पोखरा महानगरको सुरक्षामा सडक बालक बने चुनौती

समाधान संवाददाता २०७५ फागुन ७ गते ७:४५

सुरेशराज अधिकारी

माघ १० गते बगालेटोलमा १ विवाहमा आएकी बागलुङकी महिलाको घाँटीमा लगाएको सुनको सिक्री, १५ हजार नगद र मोबाइल चोरी भयो । घटनामा संलग्न भएका ५ जना सडक बालकलाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरुबाट प्रहरीले मोबाइलमात्र बरामद गरेर महिलालाई फिर्ता दियो ।
सडक बालकबाट न त पैसा बरामद भयो, न त सुनको सिक्री बिक्री गरेको पसल नै पहिचान भयो । १६ वर्षमुनिका बालक भएको भन्दै उनीहरुलाई प्रहरीले अनुसन्धान नै नगरी छोडिदियो ।

सडक बालबालिका जीवनयापनका लागि माग्ने, चोर्ने र फोहोर संकलन गर्ने गरेका छन् । गत भदौ अन्तिम र असोजको पहिलो सातामा मात्र पोखरामा २ वटा मनी एक्सचेन्जरमा चोरी भएको घटनाले प्रहरीलाई ततायो । १५ दिनमा ४ वटा संस्थाबाट लगभग १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको थियो ।

Advertisement

गत भदौ ३१ गते पोखरा सिर्जनाचोकस्थित जनएकता बचत तथा ऋण सहकारीबाट ९ लाख रुपैयाँ चोरी भयो । चोरीको आरोपमा भदौ ३० गते बेलका सहकारीको मुनि सडक बालक जसरी सुतेका कमल ठागुना पक्राउ परे । ठगुन्नालाई सडक बालक भन्ने सोचेर प्रहरीले सोधपुछ गरेको थियो । तर उनले सडक बालकको भेषमा सोही रात चोरी गरेको बयान प्रहरीलाई दिएका थिए ।

गत भदौ १६ गते पोखरा ६ लेकसाइडस्थित एभरेस्ट मनी एक्सचेन्जरबाट ९६ हजार र केही दिनपछि पोखरा महानगरपालिका १० अमरसिंहचोकस्थित भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ७ लाख ८० हजार रुपैयाँ चोरी भएको थियो । सबै संस्थामा चोर्ने दिनमा ठगुन्नाले सडक बालबालिका जसरी नै बस्ने गरेको प्रहरीलाई बयान दिएका छन् ।

Advertisement

गत असोज १६ गते कवाडी संकलन गर्दै हिँड्ने सडक बालक पालिखेचोकमा मृत फेला परे । पालिखे चोकभन्दा केही माथि रगत लतपतिएको ठाउँमा राजकुमारको शव भेटिएको थियो । टाउकोमा चोट लागेको थियो । शवभन्दा तलपट्टि राजकुमारले नै दिसा गरेको र दिसामा पनि रगत लागेको कारण अन्य ठाउँमा घाइते भएका उनको उक्त ठाउँमा मृत्यु भएको अनुमान प्रहरीले ग¥यो ।

गत माघ २९ लेकसाइडमा पाल्पा स्थायी घर भएका १४ वर्षीय सचीन सिञ्जालीको हत्या गरेको आरोपमा उनका साथी पर्वतका २१ वर्षीय बेनीकाले भनिने कुमार गर्बुजालाई प्रहरीले पक्राउ गर्‍यो । गर्बुजाले पे्रमिकाको विषयमा सिञ्जालीमाथि चक्कु प्रहार गरी हत्या गरेका थिए ।

यसरी कति घटनामा सडक बालबालिका र कतिपय घटनामा सडक बालकको छद्मभेषमा पोखरामा चोरीका धेरै घटना भएका छन् ।

पोखराको सडक बालकालिकालाई संरक्षण गर्न पोखरा महानगरपालिका तथा विभिन्न सरकारी निकायमा गुनासो गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङ बताउँछन् । पोखरामा सडक बालबालिका सुरक्षामा चुनौती भएको प्रहरीको भनाइ छ ।

गुरुङका अनुसार सानोमा कसैले चोरीका लागि प्रयोग गरेको, कुनैले आफैं चोर्ने छन्, सडक बालकालिकाले चोरेको भनेपछि धेरैले कारबाही गर्दैनन् । ‘पछिल्लो समय सडक बालबालिका नै ठूलो अपराधमा संलग्न भएका छन्,’ प्रवक्ता गुरुङले भने, ‘बेलैमा व्यवस्थापन गर्न हामीले महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई बेलाबेलामा जानकारी गराएका छौं ।’

पोखरा महानगरपालिकाले गत कात्तिक २७ गतेदखि मंसिर १३ गतेसम्म गरेको गणनामा सडक ७९ बालबालिका र ८ जना युवा भेटिए । उनीहरु मुख्य गरी पृथ्वीचोक, शान्तिवन, महेन्द्रपुल र लेकसाइड क्षेत्रमा बस्दै आएका छन् ।

पोखरामा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले प्रदेश सरकारको सहकार्यमा सडक बालबालिका व्यवस्थापन गर्न लागेको बताइन् । उनले अहिलेसम्म महानगरपालिकाले छुट्टै ठोस योजना नबनाएको तर अहिले भइरहेका बालसुधार गृह र अन्य बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताइन् ।

तपाईको प्रतिक्रिया