प्रकोपमा सारथी बन्दै गोर्खा वेल्फेयर

समाधान संवाददाता २०७७ कार्तिक ४ गते ७:३८

समाधान संवादाता, पोखरा

वेलायतमा दर्ता भएको कल्याणकारी संस्था गोर्खा वेल्फेयर ट्रष्ट (जीडब्लूटी) ले कोभिड १९ को फैलावटलाई रोक्ने नेपाल सरकारलाई विभिन्न क्षेत्रमा सहयोग गरेको छ ।

त्यसको लागि वेलायत सरकारको वैदेशिक सहयोग नियोग(फरेन,कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस)ले झण्डै ३ करोड रुपैंयाँ उपलव्ध गराएको ट्रष्ट सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रम(आरडब्लूएसपी)का कार्यक्रम निर्देशक दिपककुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनले अग्रपंत्तीमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि लगायत सर्वसाधारणहरुलाई कोभिड १९ संक्रमणबाट बचाउने उद्देश्यले सहयोग गरेको जानकारी दिए ।

कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका र मापदण्ड बमोजिम ट्रष्टले अहिलेसम्म ६ प्रदेश र ३४ जिल्लाका ७० वटा नगरपालिका एवं गाउँपालिका अन्तर्गत २ सय ४ स्थानमा विभिन्न सहयोग गरेको छ । कोभिड प्रतिकार्य योजना अन्तर्गत ट्रष्टले विभिन्न स्थान र निकायहरुमा स्वच्छ खानेपानी सुविधाको प्रबन्ध गरेको छ ।

Advertisement

पैदल सञ्चालित हातधुने उपकरण जडान, साबुन, पञ्जा, मास्क, फेससिल्ड, ह्याण्ड सेनिटाइजर लगायतका व्यक्तिगत सुरक्षाका सामाग्रीहरु (पिपिई)का साथै ट्रष्टले डस्टविन, सेनिटरीप्याड, पर्सनल हाइजिन किट्स लगायत सरसफाई सम्बन्धी सरसामान र कोभिड–१९बारे सन्देशमूलक प्रचार सामाग्रीहरु निशुल्क वितरण गरेको छ ।

कार्यक्रम अन्तर्गत ट्रष्टले ६१ अस्पताल र स्वास्थ्य चौकीहरु तथा ७६ स्थानीय निकायका विभिन्न कार्यालयहरुमा पनि ती सामाग्रीहरु सहयोग गरेको छ । ट्रष्टले ५६ आइशोलेसन तथा क्वारेन्टिन सेन्टरहरुमा पनि सहयोग गरेको छ । सहयोगबाट ५० हजारभन्दा बढी व्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।

ट्रष्टले नेपाल सरकार र स्थानीय निकायहरुसंगको समन्वयमा नेपाल–भारत सीमानाका, प्रादेशिक सिमानामा रहेका जाँचकेन्द्र, अन्तरजिल्ला प्रवेश विन्दुदेखि शिक्षण संस्थामा स्थापना गरिएका क्वारिन्टाइन तथा आइशोलेसन सेण्टरहरुमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने सामग्रीहरु प्रदान गरेको थियो ।

‘कोभिड १९को प्रकोपको जटिल परिस्थितिमा ट्रष्टले कर्मचारी परिचालन गरेर समयमै आवश्यक सहयोग परिचालन गर्न सफल भएको छ,’कार्यक्रम निर्देशक श्रेष्ठले भने, ‘अगामी बर्षमा पनि कोभिड–१९ सहायता योजना जारी रहने छ ।’

दोश्रो विश्व युद्ध पछिको सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको साबुनपानीले राम्रोसंग हात धुनु र सरसफाई सम्बन्धी उचित व्यवहार गर्नु नै कोभिड–१९ विरुद्ध लड्ने सवभन्दा भरपर्दो हतियार भएको उल्लेख गर्दै ट्रष्टले खानेपानी तथा सरसफाई कर्मचारीहरुलाई तुरुन्तै परिचालित गरिएको जनाएको छ ।

ट्रष्टले चलाएको सामुदायिक सहायता कार्यक्रम अन्तर्गत २ हजार ६ सय ८५ विद्यालय भवनको निर्माणबाट ८ लाख ५४ हजार १ सय १५ विद्यार्थी सहज रुपमा पठन पाठन गर्ने अवसर पाएका छन । विभिन्न स्थानमा भएका स्वास्थ्य शिविरहरुमा ८४ हजार बिरामीले औषधी उपचार सुविधा पाएका छन ।

नेपालको ४१ जिल्लाहरुमा निर्माण गरिएका २ हजार १ सय ६ खानेपानी आयोजनामा निर्माण गरिएका ४६ हजार ३२ धारा मार्फत ६५ हजार ४ सय ८३ घरधुरी तथा ४ लाख २२ हजार ४ सय ७८ जनसंख्या खानेपानीको सुविधाबाट लाभान्वित भएको ट्रष्टले जनाएको छ ।

ट्रष्टले नेपालको ग्रामीण क्षेत्रमा ‘एक घर, एक धारा’ प्रणालीको खानेपानी आयोजनाकोे पहिलो पटक सुरुवात गरेको हो ।

तपाईको प्रतिक्रिया