विकास आयोजना अनुगमन

समाधान संवाददाता २०७७ कार्तिक २१ गते १०:१७

समाधान संवाददाता, पोखरा

Advertisement

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले बिहीबार कास्की निर्वाचन क्षेत्र नम्बर २ मा सञ्चालित विभिन्न विकास आयोजना अनुगमन गरेकी छन् ।

भट्टराईको अगुवाईमा जनप्रतिनिधि लगायतका सरोकारवालाहरुले निर्वाचन क्षेत्रमा संघीय, प्रदेश तथा स्थानीय सरकारबाट सञ्चालित आयोजना अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा भट्टराईले सञ्चालित योजनाका कार्यप्रगति र काम गर्दाका कठिनाइको अवस्थाहरुको जानकारी लिएकी थिइन् ।

उनले कोरोनाको कहरले देश आक्रान्त भैरहेको अवस्थामा सुरक्षित रहँदै विकास निर्माण अघि बढाउन निर्माण कम्पनी, मजदुर, स्थानीय उपभोक्ता समितिलाई निर्देशन दिइन् ।

Advertisement

‘प्रतिकुल अवस्था भएकोले स्वास्थ्य सतर्कता र भौतिक दुरी कायम गरी काम गर्नु होला,’ उनले भनिन्, ‘सरकारले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर निर्माणको गुणस्तरमा कुनै कमीहुन नदिनु होला ।’ उनले पूर्वाधार विकासले समृद्धिको यात्रा सुरु हुने बताइन् ।

प्रतिनिधिसभाका सदस्य भट्टराईले पोखरा महानगरपालिका वडा नम्बर १६ र २० मा संघीय सरकारले चलाएका आयोजना, मातृशिशु मितेरी अस्पताल हुँदै भलाम जोड्ने सडक, वृहत भलाम खानेपानी आयोजना, हरिहरगुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिक मार्ग देउराली सडकको अवलोकन गरेकी थिइन् ।

अनुगमनमा भट्टराई लगायत पोखरा महानगरपालिकाका वडा अध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य, स्थानीय सरोकारवाला उपभोक्ताको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया