खोप्रा लेकमा आन्तरिक पर्यटक

राकेश शर्मा, म्याग्दी
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि चैत महिना यता लकडाउनको कारण होटल व्यवसाय र पर्यटन क्षेत्र सुनसान छ ।
विदेशी पर्यटक मात्र आउने गरेका पर्यटकीय क्षेत्रका होटल व्यवसायी विस्थापित हुने अवस्थामा छन् ।
तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने पर्यटकीय खोप्रा(खोपारा) लेकमा आन्तरिक पर्यटक आउन थालेका छन् ।
समुद्री सतहदेखि ३ हजार ६ सय ६० मिटर उचाइमा रहेको खोप्रामा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको हो ।
खोप्राबाट देखिने वन, मनमोहक पहाडी भूगोल एवं ग्रामीण बस्तीहरुसँगै बिहानीमा देखिने सूर्योदयलेसमेत पर्यटकलाई लोभ्याउँछ । पछिल्लो समय ‘पहाडको परी’को रुपले परिचित खोप्रा लेकमा दिनहुँँ आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।
खोप्रा लेकबाट मनास्लु, माछापुछ्रे, अन्नपूर्ण, नीलगिरी, धौलागिरी, गुर्जा लगायतका हिमशृंखलालाई नजिकबाट अवलोकन गर्न पाउनु खोप्राको प्रमुख विशेषता भएको लेफ्टिनेन्ट राजु पुनले बताए । खोप्रालेकबाट दृश्यावलोकन मात्र नभई प्राकृतिक रुपले समेत पर्यटकलाई तानिरहेको छ ।
त्यहाँबाट म्याग्दीसहित पर्वत, कास्कीका पहाडका बस्तीहरु समेत अवलोकन गर्न सकिने भएपछि पर्यटकको रोजाइमा परेको पुनले बताए । उनका अनुसार असोज महिना सुरु भएपछि पर्यटकको आगमन बढेको हो ।
पहिले बाह्यपर्यटक मात्रआउने गरेका थिए । तर अहिले आन्तरिक पर्यटक बढी आउने गरेको पुनको भनाइ छ ।
‘पूर्वाधार निर्माणलाई व्यवस्थित र प्रचार–प्रसार गर्न सके पर्यटकहरु अझै बढी आउने थिए,’ पुनले भने, ‘अहिले जस्तो पर्यटक बढे अहिलेको सिमितकालागिमात्र बस्न व्यवस्थालाई विस्तार गर्नु आवश्यक छ ।’
बेनीदेखि ३ घन्टा गाडी र ५ घन्टाको पैदलमार्ग हुँदै पुगिने खोप्रा लेकमा पर्यटकका लागि सुविधा सम्पन्न सामुदायिक लजको व्यवस्था छ ।
काठमाडौंदेखि खोप्रालेक आएका दीपेन्द्रसिंह थापाले भने, ‘सुरुमा आउँदा त खासै राम्रो जस्तो लागेको थिएन, यहाँ बस्दै गए पछि यति राम्रो लाग्यो कि वर्णन गरी साध्य छैन ।’
बेनीका सिजन शाहीले खोप्रा घुमेर उत्कृष्ट गन्तव्य रहेको प्रतिक्रिया दिए । नविन पुनले प्रचार प्रसारलाई ध्यान दिए आन्तरिक पर्यटकको संख्या अझै बढ्न सक्ने बताए । महावीर पुनको पहलमा खोप्रामा निशुल्क वाइफाई जडान गरिएको छ ।
तपाईको प्रतिक्रिया