साइकल ट्रयाकले जोडिँदै ९ ताल

समाधान संवाददाता २०७७ कार्तिक ६ गते ७:००

अनिष भट्टराई, पोखरा

रामबजारका नीरज थापाले साइकल चढ्न थालेको ७ वर्ष भयो ।

उनी दैनिक २ घन्टा साइक्लिङका लागि निस्कन्छन् । शान्ति स्तूप, सराङकोट, पुम्दी भ्युप्वाइन्ट, भरतपोखरी, विजयपुर नीरजका गन्तव्य हुन् ।

Advertisement

पोखराको मुख्य सहरी भाग र डाँडाकाँडामा उनले साइक्लिङ नगरेको ठाउँ छैन । लुम्बिनी, सिक्लेस, सिरुबारी जस्ता पर्यटकीय गन्तव्य पनि साइकलमै पुगेका छन् ।

उमेरले ६ दशक नाघेका थापा साइकल चलाउने बानीले अझै फुर्तिला छन् । बुढ्यौली लाग्ने बेलामा पनि तन्नेरी देखिन्छन् ।

Advertisement

साइक्लिङका सोखिन भइसकेका थापा अहिले पोखरामा साइक्लिङ कल्चर बढिरहेको बताउँछन् । ‘मैले साइकल चलाउन सुरु गर्दा अक्कलझुक्कल साइक्लिस्ट देखिन्थे, अहिले दिनहुँ ४/५ समूह देख्छु,’ थापाले भने ।

पोखरेली मात्र नभएर विदेशी पर्यटकपनि पोखरा आसपास भेटिन्छन् । साइकलमा पामे, खपौँदी, शान्ति स्तूप जस्ता भेगमा साइक्लिङ जान्छन् ।

पोखरेली र विदेशी पर्यटकको साइक्लिङप्रतिको बढ्दो मोह देखेर पोखरा महानगरले साइकल ट्र्याक बनाउने भएको छ ।

गत वर्ष महानगरका मेयर मानबहादुर जिसीले पोखरामा साइकल लेन बनाइने घोषणा गरेका थिए । सोही घोषणा अनुसार महानगरले पोखराका ९ ताललाई जोड्ने गरी ‘तालदेखि तालसम्म साइकल ट्र्याक’ बनाउन लागेको हो ।

फेवा, कमलपोखरी, गुँदे, न्युरोनी, खास्टे, दिपाङ, मैदी, बेगनास र रुपाताल जोड्ने गरी ट्र्याक बनाइने भएको हो ।

रामसार र सीमसारमा सूचीकृत तालको प्रवद्र्धन हुने र पोखरा साइक्लिङका लागि पनि विश्वकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित ट्र्याक बनाउन लागिएको हो ।

सहरी योजना आयोग पोखराका उपाध्यक्ष रामचन्द्र लामिछानेले २ वर्षभित्र बनाएर सक्ने गरी योजना बनाइएको बताए । पोखराका ९ ताललाई जोड्ने गरी १ सय किलोमिटर सडकमा साइकल लेन छुट्याइने उनले बताए ।

ट्र्याक बनाउन महानगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

ट्र्याक सम्बन्धी अध्ययनको काम सकाएर अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बन्ने चरणमा छ । ‘प्रत्यक्ष अप्रत्यक्ष १ हजार रोजगारी ट्र्याकले सिर्जना गर्छ, बजेट अभाव हुँदैन । पोखरा साइकल सिटीका रुपमा चिनिने बेला आउँदै छ,’ लामिछानेले भने ।

साइकल ट्र्याकमा आवश्यक भौतिक संरचना क्रमागत रुपमा बन्ने छन् । कफी सप, शौचालय, प्रतीक्षालय, साइकल पार्किङजस्ता संरचना बनाइनेछ ।

अहिले ट्र्याक पर्ने १८ वडाका प्रतिनिधिसँग छलफल गरेर कामका बारेमा अध्ययन भइरहेको लामिछानेले जानकारी दिए ।

‘१ पक्षीय योजना नभएकाले टेन्डर प्रक्रियामा जानुपर्दैन, तिहारपछि काम सुरु गर्छौं,’ लामिछानेले भने । अन्य संरचना थपेर अन्तर्राष्ट्रिय मापदण्डको गराइने उनको भनाइ छ ।

साइकल ट्रयाकको धारणा पोखराका लागि नयाँ भने होइन । ८ वर्षदेखि पोखरामा साइकल ट्र्याक बनाइनुपर्ने माग साइकल सिटी पोखराले राख्दै आएको छ ।

२०६९ मा साइकल चलाउन र साइकलमै ठाउँहरु घुमफिर गर्न ११ युवाको उपस्थितीमा साइकल सिटी पोखरा बनाइएको थियो ।

उनीहरुले साइकल ट्र्याक बनाइनुपर्ने भन्दै जिल्ला प्रशासनदेखि विभिन्न संस्थामा ज्ञापनपत्र बुझाएका थिए । साइकल सिटीले अहिले विभिन्न ठाउँमा शौचालय बनाउने, पाटी पौवा बनाउने गरेको छ ।

साइकल सिटीका अभियन्ताहरु अन्नपूर्ण बेस क्याम्प, मुक्तिनाथ, रारा जस्ता ठाउँमा साइकल यात्रा गर्छन् ।

साइकल सिटीले पोखरामा साइकल कल्चर बढाउन ‘टुर दी पोखरा’ आयोजना गर्दै आएको छ । २०१५ बाट सुरु गरिएको प्रतियोेगितामा सहभागी संख्या वर्षेनी बढ्दो छ ।

पहिलो संस्करणमा ४ सय ८० जनाले भाग लिएको प्रतियोगिताको पाँचौं संस्करणमा १ हजारभन्दा बढी प्रतिस्पर्धी थिए ।

फेवाताल आसपाससमेत छुट्टै साइकल ट्र्याक बनाउने योजना महानगरको छ । करिब २५ करोड रुपैयाँमा फेवामा ट्र्याक बनाउने काम अर्को वर्ष सुरु हुने सहरी योजना आयोग पोखराका उपाध्यक्ष रामचन्द्र लामिछानेले बताए ।

साइकल व्यापार कस्तो छ ?

कोभिड महामारी अगाडि पोखरामा वर्षेनी ८ हजारको हाराहारीमा साइकल बिक्री हुन्थ्यो । पोखराका १५ पसलले मात्र साइकल बेच्ने गरेका छन् ।

कोभिडका कारण लकडाउनले व्यापार रोकिएको भएपनि अहिले व्यापार बढ्दो छ ।

पोखराको पुरानो साइकल बिक्रेता चालिसे साइकल एन्ड सन्सका सञ्चालक अशोक चालिसेले लकडाउनपछि १२ सय ३० साइकल बेचिसकेका छन् ।

५० हजार रुपैयाँभन्दा माथिका साइकल ४ सय ३० वटा र ३० देखि ५० हजार रुपैयाँसम्मका ८ सयसाइकल बिक्री भएको चालिसेले सुनाए ।

पहिलेका वर्षमा बालबालिकाका साइकल बढी बिक्ने गरेपनि अहिले ठूलाले नै साइकल किन्ने गरेको चालिसेले बताए ।

‘लकडाउनपछि डाँडा घुम्न जाने ट्रेन्ड बस्यो, युवामाझ साइकल लोकप्रिय भएको छ,’ उनले भने, ‘अहिले साइकलको स्टक सकियो ।’

तपाईको प्रतिक्रिया