व्यवसाय जीवनरक्षा कोष छिटो प्रयोगमा ल्याउन माग

समाधान संवाददाता २०७७ असोज २० गते ८:१७

समाधान संवाददाता, पोखरा

उद्योगी व्यवसायीहरुले मौद्रिक नीतिमार्फत घोषित राहत प्याकेज वास्तविक पीडित व्यवयासीले पाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले कोभिड १९ को कारण मारमा परेका उद्योगी व्यवसायीका लागि लक्षित राहत प्याकेजका लागि बनाइने कार्यविधिलाई सरलीकृत बनाउन आग्रह गरेका छन् ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले राहत प्याकेज वास्तविक पीडितले पाउनुपर्छ भन्ने कुरालाई जोडतोडका साथ राखिरहेको बताए ।

संघले गरेको समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ को आयव्यय सार्वजनिक गर्न सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष अधिकारीले कार्यविधिलाई सरलीकृत गर्ने मागलाई उद्योग वाणिज्य महासंघ र महासंघ गण्डकी प्रदेशमार्फत सरोकारवाला निकायमा लबिङ गरिरहेको जानकारी दिए ।

Advertisement

उनले राहत कोष सही ढंगले कार्यान्वयन भएर व्यवसायीसंग आइ नपुगेको गुनासो गरे ।

‘गण्डकी प्रदेश सरकारले घोषणा गरेको १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष शीघ्र प्रयोगमा ल्याउन माग गरिरहेका छाैँ,’ अध्यक्ष अधिकारीले भने, ‘प्रदेश सरकारको बजेटमा घोषित कार्यक्रम सञ्चालनको लागि अहिलेसम्म कार्यविधि बनेको छैन ।’

मृत्युपछि ओखतीको काम नहुने उल्लेख गर्दै अध्यक्ष अधिकारीले भने, ‘घोषणाका लागि मात्र कोष बनेको हो भने एउटा कुरा, हैन भने उक्त कोष तत्काल कार्यान्वयनमा आउनुपर्छ ।’ अध्यक्ष अधिकारीले ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेकोे दिइयोस् भन्ने निजी क्षेत्रको माग रहेको बताए ।

लकडाउन र निषेधाज्ञा त खुले पनि उद्योग÷व्यवसायले गति लिन नसकेको उल्लेख गर्दै उनले कोभिड–१९ ले सिर्जना गरेको विषतमताकै बीच कतिपय व्यवसायीहरु पलायन भएको जानकारी दिए ।

धेरैजसो व्यवसायीहरु बैंकबाट लिएको कर्जाको सावाँ र ब्याज कसरी बुझाउने भन्ने तनावमा भएको चर्चा गर्दै अध्यक्ष अधिकारीले कतिपय व्यवसायहरु आफै पनि सञ्चालन हुन नसकेको बताए ।

उनले कोभिड १९ को कारण असोजमा हुनुपर्ने पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनको मिति घोषणा हुन नसकेको जानकारी दिए ।

‘नेतृत्व हस्तान्तरण विधिसम्मत प्रक्रियालाई भेला, सभा, सम्मेलन गर्न नपाउने सरकारको निर्णयले रोकेको छ,’ अध्यक्ष अधिकारीले भने, ‘हामी सरकारले सभा सम्मेलनको स्वीकृति दिनासाथ ढिला नगरी महाधिवेशन गर्न तम्तयार छौं ।’

मेलाबाट ९ लाख बचत

पोखरा उद्योग वाणिज्य संघले गए वर्ष गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट ८ लाख ९० हजार ९ सय २१ बचत भएको छ ।

सबै हिसाब फरफारक हुँदा मेलाबाट १२ लाख ४२ हजार २ सय ९३ प्रायोजकबाट प्राप्त हुने रकम टिडिएस ३ लाख ५१ हजार ३सय ७२ कटाउदा त्यति रकम बचत हुने देखिएको हो ।

अध्यक्ष दामु अधिकारीका अनुसारले संघले प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायत स्रोतबाट ८२ लाख ९२ हजार गरी ९८ लाख २३ हजार आम्दानी गरेको थियो । उनले सबै खर्च कटाउँदा बचत रकम कम भएको बताए ।

संघले बचतका लागि मेला आयोजना नगरेको प्रष्ट पार्दै अध्यक्ष अधिकारीले बचत रकम सामाजिक र उद्यमशीलताको विकासमा खर्च गर्ने जनाए ।

उनले कोरोनाका कारण आम्दानीका हिस्सा अझै संघको खातामा नआएको जनाउँदै भुक्तानी पनि फरफारक हुन नसकेको प्रष्ट पारे ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले मेला र महोत्सवको प्रवर्तक संघले कोरोना कहर सकिनासाथ मेलाको आयोजना गर्ने जानकारी दिए ।

कोरोना कहर नसकिएकोले सुरक्षित रहँदै व्यवसाय गर्न उनले व्यवसायीहरुसँग आग्रह गरे ।

संघका महासचिव अर्जुन पोखरेलले लामो इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघ व्यवसायीको हकहितको अलावा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको स्मरण गरे ।

पोखरा उद्योग वाणिज्य संघले २०७६ पुस १८ देखि २८ गतेसम्म आयोजना भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला, २०७६ को आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया