गण्डकीमा आज ९७ संक्रमित थपिए, १ को मृत्यु

समाधान संवाददाता २०७७ असोज २२ गते १९:३२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बिहीबार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा र चितवनमा गरिएको परीक्षणमा ६ जिल्लाका ९७ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा धेरै नवलपुरका ४७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । कास्कीका २४, बागलुङका १२, गोरखाका १०, तनहुँका ३ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

बिहीबार ३ सय ४४ स्वाब परीक्षण गर्दा ९७ जनामा संक्रमिण देखिएको निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकी प्रदेशका ७४ हजार १ सय ५९ स्वाब परीक्षण गरिएको छ ।

बिहीबार थपिएका सहित प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ सय ९८ पुगेको छ । तीमध्ये ३२ सय ११ संक्रमित निको भएका छन् । गण्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङमात्रै संक्रमणमुक्त छ ।

Advertisement

मृतक संख्या ३७ पुग्यो

प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १६ का ८७ वर्षे वृद्धको बिहीबार मृत्यु भएसँगै मृतकको संख्या ३७ पुगेको हो ।

१३ असोजमा कोरोना पुष्टि भएपछि ती वृद्ध केन्द्रको आइसियुमा भर्ना भएका थिए । उनमा कोभिडसँगै मधुमेह, उच्च रक्तचाप र मृगौलासम्बन्धी समस्या रहेको अस्पतालका निर्देशक सह–प्राडा अर्जुन आचार्यले जानकारी दिए ।

वृद्ध कास्कीका एघारौं मृतक हुन् । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १÷१ जना छन् ।

तपाईको प्रतिक्रिया