मुख्यमन्त्रीको अनुगमनपछि सडक मर्मत, चल्न थाले गाडी

समाधान संवाददाता २०७७ कार्तिक १७ गते १६:००

समाधान संवाददाता, पोखरा

अविरल वर्षाले भत्किएको लमजुङ रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने सडक मर्मत भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अनुगमन र निर्देशनपछि उक्त सडक मर्मत भई सोमबारबाट गाडीहरु चल्न थालेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जनाएका छन् ।

Advertisement

‘असोज १६ गते प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सचिव रामचन्द्र श्रेष्ठ र प्राविधिकहरुको टोलीसहित मुख्यमन्त्री गुरुङ उक्त सडकको अनुगमनमा निस्कनुभयो । स्वयं मुख्यमन्त्रीको गाडी पनि जान सकेन,’ न्यौपानेले भनेका छन्, ‘लठ्ठी टेक्दै वन, भिरपाखा पखेराको बाटो हिँडेर सडकका खण्डखण्डको अवस्था उहाँले बुझ्नुभयो । सँगँसगै प्राविधिकहरु र सम्बन्धित जिल्ला कार्यालयलाई सडक तुरुन्तै मर्मतको निर्देशन गर्नुभएको थियो ।’

मुख्यमन्त्रीको त्यही अनुगमन र निर्देशनको परिणाम रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ, मालिङ सडक मर्मत भएको न्यौपानेले बताएका छन् ।

Advertisement

कात्तिक १७ गते सोमबारदेखि उक्त सडकमा गाडीको आवातजावत सुचारु भएको हो । जिल्ला पूर्वाधार कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार भन्ज्याङ खण्डमा पहिरो गएको ठाउँको सडक मर्मत पूरा भएको छ ।

पहिरो गएको ठाउँमा तारजालीसहितको ग्याबिन वालसमेत लगाई सडक मर्मत गरिएको जानकारी इन्जिनियर गिरीले दिए ।

उनका अनुसार उपभोक्ता समिति गठन गरी सडक मर्मत गरिएको हो । गण्डकी प्रदेश सरकारले सडक मर्मतका लागि बजेट उपलब्ध गराएको पनि इन्जिनियर गिरीले बताए । जनसहभागितासहित २१ लाख रुपैयाँ खर्चेर उक्त सडक मर्मत भएको हो ।

उक्त सडक मर्मत भएपछि लमजुङको डढुवा, टक्सार, गिलुङ, मालिङ लगायत ठाउँ जानेआउनेहरुका लागि सजिलो भएको छ ।

‘प्रदेश सरकार जनताको नजिक छ, जनताका दुखपीर मर्का छिटो सुन्छ, छिटो देख्छ र समाधान पनि गर्छ भन्ने थुप्रै उदाहरण छन्, एउटा उदाहरण हो रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ, साल्मे, मालिङ जाने सडक मर्मत,’ मुख्यमन्त्रीका प्रेस संयोजक न्यौपानेले भने, ‘प्रदेश सरकारले निर्माण गरिरहेको रामबजारदेखि गिलुङ हुँदै साल्मे, मालिङ जाने सडक स्तरोन्नति र कालोपत्रे भएको देख्ने र भोग्ने दिन आउन पनि अब धेरै समय लाग्ने छैन ।’

तपाईको प्रतिक्रिया