गण्डकी नेकपा सांसदको पनि भत्ता फिर्ता हुने

समाधान संवाददाता २०७७ कार्तिक ५ गते १६:४६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदको दसैं भत्ता फिर्ता हुने भएको छ ।

संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भत्ता फिर्ताको निर्णय भएको जानकारी दिएका छन् ।

Advertisement

‘मन्त्रिपरिषद्ले मन्त्रीहरुको भत्ता फिर्ताको निर्णय गर्‍याे, दलको छुट्टै निर्णय भएको हो,’ मुख्यमन्त्री गुरुङले समाधानसँग भने ।

बुधबार बिहान मन्त्रिपरिषदको बैठकै बसेर मुख्यमन्त्री र मन्त्रीको खर्च फिर्ताबारे निर्णय मन्त्रीहरुले नै रकम फिर्ताबारे निर्णय गरेपछि सांसदहरु दबाबमा परेका थिए ।

Advertisement

प्रदेश सभामा नेकपाका ४० सदस्य छन् । सभामुख र उपसभामुखले दल त्याग गर्नुपर्ने भएकाले उनीहरुले रकम फिर्ताबारे केही बोलेका छैनन् ।

प्रदेश सभामा १५ सदस्य भएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले मंगलबार नै निर्णय गरेर दसैं खर्चवापत प्राप्त रकम फिर्ता गरेको थियो ।

३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि उक्त रकम फिर्ताको निर्णय गरिसकेको छ ।

२ सदस्य रहेको जनता समाजवादी दलको धारणा भने अहिलेसम्म आएको छैन । गण्डकी प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ३६ सहित ६० सदस्य छन् ।

मन्त्री र सा‌ंसदकाे रकम फिर्ता गर्ने निर्णय भए पनि उनीहरुका पिएले पाएकाे रकम फिर्ता गर्नेबारे प्रसंग चलेकाे छैन ।

कांग्रेस र राजमोका सांसदले पनि भत्ता फिर्ता गर्ने जनाइसकेका छन् ।

कोरोना महामारी सुरुआती बेलामै मुख्यमन्त्री र उनको सचिवालयका सदस्य तथा मन्त्रीहरुले १/१ महिनाको तलब कोरोना कोषमा जम्मा गरेका थिए ।

तपाईको प्रतिक्रिया