तनहुँका संक्रमितको जिएमसीमा मृत्यु, प्रदेशमा मृतक ४७ पुगे

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका ३ का ६५ वर्षे पुरुषको गण्डकी मेडिकल कलेजमा बुधबार राति मृत्यु भएको हो ।
स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । ती पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसहित प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीका १३, नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।
गण्डकीमा थपिए १६ संक्रमित
गण्डकी प्रदेशमा थप १६ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा ११ र कास्कीमा ५ जना थपिएका हुन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँ व्यास नगरपालिकाका १० जनामा कोरोना पुष्टि भएको हो ।
व्यास १, २, ४ र ५ मा आज संक्रमित थपिएका हुन् । तनहुँमा २४ वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।
पालिका नखुलेकी उनको परिक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।
कास्कीमा भने ५ संक्रमित थपिएका हुन् । पोखरा महानगरपालिका ३, ११ र १० का ५ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ३ सय पुगेको छ । संक्रमितमध्ये ३ हजार ४ सय ७० जना निको भएका छन् ।
तपाईको प्रतिक्रिया