माओवादी लुटेरा !

समाधान संवाददाता २०७७ कार्तिक २२ गते ९:४९

राजु क्षेत्री

अस्ति मंगलबार मित्र किरण थापा र अरु मित्रहरु स्तुपा आउनु भएको थियो । किरण जनयुद्धकालिन एक अदभूत साहसी योद्धा हुन । हामी स्तुपाबाट २ वटा मोटरसाइकलमा ४ जना फर्किरहेका थियौ । मेरो घर भन्दा माथि गाउँको एक जना भुजेल भाइ हिडेर तल बजार जादैरहेछ । मैले किरणजिलाइ भने — म घरसम्म हिडेर जान्छु, यो भाइलाइ तल बजारसम्म लगिदिनोस । त्यो भाइ किरणजिको स्कुटिमा चढेर बजार गयो र म हिडेर घरतिर लागे ।

आज मेरो मित्र मन्जु बम र साथीहरूसंग बजार घुम्दैथिए । बजारको एक क्याफेमा किरणलाई देखे । यसै बाटो काटेर हिड्न मन लागेन र कार रोकेर एकछिन गफ गरे । किरणजिले भेट्ने बित्तिकै सोधिहाल्नु भयो — दाइ, हिजो को मान्छेलाई मेरो स्कुटिमा चढाइदिनु भएको ? त्यसलाइ बाटैमा गुल्ट्याइदिउ जस्तो भएको थियो । मैले सोधे — सायद उसले मलाई माओवादीमा हुँदा लुटेर ल्याएको सम्पत्ति अहिले देखाएको छ भन्यो होला , होइन ? वहाँले मुन्टो हल्लाउनु भयो ।

Advertisement

आज भन्दा ठिक ८ बर्ष अघि मेरो सम्पादक काेमल बरालको छोरा सुन्दर बराल मेरो टोलको एक रेस्टुरेन्टमा आएको बेला रेस्टुरेन्टको बैनीलाई सोध्नु भएछ — राजु के गर्दैछ आजकल भनेर !! माया बैनिले भनिछन – होटल गर्नु हुन्छ । सुन्दरजिले बढो घृणापुर्बक भन्नु भएछ — माओवादी हुँदा / काठमाडौं बस्दा लुटेको सम्पत्ति अहिले गाउँमा ल्याएर देखाएको छ ।

मैया बैनिले मलाई पनि चिन्छिन र कोमल सरलाइ पनि चिन्छिन । सोधिछिन — राजु दाइ त तपाईको बुवा सम्पादक भएको पत्रिकामा काम गर्ने मान्छे होइन र ? भने पछि तपाईंको बुवाले पनि माओवादीमा हुँदा खुब लुट्नु भयो होला ?? सुन्दरजि त्यसपछि नबोली जानु भएछ । त्यति बेला अन्तरपार्टी लडाइका कारण कोमल सरसंग मेरो सम्बन्ध नबिग्रेको भए वहाको छोराले मलाई यति घटिया आरोप लाउने थिएन सायद ।

Advertisement

मेरो घरको तल मेरो अंकलको घर छ । घर भन्दा नि हबेली छ । ३ बर्ष अघि मेरो एक मित्रले कुरैकुरामा वहाँसंग मेरो बारे सोध्नु भएछ र अंकलले बडो हियाएर भन्नू भएछ — माओवादी हुँदा लुटेको सम्पत्तिमा अहिले मोज गरेर बसेको छ ।

मेरो एक छिमेकी दाजु हुनुहुन्छ चुडामणि बराल । एक पारिवारिक बसाईमा मेरो स्कुले साथीलाई भन्नु भएछ — माओवादी हुँदा लुटेको सम्पत्ति छ र त ४० लाखको कार चढेर हिड्छ ।

के जवाफ दिउँ म मेरा आफन्तहरुलाइ । यि तिनै मानिस हुन , जसलाइ राम्रैसंग थाहा छ कि म बेपत्ता हुँदा बच्चाहरुले ज्वरो आएको बेला उपचार नपाएर टाइफाइड भएर दुबै जनाले कान सुन्ने शक्ति गुमाए र बहिरा भए । मेरा आफन्त/ छिमेकीलाई थाहा छ कि म जनयुद्धमा लागेको बेला घर चलाउनका लागि बुबाले पटक- पटक गरी ८”रोपनी खेत बेच्नु भयो । आजको दिनमा ४ करोड बढीको जमिन हो त्यो । कोमल सरका छोरालाइ राम्रोसंग थाहा छ – पार्टी काममा काठमाडौं बस्दा खान नपाउने अबस्था आएपछि पोखरा फर्केर होटेल चलाउन सुरु गरेको थिए ।

होटेल चलाएको करिब १० बर्षको समयदेखि म आफै मिलेसम्म जुठा भाडा माज्छु । टेबलका जुठा भाडा उठाउछु ।

यार, यो जीवनबाट कसैले त राम्रो कुरा सिकोस । कति सरापिरहने अरुलाइ ?? कोही कसैले भनोस कि माओवादी हुँदा राजुले मसंग यति लुटेर लगेको थियो । होइन , कति कृतघ्न हाे हामी बाँचेको समय !!

  राजु क्षेत्रीकाे फेसबुक वालबाट । पूर्व पत्रकार क्षेत्री माओवादी जनयुद्दमा सुरु देखि नै सकृय थिए । जनयुद्दकै दाैरान पक्राउ परेका उनी आर्मीकाे ब्यारेक ब्रेक गरेर भागेका याेद्दा हुन् । पछिल्लाे समय पाेखराकाे पुम्दिभुम्दीमा रेष्टुरेन्ट सञ्चालन गरेर बसेका उनी लेखन र अध्ययनमा रुचि राख्छन् ।–सम्पादक

तपाईको प्रतिक्रिया