प्राविधिक शिक्षाले डोर्‍याएको पन्थीको पन्थ

समाधान संवाददाता २०७७ कार्तिक ५ गते ५:३७

रामजीप्रसाद लम्साल, पोखरा

देखेका सबै सपना पूरा नहुन सक्छन् तर सपना देख्न भने कहिल्यै छाड्नु हँुदैन भन्ने मान्यताका साथ निरन्तर कर्ममा लागिरहनु भएका धर्मराज पन्थी आज पर्यटन व्यवसायीको रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ ।

अर्घाखाँचीको साविक वडा नं ४ हाल छत्रदेव गाउँपालिका वडा नं –७ मा जन्मनुभएका पन्थी २०५३ सालमा एसएलसी दिएर उच्च शिक्षा अध्ययनका लागि पोखरा आउनुभएको हो । तत्कालीन समयमा विद्यार्थी जीवनका अभावहरु टार्न मेहनतलाई नै महत्वपूर्ण औजार ठान्नुभयो, अवसरको खोजीमा लागिरहनुभयो ।

Advertisement

२०५४ सालमा जनप्रिय क्याम्पसमा प्रविणता प्रमाणपत्र तह विषयमा अध्ययन गदै गर्दा बिहान बेलुका समयमा लेकसाइडस्थित एक ट्राभल एजेन्सीमा काम गरेर अध्ययनलाई अगाडि बढाउनुभयो ।

उहाँलाई प्रेरित गरिरहने आफ्नै गाँउतिरका पर्यटन व्यवसायी ओमप्रकाश पाण्डे हुनुहुन्थ्यो जसको सम्राट ट्राभल एजेन्सी थियो । उहाँ त्यहिँ काम गर्नु हुन्थ्यो । दिनदिन विदेशी पर्यटकसँगको भेटघाटले उहाँको जीवनमा बेग्लै ऊर्जा प्रवाहित गर्‍यो ।

Advertisement

विभिन्न देशका पर्यटकलाई बेला बेला पोखरा आसपासका पर्यटकीय गन्तव्य घुमाउन लैजाँदा विदेशी रहनसहन र संस्कृतिसँग परिचित हुने अवसर उहाँलाई मिल्दै गयो ।

यसैक्रममा एक दिन पोखराको फूलबारीस्थित पोखरा प्राविधिक शिक्षालयमा फ्रन्ट डेस्क र होटल म्यानेजमेन्ट सम्बन्धी तालिम खुलेको जानकारी पाउनुभयो । केही गरौ भन्ने आँटले अवसर खोजिरहेका बेला तालिम सिक्ने रहर झनै बढ्यो ।

आइए दोस्रो वर्ष पढ्दै गर्दा उहाँले फ्रन्ट डेस्क र होटल म्यानेजमेन्ट सम्बन्धी ३ महिने तालिम लिनुभयो । जे कुरा सिक्ने खोजेको र जुन क्षेत्रमा रुचि थियो उहाँलाई तालिमले त्यहिँ पुर्‍याएजस्तो भयो । त्यसलगत्तै उहाँलाई जागिर खान झनै सजिलो भयो ।

उहाँले पोखराको ट्रेक ओ टेल थ्री स्टार होटलमा सुपरभाइजरको रुपमा काम गर्न सुरु गर्नुभयो । पर्यटन क्षेत्रप्रतिको लगाव बढ्दै गयो । तालिमले आत्मविस्वालाई पनि उचाइमा पुर्‍याउँदै लगेको थियो ।

सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपले उहाँमा निखारता आएको थियो । होटल सञ्चालक योगेन्द्र शाक्य र विन्दु शाक्यबाट पनि थप ज्ञान हासिल गर्न मौका मिल्यो । उक्त होटलमा २ वर्षको अनुभव बटुलेर उहाँले लेकसाइडकै लेक भ्यु रिसोर्टमा म्यानेजरको रुपमा काम गर्ने अवसर प्राप्त गर्नुभयो ।

जीवन भोगाइको गतिमा अनवरत हिडिरहनु भएका पन्थीले म्यानेजरको रुपमा काम गर्दा एशियाको विभिन्न देश घुम्न अवसर पाउनुभयो । प्राप्त जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्ने क्षमताले उहाँलाई लगातार तीन वर्ष ‘इम्प्लोइ अफ द एयर’ को अवार्ड समेत जित्ने सफलता मिल्यो ।

पर्यटन क्षेत्रका विविध पक्षमा जोडिएर काम गर्दै जाँदा उहाँलाई पर्यटन क्षेत्रमै आफैले केही गरौँ भन्ने सोच आयो । जागिरे जीवनका अनुभव बटुलेर होटल मालिक बन्ने लक्ष्यको पन्थ तय भयो ।

कर्ममा विश्वास गर्नेका लागि जुनसुकै कठिन परिस्थिति पनि सहज हुन्छन् भनेझै उहाँ आफ्नो रुचि र रोजाइको क्षेत्रमा पाइला चाल्न पछि हट्नु भएन । अन्ततः उहाँ पर्यटन क्षेत्रमा आफ्नो गर्विलो उपस्थिति देखाउन सफल हुनुभयो ।

उहाँले अहिले लेकसाइडको स्ट्रिट नं ३ सन् २०१३ देखि होटल एसिया सञ्चालन गर्दै आउनु भएको छ । मासिक ३ लाख भाडा तिरेर २२ जना कर्मचारीसहित व्यवसायले गति लिइरहेको अवस्थामा यतिखेर भने कोरोना कहरको चपेटामा परेको छ ।

व्यवसायमा आरोह अवरोह भइरहने र चुनौतीसँग अवसर पनि देखिने सकारात्मक सोचले उहाँलाई विचलित बनाएको छैन । आज आफ्नो सग्लो परिचय पर्यटन व्यवसायीको रुपमा गराउन पाउँदा उहाँलाई गर्व लाग्छ ।

केही अधुरा सपनासँगै सहर छिरेको मान्छेले प्राविधिक शिक्षाबाट पाएको ज्ञान र रुचिको क्षेत्रले जीवनलाई सार्थकता तर्फ लगेको बताउनुहुन्छ ।

पोखरा बसाइ व्यावसायिक रुपमा मात्र नभइ अन्तरजातीय प्रेम विवाहले पनि स्मरणीय र ऊर्जामय बनेको छ । श्रीमती सुभद्रा महर्जन पन्थीको साथले उहाँलाई व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि अघि बढ्न प्रेरणा मिलेको छ ।

अर्थ नेपाल ट्राभल एन्ड ट्रेक प्रालि व्यवसाय समेत सञ्चालन गर्नुभएका पन्थी होटल एसोसिएसनको सदस्य र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ टान पश्चिमाञ्चलको द्वितीय उपाध्यक्ष हुनुहुन्छ ।

पन्थी सम्झनु हुन्छ ‘म पनि प्राविधिक शिक्षाको तालिम नलिएको भए यतै कतै हराउँथे कि त विदेशी भूमिनै रोज्थे होला तर जुन समयमा मैले प्राविधिक शिक्षा को तालिम हासिल गरे मैले सिक्नै पर्ने शिक्षा पाए र मेरो जीवनको बाटो नै मोडियो ।’ उहाँ सही समय सही तालिमले जीवन बदलेको बताउनुहुन्छ ।

धेरे पैसा कमाउने महत्वकांक्षी सोच बनाउनुभन्दा विस्तारै आफू भित्रको क्षमता र रुचि अनुसारको सीपसँग जोडिनसके जीवनमा दुख पाउनु नपर्ने उहाँको भनाइ छ ।

अहिले कोभिड १९ को महामारी छ । यसले गर्दा धेरैले रोजगार गुमाएर स्वदेश फर्कनु पर्ने अवस्था छ भने स्वदेशमा पनि धेरैले रोजगार गुमाएका छन् । यद्यपि हातमा सीप हुने हरु ढिलो चाँडो पुन आप्नो क्षेत्रमा फर्कन सक्छन् । अहिलेको समय दक्ष जनशक्तिको खोजीको समय हो ।

प्राविधिक र व्यावसायिक शिक्षा लिएर देश भित्र अवसर खोज्न सके विदेशी भूमिमा जानु नपर्ने उहाँ बताउनुहुन्छ ।

अहिले प्राविधिक शिक्षालयल सिटिइभिटीले पनि प्राविधिक र व्यावसायिक शिक्षा र प्रशिक्षण टिभेट (टेक्निकल भोकेसनल एजुकेसन ट्रेनिङ)लाई आमनागरिक समक्ष पु¥याउन सामाजिक मिडिया अभियान सुरू गरेको छ ।

अनुसन्धान र सूचना डिभिजन, सिटिइभिटिका सूचना अधिकारी अनिलमुनि बज्राचार्यले सामाजिक मिडिया अभियानको उद्देश्य आम नागरिकमा प्राविधिक र व्यावसायिक शिक्षा सम्बन्धी सकारात्मक धारणाको विकास गरेर दक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताउनुभयो ।

उहाँका अनुसार हालका टिभेट सम्बन्धी सार्वजनिक सूचनाहरु यसका कोर्स र प्रशिक्षण प्रदान गर्ने संस्थाहरु फेसबुक पेजको माध्यमबाट अभियानको रुपमा सन्देश दिइएको छ ।

यसकासाथै अवसरहरु, करियर सम्भावनाहरु, टिभेटको महत्व, पाठ्यक्रम र प्रशिक्षण, रोजगार बजारमा भएका माग र आपूर्तिका पक्षका मुद्दाहरु, नीति निर्माताहरुको विचार र परिर्वतन निर्माताहरुको आवाजलाई समेत उजागार गरिएको छ ।

यस अभियानले रोजगारदाताहरु, उद्योगीहरु, टिभेट संस्था र मिडियाको आवाज अगाडि आउने उहाँको विश्वास छ ।

गण्डकी प्रदेशले समाजिक विकास मन्त्रालयले संघ प्रदेश स्थानीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने गरी साढे करोडको बजेट विनियोजना गरेको छ । यसले स्थानीय तहमा रोजगार सिर्जना गर्न कोभिड १९ का कारण विदेशमा रोजगारी गुमाएका, स्वदेशमा अवसको खोजी गरेकाहरुलाई लक्षित गरेर सीपमूलक तालिम दिने मन्त्रालयका उपसचिव भीमप्रसाद तिवारीले जानकारी दिनुभयो ।

पोखरा प्राविधिक शिक्षालयले तीनवर्षे होटल व्यवस्थापन, अप्थाल्मिक र १८ महिने प्रि डिप्लोमा इन कुलिनरी आर्ट (कुकिङ बेकिङ)को साथै व्यवसायीक तालिम अन्तर्गत छोटो समयको तालिमहरु पनि सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया