गण्डकीमा कोरोना संक्रमितको संख्यामा ‘रेकर्ड ब्रेक’

समाधान संवाददाता २०७७ कार्तिक १६ गते १९:४३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भएको छ । आइतबार प्रदेशको ९ जिल्लामा ४ सय २४ संक्रमित थपिएका छन् ।

थपिनेमध्ये ६९.७ प्रतिशत अर्थात २ सय ८३ जना कास्कीका छन् ।

Advertisement

तनहुँमा ४१ संक्रमित थपिँदा नवलपरासीमा ३१, लमजुङमा १९, पर्वतमा १३, गोरखामा १२, स्याङ्जामा १०, बागलुङमा ९ र म्याग्दीमा ६ संक्रमित थपिएका छन् ।

आइतबार प्रदेशमा एकैदिन धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यस अगाडि १४ कात्तिकमा प्रदेशमा २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

त्यसदिन कास्कीमा १ सय ८३ संक्रमित थपिएका थिए । आइतबार भने १४ गतेका कुल संक्रमितभन्दा झन्डै दोब्बर संक्रमित थपिएका हुन् ।

प्रदेशमा आइतबार ४ संक्रमितको मृत्यु भएको छ । कास्कीका २ र नवलपरासीका २ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पुष्टि गरेको छ ।

पोखरा १७ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

कात्तिक ११ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहका उनको आइतबार बिहान ११ः५५ बजे निधन भएको हो । उनमा कोरोनासहित निमोनिया, मधुमेहको समस्या थियो ।

अन्नपूर्ण गाउँपालिका ३ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएकोे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहेका पुरुषको शनिबार राति साढे ११ बजे निधन भएको हो । उनमा कोरोनासहित निमोनियाको समस्या थियो ।

नवलपुरको कावासोती नगरपालिका ६ का ६७ वर्षे पुरुष र गैंडाकोट नगरपालिका २ का ७७ वर्षीया महिलाको शनिबार होमआइसोलेसनमा मृत्यु भएको हो । दुवैको दाहसंस्कार परिवारले नै गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुरक्षा निकाय, जनप्रतिनिध र स्वास्थ्यकर्मीको निगरानीमा परिवारले दाहसंस्कार गरेको हो ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४० पुगेको छ । तीमध्ये ४ हजार ३ सय ३५ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया