोरखाको सखाप भयो, त्यसको अनुसन्धान हुनुपर्‍यो,’ उनले भने, ‘हाम्रो नेपाली कोदोको रक्सी ब्रान्डिङ गर्नुपर्‍यो, बजारीकरण गर्नुपर्‍यो, त्यो पनि रिसर्चको कुरा होला नि । हामीले रिसर्च गर्नुपर्ने धेरै कुरा छ, विश्वविद्यालयले त्यसैमा ध्यान दिने हो ।’

गण्डकी प्रदेश सामाजिक विकासमा अगाडि भए पनि यहाँका बालबच्चा होचा पुड्का हुने गरेको पनि उनले सुनाए ।

‘जहाँ खानाको अभाव छैन, तर हाम्रा बच्चाहरु अरु प्रदेशका बच्चाभन्दा पुड्का छन्, अन्डरवेट छ किन ? केही न केही कारण होला, त्यो रिसर्च हुनुपर्‍यो,’ मुख्यमन्त्री गुरुङले भने ।

गण्डकी प्रदेशभर १४६ वटा कलेज रहेको र तीमध्ये आधामा शिक्षा संकायमा पढाइ भइरहेको जानकारी मुख्यमन्त्री गुरुङले दिए ।

‘१५ प्रतिशतमा मात्रै विज्ञान छ । हामीलाई प्राविधिक जनशक्ति चाहिएको छ । गण्डकी विश्वविद्यालयले प्राविधिक शिक्षालाई जोड दिनेछ । आधारभूत तहका जनताका छोराछोरीको पनि प्राविधिक शिक्षामा पहुँच हुनुपर्छ ,’ उनले भने ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले विश्वविद्यालय स्थापना गर्न खोज्दा धेरै प्रश्नहरु आएको सुनाइन् ।

उनले भनिन्, ‘अहिले विश्वविद्यालयहरु अनुसन्धानको क्षेत्रमा काम गरिरहेका छैनन्, प्राविधिक शिक्षातिर परिलक्षित छैनन्, गण्डकी प्रदेशलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी गण्डकी विश्वविद्यालय स्थापना गरेका छौं ।’

गण्डकी विश्वविद्यालय अनुसन्धानमा केन्द्रित हुने पनि उनले बताइन् ।

कुलपति प्राडा गणेशमान गुरुङले एक्लैभन्दा सामूहिक रुपमा काम गर्दा सफलता मिल्ने विश्वास व्यक्र गरे । उपकुलति प्राडा देवकोटाले आफ्नो ब्रह्मले देखे जानेअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकी विश्वविद्यालय ऐन, २०७६ अनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा २३ सदस्यीय न्यासिक परिषद् रहन्छ । परिषद् सदस्यमा कुलपति, प्रदेश सचिव, प्राज्ञिक, समाजसेवी, दाता, उद्योगी, व्यवसायी, बढीमा ५ जना गैरआवासीय नेपालीसमेत रहनेछन् ।

कुलपतिले अध्यक्षता गर्ने परिषद्को बैठकले सदस्यमध्येबाट अध्यक्ष चयन गर्नेछ । पदाधिकारीमा अध्यक्ष, कुलपति, उपकुलपति, रजिस्ट्रार र डिन रहने व्यवस्था छ । विश्वविद्यालयको कार्यकारी परिषद्को संयोजकमा कुलपति रहने ऐनमा छ ।

को हुन् देवकोटा ?

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अनुसन्धान तथा प्रसार निर्देशक रहेका प्राडा नवराज देवकोटा गण्डकीको खुला प्रतिस्पर्धात्मक आह्वान अनुसार उपकुलपति चुनिएका हुन् ।

सामाजिक विकास मन्त्री नरदेवी पुन संयोजकत्वको समितिले देवकोटालाई उपकुलपति चुनेको हो ।

न्युजिल्यान्डको न्यासी विश्वविद्यालयबाट चरन विज्ञान सम्बन्धी विषयमा सन् १९९९ मा विद्यावारिधि गरेका उनले थाइल्यान्डको चियाङमाई विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन् ।

त्यहाँ उनले स्वर्णपदक प्राप्त गरेका थिए । २०३८ सालमा कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर चितवनबाट स्नातक देवकोटा त्यतिबेला उत्कृष्ट द्वितीय भएका थिए ।

२०१८ साल भदौ ६ गते गोरखाको छोप्राकमा जन्मिएका उनले अमरज्योति मावि (लुइँटेल स्कुल) पनि पढे । एसएलसी भने मण्डकी मावि छोप्राकबाट दिएका हुन् । हालको सिरानचोक गाउँपालिका ४ छोप्राकका उनीसँग विश्वविद्यालयमा प्राध्यापनको ३४ वर्षे अनुभव छ ।

२०६६ सालमा उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकमा बढुवा भएका थिए । उनले २०६६ मा त्रिविबाट उत्कृष्ट शिक्षकको पुरस्कार प्राप्त गरेका थिए ।

कृषि तथा पशुविज्ञान अध्ययन संस्थानलाई सरकारले २०६७ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रुपान्तरण गरेको थियो । देवकोटा कृषि क्याम्पसबाट २०६९ सालमा उक्त विश्वविद्यालयमा समायोजन भएका थिए ।

गण्डकी विश्वविद्यालय राजनीतिक हस्तक्षेपबाट मुक्त तथा खुला प्रतिस्पर्धाका आधारमा छनोट हुने देखेरै आफू प्रतिस्पर्धामा सहभागी भएको उनले सुनाए । ‘विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने मान्यता राख्छु, गण्डकीमा हुँदैन भन्ने लाग्यो र आएँ,’ उनले भने ।

उनले गण्डकी विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर पूर्ण लागु लगाउन प्रयत्न गर्ने बताए । उनले भने,‘भनेको अवधिमा विद्यार्थी भर्ना हुन्छ, भनेको अवधि पढ्छ, भनेको बेलामा जाँच हुन्छ र भनेकै बेलामा नतिजा निस्कन्छ,’ उनले भने, ‘निश्चित अवधिमा राम्रो र योग्य व्यक्ति विश्वविद्यालयबाट निस्कन्छ ।’

उनले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि पनि गण्डकी विश्वविद्यालयमा आकर्षण गर्न आफ्नो प्रयत्न रहने पनि बताउँछन् ।

तपाईको प्रतिक्रिया