भिसेरा रिपोर्ट सार्वजनिक गर्न माग गर्दै जोमसोममा प्रर्दशन

समाधान संवाददाता २०७७ असोज २६ गते २०:४७

एसके थकाली, जोमसोम

Advertisement

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ की ८२ वर्षीय मृतक महिलाको शवको चाँडोभन्दा चाँडो भिसेरा रिपोर्ट सार्वजनिक गर्न माग गर्दै जोमसोममा प्रदर्शन गरिएको छ ।

मृतक महिलाका आफन्त तथा स्थानीयले गत साउन २४ गते मुक्तिनाथमा भुटिक गुरुङको शव भेटिएकोबारे छिटोछरितो न्यायिक छानबिन गर्न माग समेत गरेका छन् ।

मुक्तिनाथ पुराङ रानीपौवा, झारकोट, खिंगा र लुप्राका स्थानीयले घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनु पर्ने माग गर्दै प्लेकार्ड ब्यानरसहित जोमसोम बजार परिक्रमा गरेका थिए ।

सुरक्षा निकायले नागरिकको जिउधनको सुरक्षा गर्नुपर्ने लगायतका माग राखेको मुक्तिनाथका स्थानीय छिरिङनर्बु गुरुङले जानकारी दिए ।

Advertisement

प्रहरीले दोषी पत्ता लगाउन तदारुकता नदेखाएको तथा शंकास्पद व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको उनले आरोप लगाए ।

पुराङ रानीपौवाका स्थानीय छिरिङधावा गुरुङले ती महिलाको हत्या हो वा कालगतिले मुत्युको भएको हो भन्नेबारे प्रहरीले टुंगो लगाउनुपर्ने बताए ।

मुक्तिनाथ रानीपौवाका स्थानीयले परम्परागत यार्तुङ पर्व मनाउने क्रममा गत साउन २४ गते ८२ वर्षीया महिलाको शव उनकै घरमा भेटिएको थियो । उनी अन्तिम पटक साउन २१ गते यार्तुङ पर्वको पहिलो दिनपछि गाउँमा देखिएकी थिइन् ।

सोही घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन गत भदौ १६ गते स्थानीयहरु प्रहरी कार्यालयमा डेलिगेसन आएको स्थानीय सुरज गुरुङले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले घटनाको सत्यतथ्य अनुसन्धान भइरहेको स्थानीयलाई जानकारी दिए ।

उनले भिसेरा रिपार्ट आएपछि मात्र वास्तविकता बाहिर आउने उल्लेख गरे । मृतक महिलाको शवको भिसेरा परिक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौ पठाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

तपाईको प्रतिक्रिया