पोखरा प्रज्ञा प्रतिष्ठानमा ११ जना सिफारिस

समाधान संवाददाता २०७७ असोज १८ गते १५:३१

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानका लागि ११ जनाको नाम सिफारिस भएको छ । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले आइतबार ११ जनाको नाम मेयर मानबहादुर जिसीलाई बुझाएको हो ।

सिफारिस समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य छन् ।

Advertisement

समितिले सिफारिस गरेका ११ जनामध्येबाट ८ जना प्रतिष्ठानमा नियुक्त हुनेछन् । ११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ ।

समितिले प्रतिष्ठानका लागि पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्याय गरी ११ जनाको नाम सिफारिस गरेको छ ।

Advertisement

सिफारिस नामहरुबाट मेयर मानबहादुर जिसीले कुलपति, उपकुलपति र परिषद सदस्य एवं सदस्यहरु चयन गर्नेछन् । सिफारिस ११ जना भए पनि ऐनले कुलपति र उपकुलपतिसहित ८ जना सदस्य सम्बन्धित क्षेत्रबाट चुनिने व्यवस्था गरेको छ ।

प्रतिष्ठानको संरक्षक रहने मेयरले सिफारिस ११ मध्ये ८ जनालाई मात्रै चयन गर्नेछन् । सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य रहने व्यवस्था ऐनमा छ । ती ८ जनाबाटै २ जनाचाहिँ कुलपति र उपकुलपति चयन हुने छन् । तिनै ८ जनाबाट अरु २ जना परिषद सदस्य हुनेछन् । ४ जनाचाहिँ सभा सदस्य हुन्छन् ।

प्रमुख प्रशासकीय अधिकृत पदेन सदस्य सचिव रहने व्यवस्था भएकाले महानगर प्रमुख जिसीले कार्यपालिका सदस्य २ जनालाई पनि सदस्यका रुपमा नियुक्त गर्नेछन् । सिफारिस समितिले दिएका नाममध्येबाट कुलपति पदमराज ढकाल र उपकुलपति मेनकाजी गुरुङ चयन हुने सम्भावना छ ।

महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ ।

कुलपतिमा सम्भावित लोकगायक ढकाल राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध छन् । लेखनाथ साहित्य प्रतिष्ठानका उनी पूर्वअध्यक्ष हुन् । उपकुलपतिका प्रत्यासी मेनकाजी गुरुङ हिमाली सांस्कृतिक परिवारका अध्यक्ष हुन् । नृत्यगुरुसमेत रहेका गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

गायन र सारंगी प्रशिक्षणमा सक्रिय धनबहादुर गायकले संकलन गरेको लोकगीत यो नानीको मिरमिरे आँखा…..निकै चर्चित छ ।

सरस्वती श्रेष्ठ सरु कवि हुन् । उनी अत्यन्त्रै क्रियाशील स्रष्टा हुन् । साहित्य सेवामा खटिँदै आएका प्रकाश ज्ञवाली पोखराको सबैभन्दा पुरानाेमध्येको एक साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष छन् । उनको गजल संग्रहको एउटा कृति प्रकाशित छ । मीलन शेरचन चित्रकार हुन् । ललितकलाका अलाबा उनी जापानी चित्रकला हानानो ओसिनावामा पनि पारंगत छिन् । जीवन दाहाल लोकदोहोरी गायक हुन् ।

मोतीबहादुर कार्की नाटकमा सक्रिय छन् । परिवर्तन नाममा क्रियाशील उनकै अगुवाइमा पोखरा गैरापाटनमा गन्धर्व नाटक घर सञ्चालित छ । सुरज उपाध्याय कवि हुन् । उनी बालसाहित्य लेख्छन् । बालसाहित्यमा उपाध्यायका कृति पनि प्रकाशित छन् । कृष्णप्रसाद भण्डारी लोकदोहोरी गाउँछन् । प्रतीक थापा संगीतकार हुन् ।

तपाईको प्रतिक्रिया