अब लमजुङमा पनि गण्डकी प्रदेशको जिल्ला अस्पताल

समाधान संवाददाता २०७७ कार्तिक २७ गते १९:२२

समाधान संवाददाता,पोखरा

गैरसरकारी संस्थाको व्यवस्थापनमा चल्दै आएको बेंसीसहरको लमजुङ सामुदायिक अस्पताल गण्डकी प्रदेश सरकार मातहत आएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु ज्ञवाली र लमजुङ अस्पताल व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा संस्था (एचडिसिएस) का कार्यकारी निर्देशक कपिल शर्माले बिहीबार एक समझादारीपत्रमा हस्ताक्षर गरे ।

Advertisement

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यस अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ अस्पतालका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाए ।

२०५८ सालदेखि उक्त अस्पताल एचडिसिएसले व्यवस्थापन गर्दै आएको थियो । प्रदेश सरकार मातहत आएपछि अब गण्डकीको अस्पताल सञ्चालक समिति गठन आदेश अनुसार अध्यक्ष तोकिनेछ । तर आन्तरिक व्यवस्थापन भने एचडिसिएसले नै गर्ने गरी प्रदेश सरकारले समझादारी गरेको छ ।

Advertisement

२०५८ मा १५ बेडको रहेको अस्पताल अहिले ६० बेडको भएको छ । यी २ दशकमा एचडिसिएसले सरकारी र बाह्य अनुदान सहयोग जुटाएर अस्पतालमा झन्डै २ अर्ब लगानी गरिसकेको जानकारी उक्त संस्थाका संस्थापक कार्यकारी निर्देशक डा तीर्थ थापाले दिए । उपकरण, भवन लगायतमा गरी त्यतिका लगानी भएको हो ।

उनका अनुसार व्यवस्थापन एचडिसिएसले गर्दै आए पनि नेपाल सरकारले वार्षिक २०/३० लाख रुपैयाँ अनुदान भने दिँदै आएको थियो ।

लक्षित वर्गको निशुल्क औषधोपचार र निशुल्क औषधीका लागि पनि सरकारले सघाउँथ्यो । तर सरकारले दिएको औषधीको परिमाणले नपुग्दा एचडिसिएसले आफै किनेर पनि बिरामीलाई दिँदै आएको थियो । अस्पतालले वार्षिक १२ करोड रुपैयाँ काराेबार गर्दै आएको छ ।

‘मुलुक संघीयतामा गएपछि संघ सरकारले अनुदान दिन छोड्यो,’ डा. थापाले सुनाए, ‘प्रदेशको स्वामित्वमा पनि नभएकाले प्रदेशबाट पनि आएन ।’ अब भने सरकारी अनुदान लगायत सरसहयोगको जिम्मेवारी प्रदेश सरकारले लिएको उनले जनाए ।

संघ सरकारले लमजुङ सामुदायिक अस्पताल प्रदेश सरकार मातहत हुने निर्णय गत असार २९ गते गरेको थियो । त्यसकै आधारमा अस्पताल र प्रदेश सरकारले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार अस्पतालको स्वामित्व प्रदेशको भए पनि ५ वर्षसम्म आन्तरिक व्यवस्थापनको जिम्मेवारी भने एचडिसिएसले पाउनेछ ।

तपाईको प्रतिक्रिया