‘महिलामैत्री बनाऊ समाज’

समाधान संवाददाता २०७७ असोज २३ गते २०:५५

समाधान संवाददाता, पोखरा

पोखराका विभिन्न क्षेत्रका महिलाहरुले समाज महिला मैत्री हुन नसकेका बताएका छन् ।

युनाइट्स नेपालको आयोजना र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको सहकार्यमा पोखरामा आयोजित महिला सशक्तीकरण तथा लैंगिक हिंसा न्यूनीकरण कार्यशाला गोष्ठीमा उनीहरुले महिलामा योग्यता र दक्षता हुँदाहुँदै पनि महिलामैत्री वातावरणको अभावमा अवसरबाट बञ्चित हुनु परेको बताएका हुन् ।

Advertisement

समाज जतिनै विकसित हुँदै गएपनि महिलाप्रतिको सकारात्मक दृष्टिकोणको अभावले अवसरबाट बञ्चित हुँदा निर्णायक तह पुग्न नसकेको उनीहरुको भनाइ थियो ।

साथै, दिन प्रतिदिन महिला तथा बालबालिकामाथि बढ्दो हिंसा र बलात्कारका घटनाले महिालालाई मानसिकरुपमा विक्षिप्त बनाएको अनुभव समेत सुनाएका थिए ।

Advertisement

पोखरा चेम्बर अफ कमर्स कास्कीका उपाध्यक्ष गीता तिवारीले स्कुलका पाठ्यक्रमहरु नै परिमार्जित गरी विभेदरहित शिक्षामा जोड दिनुपर्ने बताइन् ।

उनले महिला पुरुष दुवैको उत्तिकै भूमिका र जिम्मेवारी रहने भएकाले महिला बालबालिकाकाविषयमा साझा धारणाको खाँचो औल्याइन् ।

कार्यक्रममा क्यान कास्कीका अध्यक्ष विश्वास भण्डारीले सचेत नागरिकबाट नै समाज परिवर्तन सम्भव हुने उल्लेख गर्दै हिंसारहित समाजका लागिनतिजामुखी कार्यक्रममा जोड दिनुपर्ने बताए ।

कार्यक्रमका संयोजक एवंक्यान कास्कीका सदस्य सवी गौचन शेरचनले महिलाको आत्मरक्षा र आत्मविश्वासका लागि खेलकुद पनि अपरिहार्य हुँदै गएको चर्चा गर्दै संकुचित मानसिकताबाट माथि उठेर समाज बदल्नु पर्ने कुारमा जोड दिए ।

पित्तृसत्तात्मक सोचले महिलाको अस्तित्वलाई अझै पनि स्वीकार गर्न नसकेको उनको भनाइ थियो ।

उक्त कार्यशालामा युनाइट्स नेपालका अध्यक्ष, खुशल रेग्मी, सदस्य प्रतिमा भट्ट र युएनआइ नेपालका अध्यक्ष शंकर लामिछानेले पहिला सत्रमा महिला सशक्तीकरण र दोस्रो सत्रमा युवा सशक्तीकरणका विषयमा विभिन्न प्रस्तुति राखेर सहजीकरण गरेका थिए ।

कोभिड –१९ को उच्च जोखिमलाई ध्यान दिएर स्वास्थ्य सतर्कताको मापदण्ड पूरा गरी २ सत्रमा ५० जनाको सहभागिता थिए ।

तपाईको प्रतिक्रिया