आइसियु छ, चलाउने मान्छे छैनन्

समाधान संवाददाता २०७७ कार्तिक १८ गते ९:१९

राकेश शर्मा, म्याग्दी

गण्डकी प्रदेश सरकारको १ करोड ७९ लाख रुपैयाँमा बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष आइसियु सञ्चालन हुन सकेको छैन ।

चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन नहुँदा सञ्चालन हुन नसकेको हो ।

Advertisement

बढ्दो कोरोना संक्रमण लक्षित गरेर ४ महिना अघि २ वटा भेन्टिलेटरसहित ५ बेडको आइसियु कक्ष स्थापना गरिएको थियो ।

आइसियु सञ्चालन नहुँदा संक्रमितलाई बाहिरी जिल्लामा लानुपर्ने बाध्यता छ ।

Advertisement

अस्पतालमा आइसियु सञ्चालन नहुँदा केही दिन अघि २ कोरोना संक्रमितलाई हेली मार्फत गरेर पोखरा र काठमाडौं पु-याइएको थियो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अमृत अधिकारीका अनुसार आइसियु कक्ष नियमित रुपमा सञ्चालन गर्नका लागि १/१ इन्टरनल मेडिसिन डाक्टर, बेहोस बनाउने डाक्टर (एनएसथिसियोलोजिस्ट), स्टाफ नर्स र ४ जना मेडिकल अफिसर आवश्यक हुन्छन् ।

अधिकारीका अनुसार जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकार र विभागमा अनुरोध गरिएपनि सुनुवाई भएको छैन ।

‘हामीले दक्ष जनशक्तिको अभावमा कोरोना संक्रमितको उपचार आइसियुमा गर्न सक्दैनौं,’ उनले भने, ‘यहाँ पूर्वाधार भएपनि जनशक्तिकै अभावमा बिरामी महंगो खर्चमा पोखरा काठमाडौं जानुपरेको छ ।’

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जनशक्ति व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी थालेको बताएका छन् ।

उनले आइसियु स्थापना भएका प्रदेश भित्रका जिल्ला अस्पतालहरुलाई आवश्यक पर्ने १ सय ६ दक्ष जनशक्ति भर्नाका लागि सूचना निकाल्ने गृहकार्य सुरु भएको जानकारी दिए ।

आकष्मिक रुपमा आइसियु सञ्चालन गर्नुपरेमा अस्पतालमै भएको जनशक्ति परिचालन गर्नका लागि तालिम दिएर पठाइएको उनको भनाइ छ ।

गण्डकी प्रदेशमा कास्की, बागलुङ र गोरखामा रहेका सरकारी, सामुदायिक, मेडिकल कलेज तथा निजी गरेर १५ ओटा अस्पतालहरुमा १ सय ८६ ओटा आइसियु र ५४ ओटा भेन्टिलेटर छन् ।

तपाईको प्रतिक्रिया