मुस्ताङको थासाङमा बजार अनुमगन

समाधान संवाददाता २०७७ असोज २७ गते १२:२७

एसके थकाली, जोमसोम

जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा नजिकिँदै गरेको दशैं लक्षित बजार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालयको नेतृत्वमा सुरक्षा निकाय, घरेलु तथा साना उद्योग र कोष तथा लेखा नियन्त्रक कार्यालयको टोलीले थासाङ गाउँपालिकाका विभिन्न वडामा अनुगमन गरेको हो ।

Advertisement

टोलीले थासाङ—१ को टुकुचे, वडा—२ को कोवाङ/लार्जुङ र वडा—३ को लेतेमा बजार अनुगमन गर्दा म्याद गुज्रेका १ लाख ५० हजार बराबरको किनारा र कस्मेटिक लगायतका सामान भेटिएको छ ।

बजार अनुमगनमा भेटिएको म्याद गुज्रेका सामानहरु प्रशासन, प्रहरी र सरोकारवाला निकायको रोहबरमै स्पोर्टमै मुचुल्का उठाई नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

Advertisement

उनका अनुसार थासाङको ३ वटा वडामा रहेका ८ वटा कस्मेटिक तथा किनारा पसलको बजार अनुगमन गर्ने क्रममा बढी मात्रामा कस्मेटिक सामान र केही खाद्य तथा पेय पदार्थ म्याद गुज्रेको भेटिएको हो ।

सहायक प्रजिअ अर्यालले बजार अनुगमनका क्रममा पसल दर्ता भए/नभएको, नविकरण भए/नभएको, खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको मापदण्ड अनुसार सामानहरु लेबल लगाइएको छ/छैन र सामान अवधि कतिसम्म रहेको लगायतको अनुगमन गरिएको जानकारी दिए ।

म्याग्द गुज्रेका अखाद्य वस्तु तथा पेय पदार्थ अनुगमन गर्ने अधिकार संघीयतापछि स्थानीय तहले जिम्मा पाएको भएपनि जिल्लाका स्थानीय तहले नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउन सकेका छैनन् ।

पछिल्लो समय मुस्ताङमा बजार अनुगमन गर्दा विगत वर्षको तुलनामा कम परिमाणमा म्याद गुज्रेका अखाद्य वस्तु भेटिएको छ ।

सडक संजालले नजोडिँदा मुस्ताङीले कुनैबेला घोडाखच्चडमा बोकाएर वर्षभरी पुग्ने सामान सञ्चय गर्ने चलन थियो ।

सडक जोडिएको र जनचेतनाका कारणले यहाँका व्यवसायीहरुले आवश्यक मात्रामा दैनिक उपभोग्य वस्तु आयात गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया