पाेखराकाे आकाशमा आजदेखि अल्ट्रालाइट उडान

समाधान संवाददाता २०७७ कार्तिक २६ गते ९:११

समाधान सं‌वाददाता, पोखरा

चैत लाग्दा नलाग्दै नेपालमा कोरोनाको त्रास बढ्यो । दोस्रो साता अर्थात् ११ गतेटबाट त सरकारले देशव्यापी लकडाउन गर्‍यो । असर नपरेको क्षेत्र त कुनै पनि छैन । तर पर्यटन क्षेत्र भने सहजै उठ्न नसक्ने गरी थलिएको छ । लकडाउन खुलेर असोजयता चहलपहल बढेपछि पर्यटन क्षेत्रमा मडारिएको कालो बादलमा चाँदीको घेरा देखिएको छ ।

पोखरामा अहिले आन्तरिक पर्यटकको चहलपहल थोरै भए पनि बढेको छ । दसैं आसपासमा त मर्दी हिमाल ट्रेक र माछापुच्छ्रे मोडेल ट्रेकमा थामिनसक्नुको भीड लाग्यो । अहिले भने उक्त क्षेत्रमा ट्रेकिङमा आउन ७२ घन्टाभित्रको पीसीआर रिपोर्ट चाहिने भनेर स्थानीयले निर्णय गरेपछि पैदलमा जानेहरु हच्किएका छन् ।

Advertisement

हावामा कावा खाएर पोखराको मनोरम दृश्यमा रमाउन पाइने प्याराग्लाइङिमा अहिले अचम्मैको भीड लागेको छ । बाहिरी सहरका भन्दा पनि पोखरेलीहरु नै बढी झुम्मिन थालेका छन् । ८ हजार रुपैयाँसम्म पर्ने प्याराग्लाइडिङ अहिले ३ हजार रुपैयाँ तिरेर गर्न पाइन्छ । सराङकोटबाट उडेका प्यारा हेरेर चित्त बुझाउनेहरु अहिले आफै उडेर रहर मेटेका छन् ।

पोखराको पर्यटनको अर्को पहिचान सावित भइसकेको पुतलीजहाज अर्थात् अल्ट्रालाइट आज (बुधबार) बाट सञ्चालन भएको छ । साहसिक पर्यटकको रोजाइमा पर्ने अल्ट्रालाइट चैतदेखि नै बन्द छ ।

Advertisement

पोखरा अल्ट्रालाइटको पुतलीजहाजले पोखरा एअरपोर्टबाट पहिलो उडान भर्ने गरी तयारी भएको छ । उक्त कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर नागरिक उड्ययन प्राधिकरणको अनुमतिमा उडान सुरु भएको उनले बताए ।

काठमाडौं लगायत सहरबाट पोखरामा पर्यटक आउन थालेको र पोखराकै बासिन्दाले समेत अल्ट्रालाइटप्रति चासो देखाएकाले सञ्चालन गर्ने जमर्को गरेको उनले बताए ।

पोखरामा हाल ४ वटा अल्ट्रालाइट कम्पनीले पुतली जहाज उडाउँदै आएका छन् । पाइलटका साथमा एक जना बसेर उड्न मिल्छ । बाँकी ३ कम्पनीहरुले पनि विस्तारै उडान भर्ने बताएका छन् ।

पुतलीजहाजमा १५ मिनेट उड्न कम्तीमा ७ हजार रुपैयाँ खर्च लाग्छ । फेवाताल, शान्तिस्तूपसहित पोखराको मुख्य बजारको दृश्य १५ मिनेटमा अवलोकन गर्न पाइन्छ । पोखरा भ्याली र हिमाली दृश्यावलोकनका लागि यो भन्दा बढी समय र रकम तिर्नुपर्छ ।

जहाज र हेलिकोप्टर उडानबाहेक हाल एभिया क्लब, पोखरा अल्ट्रालाइट र फिस्टेल अल्ट्रालाइट्सले पोखरा विमानस्थललाई आधार गरी अल्ट्रालाइट जहाज उडान गरिरहेका छन् । हेलि एअरले पनि पोखरामा अल्ट्रालाइट उडान गर्दै आएको छ ।

पोखरामा सञ्चालित अल्ट्रालाइट कम्पनीले पर्यटकीय मौसममा दैनिक १ सयभन्दा बढी उडान गर्ने गर्छन् । लो सिजनमा २० उडानसम्म हुने गरेको छ । यस्तो उडान कम्तीमा १५ मिनेटदेखि ३०, ६० र अधिकतम ९० मिनेटसम्मको हुन्छ ।

पोखरा विमानस्थलमा हवाई चाप अत्यधिक हुँदा अल्ट्रालाइट पनि प्रभावित हुने गरेको छ । अल्ट्रालाइट उडानले कहिलेकाँहि जहाजलाई आकाशमै होल्ड गर्नुपरेका उदाहरण पनि छन् ।

तपाईको प्रतिक्रिया