गण्डकीमा कोरोनाबाट मत्यु हुनेको संख्या १०० पुग्यो
समाधान संवाददाता, पोखरा
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका ३ र बागलुङका १ संक्रमितको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या १ सय पुगेको हो ।
कास्कीका २ र बागलुङका १ संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कास्कीका १ संक्रमितको गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो ।
कोरोनाबाट मृत्यु हुनेमा ३० दिने बालक पनि छन् । ती बालक पोखरा महानगरपालिकाको भनिए पनि वडा खुलाइएको छैन । उनको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा निमोनियाको समस्या थियो ।
पोखरा १० का ५७ वर्षे संक्रमित पुरुष र बागलुङको जैमिनी नगरपालिका ९ का २९ वर्षे संक्रमितको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको छ । दुवैको बिहीबार राति मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
त्यसबाहेक पोखरा १७ का ७५ वर्षे संक्रमित पुरुषको आज बिहान जिएमसीमा मृत्यु भएको हो ।
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।
तपाईको प्रतिक्रिया