सरकार ब्युँझ, जनता ब्युँझ

समाधान संवाददाता २०७७ कार्तिक १६ गते ८:३१

सम्पादकीय

कोरोना भाइरस रोग कोभिड १९ का संक्रमितको संख्या ह्वात्तै बढेको छ । गण्डकी प्रदेशभरि शुक्रबारमात्रै हालसम्मकै उच्च संक्रमण दर देखियो । पछिल्लो १५ दिनमा १८ सयभन्दा बढी संक्रमित थपिएका छन् ।

यो कुल संक्रमणको २४.८० प्रतिशत हो । गण्डकीमा कोरोना संक्रमितको संख्या ७३ सय १६ पुगेको छ । तीमध्ये ४२ सय २१ (५८.२९ प्रतिशत)मात्रै निको भएका छन् ।

Advertisement

पोखरामा जति सरकारी र निजी अस्पताल छन्, तिनले कोरोना बिरामी हत्तपत्त लिन छाडिसके । सबैले भन्छन्, बेड जति भरिभराउ छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थोरै संख्यामा मात्रै आइसोलेसन बेड छ । निजी अस्पतालहरु कोरोना बिरामी लिनै चाहँदैनन् ।

Advertisement

लिए भने उनीहरुको ध्यान पैसामा मात्रै हुन्छ । अवस्था यति भयावह भएको छ कि बिरामी कि घरमै तड्पिएर मर्नुपर्ने अवस्था छ कि निजी अस्पताल गएर लाखौं खर्च गर्नुपर्छ । लाखौं खर्च गर्दैमा पनि बाँच्ने ग्यारेन्टी हुँदैन ।

गरिब निमुखाहरुले भने घरमै तड्पिएर मर्नुको विकल्प नहुने कटु यथार्थ छ । अहिलेसम्म ४ जनाले होम आइसोलेसनमा ज्यान गुमाइसकेका छन् । रेकर्डमा नआएका थुप्रै अरु हुन सक्छन् ।

कोरोना महामारी नेपालमा पनि आएको झन्डै ८ महिना बितिसक्यो । यसबीचमा पर्याप्त तयारी सरकारले नगर्दाको परिणाम दिनमा एकजना मानिस सिकिस्त हुँदा अस्पतालमा ठाउँ नपाउने अवस्था सिर्जना भएको छ ।

पर्याप्त आइसोलेसन, पर्याप्त भेन्टिलेटर र पर्याप्त अक्सिजन उपकरण यतिका समयमा पनि प्रबन्ध गर्न नसक्नु बिडम्वना हो ।

झन्डै दुईतिहाईको बहुमत भएको सत्तारुढ पार्टी आन्तरिक कलहमा फँसिरहेको छ र सत्तारुढ दलका शीर्षस्थ नेताहरुलाई देशको र जनताको भन्दा बढी कुर्चीकै कुरा प्रिय भइरहेको छ ।

प्रदेशमा समेत दुईतिहाईकै सरकार छ र पनि संघको भर नपरी थप गर्नुपर्ने जति काम हुन सकेको छैन ।

कोरोना परीक्षणका मेसिन खरिद गर्नु प्रशंसनीय काम थियो, संक्रामक रोग उपचार अस्पताल सुरु गर्नु पनि प्रशंसनीय थियो तर त्यो अस्पतालमा आजसम्म पनि आवश्यक उपकरणहरुको व्यवस्था हुन नसक्नुचाहिँ अत्यन्तै दुखद र बिडम्वनाको कुरा हो ।

अवस्था यति धेरै गम्भीर भइसकेको छ कि अब पनि सरकारले चाल्नुपर्ने कदम चालेन र अस्प्तालहरुमा आवश्यक प्रबन्ध मिलाउन सकेन भने मानिसहरु उपचार नपाएर मर्ने छन् ।

निजी अस्पतालका बेडहरुलाई यथोचित प्रयोग गर्न नसक्नु पनि राज्यकै कमजोरी हो र सरकारमा भइरहेको झगडाको फाइदा मेडिकल व्यवसायीहरुले उठाइरहेको बुझ्न कुनै समस्या छैन ।

स्वास्थ्य र शिक्षा जनताका लागि निशुल्क हुनुपर्ने नारा र सिद्धान्त भएको कम्युनिस्ट पार्टी सत्तामा हुँदासमेत व्यवहारमा यतिसाह्रो लज्जास्पद अवस्था हुनुको पीडा जनताबाहेक कसैलाई छैन ।

सँगसँगै कोरोनालाई लिएर जसरी जनस्तरमा पनि लापरबाही भइरहेको छ, त्यो पनि अर्काे बिडम्वनाको बात छ । कोरोनालाई सामान्य रुपमा लिएर जनताबाट पनि स्वास्थ्य मापदण्डमा लापरबाही हुनु बिडम्बना छ ।

सरकारलाई मात्रै दोष दिएर जनता पनि मुक्त हुने अवस्था छैन । आफ्नो जिउज्यान सुरक्षा गर्न पहिला त प्रत्येक व्यक्ति आफैं सतर्क हुनुपर्छ ।

सतर्क हुँदाहुँदै वा अरु जुनसुकै कारण पनि बिरामी हुँदा उपचार गर्नुपर्ने दायित्व भने राज्यकै हो । सरकार ब्युँझन जरुरी छ, जनता आफैं सचेत हुन जरुरी छ । होइन भने महामारीले ल्याउने विनाशलाई कसैले रोक्न सक्दैन ।

तपाईको प्रतिक्रिया