व्यासका सेरावासी टर्कीपालनतर्फ

समाधान संवाददाता २०७७ कार्तिक १५ गते ११:०८

तनहुँ, रासस

तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् ।

तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढेको छ । ।

Advertisement

टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न थालेको किसान पौडेलले बताए ।

स्थानीय कुखुरा र बट्टाई पाल्दै आएका पौडेलले यससम्बन्धी तालीम लिएपछि टर्की पाल्न शुरु गरेका थिए । यसको मासु प्रतिकिलो रु १ हजारमा बिक्री हुने गरेको बताइएको छ ।

Advertisement

टर्की, कोडाकनाथ, फेन्सीजात, लौकाड, हाँस, बट्टाई, लोकल कुखुरालगायतका नौ जातका महङ्गा पक्षीहरु पाल्दै आएपनि कोरोनाका कारण अन्य सबै बिक्री गरेर अहिले टर्की मात्रै पाल्दै आएको बताए ।

पाँच वटा खोर खाली छन् । उनले भने, ‘चल्ला ल्याउने स्थानमै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जोखिम रहेकोले ल्याउन नसकिएको हो । सहज भएपछि पुनः पाल्ने योजना बनाएको छु ।”

१ दिने चल्लाको रु ३५० देखि ४५० सम्म मूल्य पर्ने र ६ महिनापछि खाना योग्य हुने उनले बताए।

चार महिनापछि महिनामा दुई किलोसम्मको दरले बढ्ने, बोसोरहित हुने र मानिसको हड्डी बलियो बनाउनुका साथै मुटु, मधुमेह, रक्तचापलगायत दीर्घकालीन रोगी सबै प्रकारका बिरामीले खाना मिल्ने भएकाले यसको मासुको माग बढी रहेको छ ।

चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने यसको विशेषता रहेको बताइएको छ ।

तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढी रहेकाले माग अनुरुप पूर्ति गर्न नसकिएको स्थानीय शोभा पौडेलले बताइन् ।

एक सय टर्की पाल्दा ६ महिनामा झण्डै चार लाखसम्म कमाउन सकिने किसान पौडेल बताउँछिन् ।

गाउँ घरमा सबैले टर्की पाल्न शुरु गरेपछि केही महिना अघि आफूले पनि ७० वटा टर्की ल्याएर पाल्न थालेको अर्का स्थानीय सुभद्रा कार्की पराजुलीले बताइन् ।

उक्त क्षेत्रका १४ घरपरिवारले टर्की पाल्न शुरु गरेका छन् भने अन्य परिवारले टर्की पाल्नको लागि चल्ला माग गरेका छन् ।

तपाईको प्रतिक्रिया