मुस्ताङमा भेटियो दुर्लभ लाटोकोसेरो

समाधान संवाददाता २०७७ कार्तिक १९ गते १२:४६

एसके थकाली
जोमसोम

हिमाली जिल्ला मुस्ताङको अन्नपूर्ण संरक्षित क्षेत्रमा २ सय वर्षमा ४ पटक देखा परेको दुर्लभ लाटोकोसेरो मुस्ताङमा भेटिएको छ । घरपझोङ गाउपालिका—५ ठिनीका स्थानीय युवा निरज थकालीले ठिनी गाउँ नजिकैको खेतको रुखमा उक्त लाटोकोसेरो चरा देखेका हुन् ।

उनले उक्त प्रजातिको चरा देखेपछि भिडियो समेत खिचे । उनले खिचेको भिडियो सम्भवतः नेपालमै पहिलो पटक खिचिएको दुर्लभ भिडियो मानिएको छ ।

Advertisement

जिवित रुपमा पाइने सो चरा देख्ने थकाली अहिलेको पुस्ताका पहिलो पनि हुन् । यसअघि २१ वर्ष पहिला यसप्रकारको प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पिपरमा भेटिएको भएपनि त्यसको कुनै फोटो वा भिडिओ भने सार्वजनिक हुन सकेको थिएन ।

५८ वर्ष अघि काठमाडौंको ककनीमा यो प्रजातिको नमुना संकलन गरिएको थियो । १९ औं सताब्दिमा काठमाडौं उपत्यकामा सर ब्राइन हगसनले यसको नमूना अभिलेख गरेका थिए । लामो समयपछि भेटिएको यो प्रजातिले लाटोकोसेरो संरक्षणकर्मीहरुलाई अनुसन्धानमा सहयोग पुर्‍याउने बताइएको छ ।

Advertisement

यस प्रजातिको नेपाली नाम ‘लामकाने लाटोकोसेरो’ हो । अंग्रेजीमा यसलाई लङइअर वुल समेत भन्ने गरिन्छ । ‘नेपालका चराहरु’ र ‘नेपालका लाटोकोसेरोहरु’ विभिन्न पुस्तकमा उल्लेखित लेखले यो प्रजातिलाई फिरन्ते चरा भनेर उल्लेख गरेको पाइएको छ । नेपालमा यसको १÷२ वटा मात्र अभिलेख गरिएको भन्ने भनाई छ । मोबाईल मार्फत भिडिओ कैद गरेका थकाली र उनका साथीहरुले यसको फोटो भने खिचेनन् ।

थकाली भन्छन् ‘यो प्रजातिको बारेमा पूर्व जानकारी भएको भए फोटो खिच्थे नि ? लामकाने लाटो कोसेरो मेरो नजिकै थियो’ । उनले थपे ‘नेपालमा निक्कै दुर्लभ यसप्रकारको प्रजातिको अभिलेख गर्न पाउँदा निक्कै खुसी लागेको बताए । वास्तवमा लाटोकोसेरो उत्सवको बारेमा निक्कै पटक सुनेकाले र त्यसैले सो प्रजातीको चरा सम्झिदै भिडियो खिचेको हु’ ।

उनले खिचेको भिडिओ सामाजिक संजालमा केहिदिन अघि पोस्ट गरेका थिए । सो भिडिओ शुरुमा चरा विज्ञ सोम जिसीले देखेपछि ‘लामकाने लाटोकोसेरो’ हुन् सक्ने बताएका थिए । पछि मोबाइलको गुणस्तरीय भिडिओबाट सोही प्रजाति भएको प्रमाणित भएको थियो । चराविदहरु डा. हेमसागर बराल, क्यारोल इन्स्किप, सोम जिसी र हठन चौधरी तथा अनुसन्धानकर्मी यादव घिमिरेले भिडिओ हेरिसकेपछि उक्त चरा लामकाने लाटोकोसेरो भएको प्रमाणित भएको थियो ।

लाटोकोसेरोको अनुसन्धान र संरक्षणमा लामो समयदेखि लागेका, ‘प्रकृतिका साथीहरु’ का कार्यकारी निर्देशक राजु आचार्य भन्छन् ‘यो प्रजाति हेर्न म पनि लालायित छु । चीन र भारतमा रहेको तर नेपालमा नभेटिनु आफैमा अनौठो थियो । स्थानीय युवा थकालीले खिचेको भिडिओ आफैमा एउटा सफलता भएको बताउँछन् ।

नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरो मध्ये यो पनि एक हो । नेपालका चराहरुका बारेमा लेखिका एवं बेलायती चरा विज्ञ क्यारोल इन्स्किप्प भन्छिन्, ‘यो खुुसी लाग्दो अभिलेख हो । नेपालमा यसको अभिलेख असाध्यै कम छ । सायद रातिमात्रै सक्रिय हुने भएकोले यस्तो हुनसक्छ । यिनको अनुसन्धान र संरक्षणमा सबै लाग्न आवश्यक छ ।’

अन्तर्राष्ट्रिय संरक्षण संघको कम चासो भएको र यिनको संख्या विश्वव्यापी रुपमा घट्दै गएको बताएको छ । यसप्रकारको प्रजाति युरोप, उत्तरी अफ्रिका, रुस, कोरिया, मंगोलिया, चीन, भारत लगायत थुप्रै मुलुकहरुमा अभिलेख छ । यिनले मुख्यगरी मुसा, छुचुन्द्रोहरु खाएर किसानलाई सहयोग गरिरहेका हुन्छन् । लाटोकोसेरो संरक्षणको लागि नेपाल सरकारले भर्खर मात्र १० वर्षे ‘लाटोकोसेरो तथा हुचील संरक्षण कार्ययोजना’ बनाएर लागु गरेको छ ।

संरक्षण अभियानमा लामो समयदेखि योगदान दिदै आएका स्थानीय युवा थकालीले मुस्ताङमा हिउँचितुवा लगायतका दुर्लभ वन्यजन्तु तथा पंक्षी संरक्षणमा समेत योगदान दिएका छन् ।
तस्बिर : बारबोरा तोसिलवा
भिडियो : निरज थकाली

तपाईको प्रतिक्रिया